कांग्रेसभित्र अवज्ञाका धार

0 15
काठमाडौं: संविधानसभाले फास्ट ट्र्याकमार्फत मस्यौदा संविधान पारित गर्ने तयारी गरिरहँदा सत्ताको नेतृत्व गरेको कांग्रेसभित्र सदन र सडकमा तीव्र अवज्ञाका धारहरू देखा पर्न थालेका छन्।
पार्टीका प्रभावशाली नेताहरू खुमबहादुर खड्का, लक्ष्मण घिमिरे, तारानाथ रानाभाट, हरिबोल भट्टराईलगायतले धर्मनिरपेक्ष संविधानको विरोध र सनातन हिन्दु राष्ट्र नेपालको माग गर्दै सोमबारदेखि राष्ट्रव्यापी आन्दोलनको घोषणा गरेका छन्।
उता सदनभित्र कांग्रेस सदस्य अमेरशकुमार सिंहले सर्वोच्च अदालतको अन्तरिम आदेशलाई बेवास्ता गर्दै मस्यौदा संविधानसभामा पेस गरिएकोमा आपत्ति जनाउँदै भने, ‘सर्वोच्च अदालतको आदेश यो संविधानसभालाई मान्य छैन भने यसले दिने संविधानलाई कसैले किन मान्ने ?’
यी दुई विरोध र अवज्ञाका धारसँगै मस्यौदाका विभिन्न प्रावधानबारे कांग्रेस पार्टीका अन्य सदस्यले पनि तीव्र आक्रोश पोखेका छन्।
संविधानसभा सदस्य आरजु राणा देउवाले महिलाप्रति देखाइएको असमान व्यवहारले मस्यौदा हिटलरद्वारा तयार गरिएको आभास भएको बताइन् । त्यस्तै डा. शेखर कोइरालाले फेसबुकमार्फत धर्मनिरपेक्षता र धर्म परिवर्तनको प्रावधानबारे कडा विरोध जनाएका छन्।
बीपी चिन्तन प्रतिष्ठानद्वारा आयोजित दुईदिने छलफलको अन्त्यमा पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस नेताहरू खड्का, रानाभाट, घिमिरे, भट्टराईलगायतले भने, ‘केही राजनीतिक दलभित्रका केही नेताहरूले प्रस्तावित संविधानका नाममा हिन्दु धर्म र मधेसविरुद्ध मुलुक टुक्र्याउने षड्यन्त्र गरेका छन्।’
खड्काले मधेस र मधेसीका पक्षमा आफूलाई उभ्याउँदै प्रस्तावित मस्यौदा तत्काल संशोधन गरी मधेसी र हिन्दुका पक्षमा आउन प्रमुख दलका शीर्ष नेतासँग आग्रह गरे।’
 मधेसीहरू सन्तुष्ट नभए पुनः द्वन्द्व हुनसक्ने सम्भावना आफूले देखिरहेको चेतावनी खड्काले दिए।
संघीयता मधेसवादी दलको आन्दोलनबाटै आएको र अहिले मधेसलाई नै उपेक्षा गरेकोमा आश्चर्य हुँदै खड्काले भने, ‘अहिलेकै मस्यौदा पारित भएमा मुलुकमा धार्मिक द्वन्द्व भई राज्यसत्ता कम्युनिस्टहरूको पोल्टामा जान सक्छ।’ देश द्वन्द्वमा गए त्यसको जिम्मेवारी कांग्रेसले नै लिनुपर्ने उनले बताए।
बहुदलीय संसदीय शासन व्यवस्थालाई मस्यौदामा संविधानको अपरिवर्तनीय धारामा समावेश गर्न, प्रस्तावनामा बहुलवाद अनिवार्य रूपमा राख्नुपर्नेमा हुन नसक्नु कांग्रेस नेतृत्वका लापर्बाहीको पराकाष्ठा रहेको दाबी खड्काले गरे।
स्वतन्त्र न्यायपालिकाको अवधारणा बोक्दै नेपालको अन्तरिम संविधान २०६३ लाई सम्मान गर्ने प्रतिबद्धता राख्दै आएका कांग्रेसलगायत प्रमुख दलसँग सर्वोच्च अदालतको आदेशअनुसार नामांकन र सीमांकनसहितको संविधान जारी गर्न खड्काले आग्रह गरे।
आफूलाई कम्युनिस्ट भन्न रुचाउनेहरूले पनि यस विषयमा गम्भीरताका साथ सोच्नुपर्ने उनको भनाइ थियो।
खड्काले भने, ‘आफ्नै पार्टी कांग्रेससमेत सर्वोच्चको निर्णयविपरीत जानु गलत भयो । संविधानसभाले पारित गरेको संविधानलाई राष्ट्रपतिले अस्वीकार गरे मुलुकमा के हुन्छ, त्यसको जबाफ चाहियो।’
मुलुकमा हुनसक्ने सम्भावित द्वन्द्व रोक्न नयाँ संविधानको राज्यको परिभाषामा ‘धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र’ राख्नुपर्नेमा खड्काले जोड दिए । उनले भने, ‘मसँगको परामर्शपछि प्रधानमन्त्रीले केही पहिले धार्मिक स्वतन्त्रताको कुरा गरेका थिए।
 तर उनको उक्त सावर्जजनिक अभिव्यक्ति र आफूहरूलाई दिएको आश्वासन पूरा नहुनु दुःखको कुरा हो।’ कार्यक्रममा सभासद् शंकर भण्डारी, मोहन बस्नेत, पूर्वसभासद्् पुष्पा भुसाल, शिवराज जोशीलगायतको उपस्थिति थियो।
उता संविधानसभामा मस्यौदामाथि भएको छलफलमा कांग्रेसका सभासद् सिंहले मस्यौदाले दिगो शान्ति र विकास दिन नसक्ने बताए। संघीयता मधेस आन्दोलन र मधेसी जनताको आकांक्षा भएको उनले बताए।
‘सर्वोच्चको आदेश नमान्ने हो भने भोलि अरूले पनि संविधानसभाबाट बनेको संविधान किन मान्ने? ‘ सिंहले प्रश्न गरे।
मस्यौदाले गणतन्त्र, समानुपातिक समावेशी र नागरिकताको समस्या हल नगर्ने सिंहको दाबी थियो। त्यस्तै आरजुले भनिन्, ‘महिलाका लागि बराबरी अधिकारको मस्यौदा आएन।
महिलालाई बच्चा पाउने मेसिनका रूपमा मात्र बुझ्ने काम भयो।’
 आमाका नाममा नागरिकता दिन पाउने व्यवस्था नगरिएको र महिलालाई आरक्षणको व्यवस्था नराखिएको भन्दै उनले असन्तुष्टि जनाइन्।
त्यस्तै संविधानमा धर्मनिरपेक्षताविरुद्ध राप्रपा नेपालले काठमाडौंमा हिन्दु सनातन धर्मसभा आयोजना गर्ने भएको छ।