शेरीघाटबाहेक छवटा पुलको निर्माण कार्य अधुरो

0 21

जुम्ला, २० असार, डिभिजन सडक कार्यालय जुम्लाअन्तर्गत जुम्ला–सुर्खेत सडकखण्डमा निर्माणाधीन आठवटा पुलमध्ये कालीकोट जिल्लाको शेरीघाट पुलबाहेक बाँकी सबै पुल निर्माणको कार्य अधुरो भएको पाइएको छ । कालेखोलामाथिको पुलको ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । विसं २०६९ असार २७ गतेदेखि कालीकोट जिल्लाको मान्म गाविसको शेरीघाट, भर्ता गाविसको कालेखोला, कालीकोट छाप्रे गाविसको टाकुल्ला, जुविथा गाविसको खल्लगाड, दैलेख पिपलकोट गाविसको घट्टेखोला पुलको निर्माण कार्य सुरु गरिएको डिभिजन सडक कार्यालय जुम्लाका इञ्जिनियर शन्तराम पाण्डेले जानकारी दिनुभयो । इञ्जिनियर पाण्डेका अनुसार शेरीघाट पुल निर्माणको कार्य शतप्रतिशत सम्पन्न भएको छ । तथापि टाकुल्लामा ५५, खल्लगाडमा ३५ र घट्टेखोलामा ३० प्रतिशतमात्र कार्य प्रगति हुन सकेको छ । पछिल्लो पटक सम्झौता भएको जुम्ला शनिगाउँ गाविसको हिमानदी पुलको ४५ प्रतिशत र कर्णाली नदीको खुलालु पुलको मात्र पाँच प्रतिशत काम भएको उहाँले जानकारी दिनुभयो । यसरी लामो समयसम्म पुल निर्माण नहुनाका कारणबारे जिज्ञासा राख्दा इञ्जिनियर पाण्डेले ठेकेदारहरुबाट अत्यन्तै लापर्बाही भएको बताउनुभयो । यता, निमित्त कार्यालय प्रमुख भुवन खड्काले काम सुरु भएको तीन वर्ष पुग्न लाग्दा पनि निर्माण कार्यमा ढिलाइ भएपछि ठेकेदारहरुलाई बारम्बार परिपत्र पनि गरिएको बताउनुभयो । सम्झौताअनुसार निर्माण व्यवसायीले आर्थिक परिचालन सही ठाउँमा नगर्नु, डिभिजन सडकले मुआब्जा नदिने प्रावधान रहेको तर समुदायबाट मुआब्जाकै विषयमा बढी अवरोध आउनु र प्रक्रियामा ढिलाइ हुनु जस्ता कारण लक्ष्यअनुसार काम हुन नसकेको कार्यालयले भनाइ छ । पुलका कारण सवारी आवागमनमा निकै अवरोध आएको छ भने यात्रुलाई पनि त्यत्तिकै सास्ती भएको छ । पुल निर्माणको जिम्मा लिएका ठेकेदारबाट भने ढिलो भए पनि पुल निर्माण भएर छाड्ने विश्वास डिभिजन सडक कर्णाली अञ्चल कार्यालय जुम्लाले लिएको छ । अन्यथा नियमानुसार कारबाही हुने उसले बताएको छ ।