प्रचण्ड भारत जाने, नरेन्द्र मोदीसँग भेट वार्ता हुने

0 12
काठमाडौं : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असार २९ गते भारत जाने भएका छन्। स्वकीय सचिव चुडामणि खड्काका अनुसार भारत सरकारको निमन्त्रणामा प्रचण्ड भारत भ्रमणमा जान लागेका हुन्।
भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट वार्ता गर्ने कार्यक्रम छ। पाँच दिने भारत भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलगायत उच्च अधिकारीसँग पनि भेट वार्ता गर्नेछन्।
संविधान निर्माणको प्रक्रिया निर्णायक चरणमा प्रवेश गरेकै बेला हुन लागेको प्रचण्डको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। प्रचण्डसँगै कांग्रेस र एमालेका नेताहरु पनि भारत भ्रमणमा जाँदैछन्।
मधेसवादी दलहरुले संविधानको मस्यौदामाथिको छलफललाई बहिष्कार गरेका छन्। संविधानको मस्यौदा च्यात्‍ने मधेसी दलका नेताहरुले भारतको साहानुभूति र समर्थन आफूहरुलाई भएको सार्वजनिक रुपमा बताउँदै आएका छन्। उनीहरुले शनिबार भारतीय दूतावास पुगेर राजदुत रणजित रायसँग आफूहरुलाई संविधानसभामा हेपिएको गुनासो गरेका थिए।