‘जब बडामहारानी मज्जाले हाँसिदिनुभो, मेरो तलव सय रुपैयाँ थपियो’

0 13

२२ असार, काठमाडौं । कार्यक्रम थियो अमर न्यौपाने लिखित ‘करोडौं कस्तुरी’ किताबको बिमोचन । हरिवंश आचार्यलाई पात्र बनाएर लेखिएको किताब बिमोचनमा वक्ताका रुपमा बोलाइएका थिए उनै हरिवंश ।

हरिवंशले करिब २५ मिनेट लामो भाषण गरे । तर, त्यो भाषण कम ठट्टा बढी थियो । ठट्यौलीले भरिएको हरिवंशको मन्तव्य भरी प्रज्ञा भवन खचाखच हलमा हाँसो र ताली गुञ्जिरह्यो ।

विश्वज्योति माविमा पढेर यत्तिको भएँ

हरिवंश आचार्यले सुरुमा आफ्नो बाल्यकाल सुनाए । उनका अनुसार बा-आमाले उनलाई ठूलो पुरेत बनाउने आकांक्षा राखेका थिए ।

‘हाम्रो पनि कथा छ’ भन्ने नाटकमा अलि लामो र सभ्य रोल पाएँ । त्यो हेरेर बडामहारानी धेरै नै हाँस्नुभएछ । उहाँ कृपापूर्वक त्यसरी हाँसिदिनाले मेरो तलव महिनाको एक सय रुपैयाँ बढ्यो ।

तर, उनी भने बा-आमाको सपनालाई पन्छाउदै म संस्कृत विद्यालय विद्यालयबाट भागेर सिनेमा हल जान्थे । उनले अघि भने-सिनेमा घरलाई नै मैले आफ्नो विद्यालय बनाएँ । जयनेपाल चित्रघरलाई जयनेपाल माध्यमिक विद्यालयका रुपमा लिएँ । रञ्जना हल मेरो लागि रञ्जना उच्चमावि बनिदियो । विश्वज्योति हललाई विश्वज्योति विश्वविद्यालय मानेँ ।

ती विद्यालय र विश्वविद्यालयमा मैले धेरै पढेँ । साह्रै ध्यान दिएर, मन लगाएर पढेँ । त्यहाँ मेरा गुरुहरु हुनुहुन्थ्यो जितेन्द्र, राजेश खन्ना, अमिताभ बच्चन । गुरुआमाहरु हुनुहुन्थ्यो, हेमामालिनी, सायरा बानु । (हाँसो र तालीको फोहरा छुट्यो)

उनले सुनाउँदै गए, सिनेमा हलमा पढेको ज्ञान मैले पछि पद्मोदय बिद्यालयमा उपयोग गरेँ । सैद्धान्तिक कक्षा जयनेपाल माविमा लिन्थेँ, अनि प्राक्टिकल पद्मोदयमा गर्थेँ । प्राक्टिकल पनि सित्तैमा गर्दिनथेँ । एक सिफ्टको एक रुपैयाँ लिन्थे । मेरो प्रयोगात्मक कक्षा सञ्चालन गर्ने स्थान पद्मोदयको चौर थियो ।

म अरु विद्यार्थीलाई आफूले हेरेका सिनेमाका कथा सुनाउँथे । विथ एक्सन, विथ डायलग, विथ फाइट, विथ डान्स । एकै जनाले यति धेरै विधा सम्हाल्नु गाह्रो काम थियो । तर, आखिर काम हो गाह्रो मानेर भएन । कहिलेकाहीँ दिनमा ३-४ सिफ्टसम्मको ओभरटाइइम पनि गर्थे । (हाँसो)

कस्तुरी छर्न थाल्दा एसएलसीले झापड हान्यो 

बाल्यकाल सुनाएपछि उनले एसएलसीमा पाएको असफलता सुनाए । थाहा नपाउने किसिमले आफूसित भएको सानो ‘कस्तुरी’ छर्ने मौका पाएको उनले बताए ।

उनले भने-‘यता कस्तुरी छर्न थाल्दा उता एसएलसी परिक्षाले मलाई वर्षेनी झापड हिर्कायो । तीन वर्ष लगातार एसएलसीको झापड खाएँ । एसएलसी गुल्टिएपछि मैले जसरी पनि पैसा कमाउनुपर्ने भयो ।

गाइजात्रा गर्ने क्रममा नै मैले अझ ठूलो कस्तुरी भएको मान्छे भेट्टाएँ । उहाँको नाम हो मदनकृष्ण श्रेष्ठ ।

त्यसपछि रेडियो नेपालको माइकमा कस्तुरी छर्न पाइन्छ कि भनेरे चहारेँ । मेरो आदरणीय दाजू जितेन्द्र महत दाईले मौका दिलाउनुभो । आदरणीय गुरु हरिप्रसाद रिमालजी रेडियो नेपालमा नाटक निर्देशक हुनुहुन्थ्यो । म एकदम दुब्लो-पातलो थिएँ । स्वर पनि नछिप्पिएको मरञ्च्यासेँ थियो । मलाई नोकरको छोटो रोल प्राप्त भयो ।

पछि त नोकरको रोलमा राम्रैसित स्थापित भएँ । जितेन्द्र दाईले त मलाई नोकरको रोल नराखी नाटक नै लेख्न छोडन्नुभो । उनले अघि भने-‘उहाँले नै पछि मलाई राष्ट्रिय नाचघरमा लिएर जानुभो । त्यहाँ पहिलोचोटी अमरसिंह भन्ने नाटकमा सानो भूमिका पाएँ । त्यो बेला राजारानीलाई नाटकहरु देखाउने चलन थियो ।

राजाका सचिव नारायणप्रसाद श्रेष्ठज्यूले मलाई औंल्याएर यो भाई एकदम राम्रो छ है भनेर त्यतिबेलाका राष्ट्रिय नाचघरका महाप्रवन्धक नगेन्द्रप्रसाद काफ्लेलाई भनिदिनुभो । उहाँले त्यति शब्द भन्दिनाले मैले करार सेवाबाट अस्थाई सेवामा जागिर खान पाएँ ।

पछि जितेन्द्र दाईले लेख्नुभएको ‘हाम्रो पनि कथा छ’ भन्ने नाटकमा अलि लामो र सभ्य रोल पाएँ । त्यो हेरेर बडामहारानी धेरै नै हाँस्नुभएछ । उहाँ कृपापूर्वक त्यसरी हाँसिदिनाले मेरो तलव महिनाको एक सय रुपैयाँ बढ्यो । ५-६ महिनापछि रानी फेरि नाटक हेर्न आउनुभो । फेरि कृपापूर्वक मज्जाले हाँसिदिनुभो । र, फेरि मेरो तलव एक सय रुपैयाँ थपियो । यसरी मेरो कस्तुरीको रेट मासिक चार सय रुपैयाँ पुग्यो ।

जब ठूलो कस्तुरी भेटियो …

हरिबंश अब अलिक गम्भीर बने । तर, उनले आफ्नो कुरा ठट्यौली शैलीमा राख्दै मदन कृष्ण श्रेष्ठसँगको भेटलाई ठूलो कस्तुरी भएको मन्छे भेट्टाएको बताए ।

उनले भने-‘प्रज्ञाभवन गाइजात्रा महोत्सवमा चार वर्ष आफ्नो प्रस्तुति गरेँ । गाइजात्रा गर्ने क्रममा नै मैले अझ ठूलो कस्तुरी भएको मान्छे भेट्टाएँ । उहाँको नाम हो मदनकृष्ण श्रेष्ठ । (तालीको गड्गडाहट) मदनकृष्ण दाई र मेरो कस्तुरी मिलाएर दुई पोको कस्तुरी हुन पुग्यौं । त्यसपछि पछाडी फर्केर हेर्नुपरेको छैन ।’

-केही बेर मौन रहेपछि हरिबंशले सन्दर्भ बदले । संसार एसएलसीमा डिस्टिसन ल्याउने र फस्र्ट डिभिजन ल्याउनेको मात्रै होइन । जस्ट पास र फेल हुनेको पनि हो । पास हुनेको मात्रै होइन फेल हुनेको पनि धेरै ठूलो आवश्यकता छ यो संसारमा । व्यवसायीक शिक्षामा हामी रुची लिदैनौं, घोकन्ते शिक्षामा मात्रै ध्यान दिन्छौं । हामीलाई खरदार-सुब्बाको जागिर चाहिएको छ । तर, एउटा डकर्मी र सिकर्मीले दिनमा १५ सयदेखि २ हजार कमाउछ । जबकी खरदार-सुब्बाको तलब घुसबाहेक १५-१६ हजार मात्रै हुन्छ ।

हामीले डकर्मी भन्ने टेलिसिरियल बनाएका थियौं । डकर्मी भन्नासाथै फाटेको सुरुवाल र प्वाल परेको टोली लगाउने मैलोधैलो मानिसको याद आउछ । तर त्यो सिरियलको डकर्मी आफ्नो पेशालाई इज्जत दिन्छ ।

उ मोटरसाइकल चढेर कार्यस्थलमा आउँछ । एप्रोन र पञ्जा लगाएर काम गर्छ । बेलुका घर जाँदा पानीले नुहाएर सफा लुगा लगाउँछ र एप्रोनलाई पोको पारेर लैजान्छ । धेरै पढेको मान्छेले मात्रै संसार जित्ने भए बिल गेट्स विश्वकै धनी मान्छे हुँदैनथे होलान् । हामी नपढेकाहरु विल गेट्सको नाममा गौरव गरौं ।

हरिवंश ठट्टाको अर्को राउण्ड

यो समाजमा त चोरको पनि ठूलो भूमिका छ । हामीले बनाएको अभिनन्दन सिरियलमा पुलिसले चोरलाई सम्मान गर्छ । तपाईंहरुकै कारणले हाम्रो रोजीरोटी चलेको छ भनेर ढोग्छ । चोरले लामो भाषण दिन्छ । उसले भन्छ : हामी चोरले गर्दा आज देशमा पुलिसले जागिर खान पाएका छन् । जहान, छोराछोरी पाल्न सकेका छन् ।

चोर नभएका भए झ्यालमा गि्रल नै लगाउनु पर्दैनथ्यो । हामीले गर्दा नै देशमा यति धेरै ग्रील उद्योगहरु खुलेका छन् । वेल्डिङ गर्दा कति मान्छेका आँखा चट् हुन्छन् । त्यसले गर्दा कति आँखाका डाक्टरले काम पाएका छन् । कति चश्मा पसलहरु खुलेका छन् । आँखाका डाक्टरलाई घर भाडामा दिँदा कति घरबेटीहरुले भात खान पाएका छन् ।

हामी नभएका भए घरमा पातला-पातला गाह्रो लगाउने थिए । ठूलो-ठूलो गाह्रो लगाउनुपर्दैनथ्यो । ठूलो गाह्रो लगाउनाले कति धेरै इंट्टा उद्योगहरु खुलेका छन् । सिमेन्ट उद्योगहरु चलेका छन् । रोडा, बालुवाहरुका लागि क्रसर उद्योग स्थापना भएका छन् । रोडा-बालुवा ढुवानीका लागि गाडीहरु चलेका छन् । गाडीहरु चल्नाले पेट्रोलपम्म खुलेका छन् । पञ्चट टाल्ने वर्कसपहरु खुलेका छन् ।

यो सबै नभएको भए मजदुरको अवस्था के हुन्थ्यो ? मजदुरको क्रयशक्ति घटेको भए किसानको उत्पादन कसले किनेर खान्थ्यो ? किसानले उत्पादन गरेको चिज बिक्री नभए मल कारखाना बन्द हुन्छन् । कोल्ड स्टोरहरु बन्द हुन्छन् । विजुली खपत हुदैन । विजुली खपत नभए विद्युत प्राधिकरण बन्द हुन्छ । विद्युत प्राधिकरण बन्द भए वल्र्ड बैंक, एशियन डिभलपमेन्ट बैंकले लगानी कहाँ गर्छन् ? यिनीहरुको लगानी भित्रिएन भने डिपार्टमेन्ट स्टोरहरु कसले किन्ने ? गाडीहरु कसले चढ्ने ? चोरहरुले गर्दा नै बैंकहरु खो ल्नुपरेको हो । नत्र मान्छेले घरमै पैसा राख्थे । बैंक नभएको भए उद्योगमा कसले लगानी गर्थ्यो ?

मेरो किताब अमर गिरीले लेखेको पनि भने

Kasturi

त्यसपछि हरिवंश किताबको प्रसंगमा फर्के । उनले भने, नपढेको मान्छेको संसारमा धेरै ठूलो काम छ भन्ने सन्देश यो किताबले दिएको छ । नेपालमा अहिलेसम्म जिउँदो मान्छेलाई पात्र बनाएर कसैले लेखेको छैन । मलाई पनि किताब आउने अघिल्लो दिन सुइकिन्छु कि भन्ने डर लागेको थियो । धन्न बाँचेको छु ।

म पनि लेखक भइटोपलेको मान्छे । मेरो किताब त कस्तो भयो भने अलि साहित्य बुझेका एकजनाले पनि राम्रो छ भनेनन् । तर, कहिल्यै किताब नपढ्ने र साहित्य नबुझेकाहरुले दोहोर्‍याई तेहेर्‍याइ पढ्नुभएको पाएँ । फाइन पि्रन्ट खुशी छ । नत्र फाइनपि्रन्टका साथीहरु मलाई भेट्दा उज्याले मुख लाउनुहुन्नथ्यो होला । म पनि खुशी छु लेखक हुन पाएर ।

कतिले त चिना हराएको मान्छे मैले लेखेको होइन अमर गिरीले लेखेको हो पनि भने । उहाँले सम्पादन गर्नुभएको हो । अब उहाँ आफैंले लेखेको किताब पढ्नुस् । यो किताब आˆनो नाइटोमा रहेको कस्तूरी नचिनेका करोडौं मान्छेहरुको कथा हो ।

यसमा रहेको एउटा असफल पात्र, जसको अनुहार र व्यवहार मसँग मिल्छ र नाम पनि हरिवंश नै छ, उसलाई भेट्न पाए एउटा प्रहशनमा भूमिका दिन चाहन्थेँ । मदन दाइसँग कुरा गरेर ‘मह’ मा अर्को ह मिसाएर अर्को ‘महह’ बनाउन सकिन्थ्यो ।

source:onlinekhabar