अखिल तराई मोर्चाले हतियार बुझायो

0 9
राजविराज : अखिल तराई मुक्ति मोर्चा (अजित सिंह समूह) का संयोजक अजित सिंह भनिने अजय यादवले सोमबार सप्तरीका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवलाई चार थान हतियार बुझाएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा सुरक्षा सम्बद्ध निकायका प्रमुखहरु, सञ्चारकर्मीहरु र अधिकारकर्मीहरुको उपस्थितीमा उनले दोस्रो पटक प्रजिअ यादवलाई हतियार बुझाएका हुन् । संयोजक यादवले एक थान १८ इञ्च लामो थ्रिनट, एक थान कटुवा पेस्तोल र दुई थान सकेट बमको पाइप बुझाएको प्रजिअ यादवले जानकारी दिए ।
यसअघि गत मंसिर २ गते संयोजक सिंहले प्रजिअ यादवलाई एक थान दुई नाले बन्दुक, दुई थान एक नाले बन्दुक र छ थान कटुवा पेस्तोल बुझाएका थिए । आफुसँग रहेको १३ वटै हतियार बुझाएको दावी गर्दै संयोजक यादवले संवाद र सहमतिबाटै मागहरु पुरा हुने र नेपाली जनताको चाहनाअनुरुपको संविधान र शान्ति स्थापना हुने विश्वास व्यक्त गरे।
उनले शान्ति सुरक्षाका लागि प्रजिअ यादवसँग आग्रह समेत गरे । हतियार बुझ्दै प्रजिअ यादवले सहमतिअनुसारको हतियार व्यवस्थापनले संविधान निर्माणमा सहयोग पुग्ने बताउँदै सुरक्षाको प्रतिबद्धता व्यक्त गरे ।

संविधानसभा संवैधानिक–राजनैतिक संवाद तथा सहमति समितिको प्रारम्भिक वार्ता उपसमितिले गत साउन २५ गते अजित सिंहलगायत संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक कौटिल्य शर्मा भनिने संजय गुप्ता, मधेशी भाइरस किलर्सका संयोजक जयप्रकाश यादव, जनतान्त्रिक तराई मुक्ति मोर्चा पृथ्वी समुहका महाराज यादवसँग वार्ता गरी सहमति गरेको थियो।

यसअघि मधेस राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी) का अध्यक्ष रणवीर सिंह भनिने रामनारायण यादव र तराई संयुक्त जनक्रान्ति पार्टी नेपालको वार्ता समितिका संयोजक भुवनेश्वर मण्डलले गत मंसिर २१ गते प्रजिअ यादवको निवासमा प्रारम्भिक वार्ता उपसमितिका संयोजक आनन्द प्रसाद ढुङ्गानालाई हतियार बुझाएका थिए।
अध्यक्ष रणविर सिंहले एक थान एसएमजी, तीन थान राइफल र सोमा लाग्ने पाँच थान गोली, एक थान कटुवा पेस्तोल र चार थान १२ बोरको कार्टिज, एक थान म्याग्जिन र छ थान गोली, दुई वटा निओजेल र एउटा क्यामेरा फ्लेक्स बुझाएको थिए भने संयोजक मण्डलले एक थान राइफल र सो मा प्रयोग हुने १५ थान गोली तथा एक थान मास्केट बुझाएका थिए ।
अखिल तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइत, जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष ज्वाला सिंह र जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष मनोज मुक्ति विवेकले वार्ता प्रकृयामा सहभागी नहुने प्रतिकृया दिदै आएका छन् ।