भूकम्पपीडितको राहत खाल्डोमा पुरियो पीडित भोकै हुँद विदेशबाट आएको राहत कुहियो

0 15

काठमाडौं : समयमै वितरण गर्न नसक्दा र उच्च प्रविधियुक्त भण्डारगृह नहुँदा भूकम्प पीडितका लागि आएको ठूलो परिमाणको खाद्यसामग्री खाल्डोमा फ्याँक्नुपरेको छ। युनाइटेड अरब इमिरेट्स (युएई), भारतलगायत देशले पठाएको खाने तेल, आलु, रोटी, पाउरोटी, औषधि, बालबालिकाको पोषणयुक्त खाद्यसामग्री तापक्रम मिलाएर राख्न नसक्दा बिग्रेकाले खाल्डोमा पुर्नुपरेको हो।

वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार युएईले भूकम्प पीडितलाई पठाएको करिब १० हजार लिटर खाने तेल बिग्रेको थियो। उक्त तेल नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडको गोदाममा राखिएको थियो। खाद्य संस्थानको गोदाममा राखिएको ६ हजार ८ सय ३५ लिटर र नेसनल ट्रेडिङको गोदाममा रहेको ३ हजार ३६ लिटर तेल खाल्डोमा पुरिएको समाचार नागरिक दैनिकमा छ।

‘दुर्गन्ध नफैलियोस् भनेर बिग्रेको खाने तेल खाद्य संस्थान र नेसनल ट्रेडिङभित्रै खाल्डो खनी पुरिएको छ,’ स्रोतले भन्यो, ‘तापक्रम मिलाएर राख्न नसक्दा तेल जमेको थियो।’ प्रयोगशालामा परीक्षण गर्दा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तेल खाने अवस्थामा नरहेको बताएपछि खाल्डोमा पुरिएको हो।

वैशाख १२ गतेको भूकम्पपछि भारतको नयाँ दिल्लीस्थित युएईको दूतावासले त्यहीँ खाने तेललगायत खाद्यसामग्री खरिद गरी नेपाल पठाएको थियो। नेपालसमेत हेर्ने नयाँ दिल्लीस्थित युएई दूतावासले पटक–पटक गरी नेपाललाई ६३ हजार १ सय १२ कार्टुन (७ लाख ५७ हजार ३ सय ४४ केजी) खाद्यसामग्री पठाएको थियो।
यसबाहेक पनि युएईले ७४ हजार ५ सय ८० केजी खाद्यसामग्री नेपाल पठाएको भन्सार विभागको तथ्यांकले देखाउँछ। युएईले पठाएको खाद्य सामग्रीमा आँटा, चामल, चिनी, दाल र खाने तेल थिए। खाने तेलमध्ये करिब १० हजार लिटर उपयुक्त तापक्रममा नराख्दा र समयमै वितरण गर्न नसक्दा बिग्रिएको हो।

यस्तै, भारतबाट पठाइएको ३० बोरा आलु (१ हजार ८ सय केजी) पनि उपयुक्त तापक्रममा नराख्दा र समयमै वितरण गर्न नसक्दा बिग्रेको छ, जसलाई खाल्डो खनेर पुरिएको छ। लामो समयसम्म वितरण नगरी बोरामा चिसो ठाउँमा राखिँदा आलु कुहिएको स्रोतले बतायो।

भारतबाट मात्रै पटक–पटक गरी ५ लाख केजीभन्दा बढी आलु नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकले देखाउँछ। जसमध्ये ३० बोरा कुहिएको तथ्यांक खाद्य संस्थानसँग छ। बाँकी कति वितरण भयो र कस्तो अवस्थामा छ, सम्बन्धित निकायलाई नै थाहा छैन।

स्रोतका अनुसार खाने तेल, आलुबाहेक भारतलगायत विभिन्न देशबाट पठाइएका बालबालिकाको पोषणयुक्त खानेकुरा, रोटी र पाउरोटी समयमै वितरण गर्न र उचित तापक्रममा राख्न नसक्दा बिग्रेका छन्। बालबालिकाको खानेकुरा चर्को घाममा लामो समय राखिँदा बिग्रेको थियो।

रोटी, पाउरोटी र औषधि पनि बिग्रेको स्रोतले जनायो। ‘बालबालिकाका खानेकुरा, रोटी, पाउरोटी, औषधि कति बिग्रे, त्यसको तथ्यांक राखिएको छैन तर मात्रा ठूलो छ,’ स्रोतले भन्यो।

विपतका बेला के सामग्री लिने वा नलिने निर्णय सरकारले नगरेसम्म यस्तो समस्या आउने वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता शम्भु घिमिरेले बताए। ‘कम आयु भएका र तरकारीजन्य वस्तु राहतका रूपमा लिने नै होइन, राहतमा के ल्याउने वा नल्याउने भन्ने नतोकिदिँदा समस्या आएको हो।’

घिमिरेका अनुसार मन्त्रालयसँग चामल भण्डार गर्नेमात्र उपयुक्त गृह छ। तापक्रम मिलाएर राख्नुपर्ने खाद्य सामग्रीका लागि मन्त्रालयसँग अत्याधुनिक भण्डारगृह छैन। तापक्रम मिलाउन ठूला फ्रिजदेखि विभिन्न उपकरण भण्डारगृह तथा कोठामा जडान गर्नुपर्छ। ‘छोटो आयु भएका चीज ल्याउन बन्द गर्नुपर्छ, चाँडै नगल्ने खालका वस्तुमात्र ल्याउनुपर्छ,’ घिमिरेले भने।

विदेशबाट पठाइएका वस्तुको संवेदनशीलता नखुल्दा समस्या आएको स्रोतले जनाएको छ। ‘सामग्री त आउँछ तर प्याकेज तथा कार्टुनमा केही खुलाइएको हुँदैन,’ स्रोतले भन्यो, ‘त्यो वस्तुको आयु कति लामो छ, कस्तो स्थानमा राख्नुपर्ने हो कसरी बुझ्ने? १० दिनसम्म कार्टुन घाममै बस्छ, पछि खोल्दा बिग्रेको हुन्छ।’

विपतका बेला विदेशबाट आउने विभिन्न खाद्य सामग्री बिग्रन नदिन पाँचवटै क्षेत्रमा अत्याधुनिक प्रविधियुक्त भण्डारगृह बनाउन आवश्यक रहेको स्रोतको भनाइ छ। विभिन्न प्रकारका जोखिम अध्ययन गरी सोहीअनुसार वितरण गर्न सहज हुने गरी अत्याधुनिक भण्डारगृह निर्माण कार्य तत्काल सुरु गर्नुपर्ने स्रोतले बतायो।

‘करोडौं रुपैयाँ खर्चेर विदेशीले खाद्य सामग्री पठाउँछन्, त्यसलाई जोगाएर राख्न सक्ने भण्डारगृह हामीसँग छैन,’ स्रोतले भन्यो, ‘कि त त्यस्ता सामग्री नै नलिनुपर्योय, होइन भने सुरक्षित राख्न सकिने उच्च प्रविधियुक्त भण्डारगृह बनाउनुपर्योय,’ स्रोतले भन्यो।