जाने होईन त चुम उपत्यका? गणेश हिमाल पारी तिबेतले ३ तिर घेरेको त्यो नेपाली ठाँउ

0 8

दशैँ तिहार बिच पारी हरेक बर्ष झैँ म र मेरो श्रीमती नेपालका कुनै बिकट मनोरम हिमाली क्षेत्र हिडयौँ। शहरमा बस्दा बस्दा थुप्रिएको अलमल्याईपन, बिभिन्न सामाजिक बन्धन र नकारात्मक सोचका गाँठो फुकाउन बेलाबेलामा प्रकृतिको निकट जानै पर्छ। यस्तो मन सफा गर्ने भ्रमणले हामीलाई अाफ्नो देश राम्ररी चिन्ने मौका पनि प्रदान गर्छ।

IMG_0279

हामी धेरै नेपालीलाई नेपालमा चुम उप्यत्यका भन्ने ठाँउ पनि छ भन्ने कुरा थाहै छैन होला। हामी काठमाडौँबाट उत्तरमा दिनहँ गणेश हिमाल देख्छौँ। तर त्यस हिमाल पारी पनि नेपाल छ भन्ने कुरा विरलै थाहा होला। हो, त्यहि हिमाल पारी नेपालीहरु बसोबास् गर्ने एउटा चुम उपत्यका छ जुन गोर्खा जिल्लाको उत्तरी सिमामा पर्छ र तिन तिरबाट तिवेतले घेरिएको छ।

IMG_1047

चुम उपत्यका पुग्न मनाश्लु हिमाल पर्यटकिय मार्गबाटै शुरु गर्नु पर्छ। हाम्रो चुमको भ्रमण कुल १५ दिनको रह्यो। गोर्खा-धादिंगको सिमानामा रहेको अारुघाट बजारबाट शुरु गरेका हामीले कयौँ दिन द्रुत गतिमा बगेकी बुढि गण्डकी नदीको तिरै तिर हिँडय़ौँ। हाम्रो कुल खर्च भने चाहिँ कुनै पनि विदेश भ्रमण गर्दा लाग्ने हवाई टिकट खर्च जति पनि परेन। समुँद्रबाट ५०० मिटर माथीको सतहबाट शुरु गरेका हामी हिँउ नै हिँउले भरिएको ३७०० मिटर सम्मको उचाँईमा पुग्यौँ।

IMG_1202

चुमका बासी जसलाई “चुम्बा” भनिदो रहेछ, हामी दुई नेपाली पर्यटक देखेर तीन छक परेका थिए। हामी घुम्न अाएको भन्ने कुरा नपत्याउदैँ “होईन होला, ‘प्रोजेक्ट’ बाट अाउनु भा होला ?“ वा “पत्रकार हुनु हुन्छ होला?” वा “विदेशीको ‘ग्रुप’ लिएर अाउनु भा होला“ भन्थे। यी सबै होईन भन्दा केहि नलागेर “अमेरिका बस्नु हुन्छ होला – घुम्न अा होला” भनि अाफ्नै मन बुझाँउथे उनले।

IMG_9829

हाम्रो लागि यो भ्रमण अध्यात्मिक अनुभवले भरिपुर्व रह्यो। चुममा बस्दा हामीले चुम्बाहरुका कला, संस्कृति र परिवर्तन नजिकबाट हेर्न पायौँ। चुमको एउटा अचम्मको विशेष संस्कार बारे थाहा पाँउदा मेरो मनमा त्यस बिकट क्षेत्र प्रति श्रद्धा जागेर अायो। यहाँ झण्डै १०० बर्ष देखि कुनै पनि जनावारलाई मार्न मनाई रहेछ। मासु नै खानु परे पनि जनावार मरेपछि मात्र खाने व्यवस्था रहेछ। अनि अर्को कुरा यहाँ यार्सागुम्बाको व्यापारले पनि अाम जीवनमा अामुल परिवर्तन ल्याएको रहेछ।

IMG_1011

अहिले चुम्बाहरु धेरै पर्यटन देखि अाकर्शित भएका पायौँ र यार्सागुम्बाले ल्याएका अाम्दानी पनि यता तिरै खन्याएका पनि देखौँ। त्यहाँ कति पय गाँउमा त हामी भरखर बनी सक्दै गरेका होटेल-लजमा बस्ने मौका पायौँ। एक बोरा सिमेन्टको ३१५० रुपैया पर्ने ठाँउमा पनि पर्यटनले गर्दा स्थानियहरुले धमाधम पर्यटकलाई बस्न लायक व्यवास्थाहरुमा लगानी गरेका देख्यौँ। खुश्शी लाग्यो ! चुम उपयत्का र जाने मार्गहरुमा भैरहेको तिव्र पर्यटकिय बिकास हेर्दा मनले छर्लङ्ग बुझ्यो कि पर्यटनले कसरी नेपालको समतामुलक बिकासलाई फड्को मार्न मद्दत गर्दो रहेछ।

IMG_1339

चुम्बाहरुका प्रमुख व्यापार तिवेतसँग हुँदो रहेछ। अाफ्ना याक र घोडाहरु लिएर उनीहरु सजिलै ५००० मिटरको पास कटी एक दिनमै तिवेत पुग्दारहेछन् अनि किनबेच गरि फर्कन्छन् भोली पल्ट।  तर नजिकैका नेपालका सहर धादिंगवेसी वा गोर्खा बजार अाउनु पर्यो भने एक हफ्ता सम्म लाग्छ।

IMG_1099

यस् हिडाँईले हामीलाई नेपालको विविधताको बारेमा अझ श्रद्धा जाग्यो। हामी हरेक भित्र विवेकशील परिवर्तन ल्याउनको लागि एउटा उत्तम उपाय भनेको शायद हरेक बर्ष अाफ्नै देशका बिकट क्षेत्रमा भ्रमण गर्ने संस्कार हुन सक्छ।

IMG_1484

“नेपाल सुन्दर छ। यसको सुन्दरता अनुभव गर्न हामी अाफैलाई परिवर्तन गर्नु जरुरी छ।”