प्रचण्ड अचानक भारत किन जाँदैछन्

0 8

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजनीतिक अवस्था बुझ्न पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणका लागि आमन्त्रण गरेका छन्।
कांग्रेस,एमाले,एमाओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका वीचमा जेठ २५ गते राती १६ बुँदे सहमति गर्ने वेलामा भारतीय जनता पार्टीका नेता दिनेश उपाध्यायको टेलिफोनलाई ‘रेस्पोन्स’ नगरेपछि मोदीले दाहाललाई भारत भ्रमणको निमन्त्रणा गरेको स्रोतले बतायो।
स्रोतका अनुसार मोदीका बिशेष सहयोगीका रुपमा उपाध्यायले प्रधानमन्त्री सुशील कोइराला,एमाले अध्यक्ष केपी शर्मा ओली र दाहाललाई १६ बुदे सहमतिका बारेमा बुझन टेलिफोन गरेका थिए । कोइराला बाहेक ओली र दाहालले उपाध्यायको टेलिफोन ‘रेस्पोन्स’ नगरेको स्रोतले बतायो ।
स्रोतका अनुसार १६ बुदे सहमतिपछि मोदीले आफनो विदेशबिभागसँग सम्बद्ध अधिकारीहरुको बैठक राखेर नेपालको परिवर्तित राजनीतिक अवस्थाका बारेमा समीक्षा गरेका थिए । नेपाल मामिलामा पश्चिमा शक्ति राष्ट्र र चीन हावी हुँदै गएको बिश्लेषणपछि नेपाली राजनीतिका बारेमा‘यथार्थ बुझन’ मोदीले दाहालसँग छलफल गर्न चाहेको स्रोतले बतायो ।
भारत,चीन र नेपालका वीचमा त्रिदेशीय समझदारी र १६ बुदे सहमतिपछिको राजनीतिक परिस्थितिलाई एजेण्डा बनाएर छलफल गर्न मोदीको निमन्त्रणालाई स्वागत गर्दै दाहाल असारको अन्तिम साता भारत भ्रमणमा जान तयार भएका हुन ।
दाहालले भने १६ बुदे सहमतिपछि अघि बढेको संविधान निर्माण प्रक्रियाले नेपालमा राजनीतिक स्थिरता आउने बिश्वास दिलाउदै मोदीलाई भारत,चीन र नेपालका वीचमा त्रिदेशीय समझदारी बनाएर अघि बढन उपयुक्त हुने तर्क राख्ने एमाओवादीका एक नेताले बताए । नेपाललाई राजनीतिक स्थिरतासहित समृद्धिको दिशामा अगाडि बढाउन दाहालले भारत,चीन र नेपालका वीचमा त्रिदेशीय रणनीतिक समझदारी निर्माण गर्नु पर्नेमा जोड दिदै आएका छन्।
दाहालका स्वकीय सचिव समेत रहेका एमाओवादी केन्द्रीय सदस्य चुडामणि खडकाका अनुसार असार २९ देखि साउन २ गतेसम्म भारतको भ्रमण गर्ने मिति तय भएको छ । १६ बुदे सहमतिका बारेमा भारत मौन बसेको वेला मोदीले दाहाललाई बोलाएर जारी संविधान निर्माण प्रक्रियाले नेपालमा राजनीतिक स्थिरता ल्याउने वा नल्याउने कस्तो अवस्था हुन सक्छ भन्ने जिज्ञासा राख्न चाहेको स्रोतले बतायो ।
‘प्रचण्डको नेतृत्वमा १६ बुदे सहमति भएको भारतले बुझेको छ। त्यसैले भारतीय प्रधानमन्त्रीले प्रचण्डसँग छलफल गर्न चाहेको हुन सक्छ’खडकाले अन्नपूर्णसँग भने‘भारत गएपछि त्यहाँका प्रमुख नेताहरुसँग छलफल हुन्छ तर भेटघाटको बिस्तृत कार्यक्रम आइसकेको छैन ।’
नेपालका राजनीतिक घटनाक्रम प्रति चासो राख्दै आएको भारतले काँग्रेस,एमाले,एमाओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका वीचमा भएको १६ बुदे सहमतिपछि अघि बढेको संविधान निर्माण प्रक्रियाका बारेमा औपचारिक धारणा सार्वजनिक गरेको छैन ।
विनाशकारी भुकम्पपछि नेपालको पुननिर्माणमा भारत र चीनले सहकार्य गर्न चाहेका वेला दाहाललाई मोदीले बोलाएर छलफल गर्न चाहेको स्रोतले बतायो । त्रिदेशीय समझदारी निर्माणका लागि चीनले भारतीय प्रधानमन्त्री मोदीलाई अघिल्लो महिना वेइजिङमा ‘कन्भिन्स’गराएपछि तीन वटै मुलुकमा त्यस बारेमा बहस भइरहेको छ ।
भारतीय प्रधानमन्त्री मोदीको चीन भ्रमणका क्रममा गत बैशाख ३१ गते चिनिया राष्ट्रपति सी जिनपिङले सियानमा भएको भेटवार्तामा पहिलो पटक त्रिदेशीय समझदारीको प्रस्ताव राखेका थिए । त्रिदेशीय समझदारी निर्माणका बारेमा भारत र चीन संयुक्त कार्यदल बनाउन तयार भएका छन । दुई साता अघि दाता सम्मेलनमा सहभागी हुन काठमाडौ आएका भारतीय विदेशमन्त्री सुषमा स्वराज र चिनिया विदेशमन्त्री वाङ यी वीच पनि त्रिदेशीय समझदारी निर्माण गरेर अघि बढने बारेमा समीक्षात्मक छलफल भएको थियो । ‘भुकम्पले क्षत बिक्षत बनाएको नेपालको पुननिर्माण गर्ने क्रममा त्रिदेशीय समझदारी कार्यान्वयन गराउने वातावरण बनेको छ’ एमाओवादीका एक नेताले अन्नपूर्णसँग भने ।
दाहालको भारत भ्रमणका बारेमा एमाओवादीको अन्तराष्ट्रिय विभागलाई औपचारिक जानकारी छैन । स्रोतका अनुसार दाहालकासाथ अन्तराष्ट्रिय विभागका कुनै सदस्य पनि भारत जाने छैनन । सचिवालयका तर्फबाट शिव खकुरेललाई लिएर दाहाल भारत जान लागेको स्रोतले बतायो।
दाहालका लागि १६ बुदे सहमति भन्दा पहिले पनि पटक पटक भारत भ्रमणको निमन्त्रणा आएका थिए। दाहालको सचिवालयका अनुसार संविधान निर्माण प्रक्रियाले गति लिएपछि मात्रै भारत भ्रमणमा जाने अडानमा रहेका दाहाल अहिले भने तयार भएका हुन ।
यसैबीच कांग्रेस उपसभापति रामचन्द्र पौडेललाई पनि भारतले नेपाली राजनीतिक अवस्था र संविधान निर्माण प्रक्रियाका बारेमा बुझन निमन्त्रणा गरेको छ।