वन, निकुञ्ज कब्जा गर्दै कमलनयनाचार्य

0 18

काठमाडौं, असार २१ – स्वामी कमलनयनाचार्य बाबाले भक्तपुर, छालिङ–९ मा वनक्षेत्र कब्जा गरी आलिसान आश्रम बनाए । रूखजति मासेर सुविधा सम्पन्न निवास, प्रवचन कक्ष र मन्दिर बनाइएको थाहा पाउँदा पनि जिल्ला वन कार्यालयले वास्ता गरेन ।

सुरुमा श्रीवन सामुदायिक वनका उपभोक्तालाई प्रलोभनमा पारी स्वामी त्यहाँ प्रवेश गरेका थिए । विभिन्न शक्ति केन्द्रको सहयोगमा उनले रातारात आलिसान आश्रम खडा गरे । आश्रममा प्रधानमन्त्री भइसकेका नेता, संवैधानिक अंगका पदाधिकारीहरू, प्रहरीका हाकिमदेखि व्यापारीसम्मको ओइरो लाग्न थालेपछि तालुकदार वन कार्यालय बोल्न सकेन ।

बरु आश्रमले आगेटेको वनक्षेत्र उक्त कार्यालयले पछि तिनै बाबालाई नै सुम्पियो । कार्यालयले २०६९ कात्तिक २७ गते तत्कालीन छालिङ–९ (अहिले चाँगुनारायण नगरपालिका) स्थित ५.४४ हेक्टर वन पञ्च महालक्ष्मी अखण्डज्योति धार्मिक वनका नाममा हस्तान्तरण गरेको हो ।

‘स्वामीजी पहुँचवाला मान्छे रहेछन्,’ भक्तपुरका डीएफओ सूर्यकान्त सिग्देलले आइतबार कान्तिपुरलाई भने, ‘वन कार्यालयले के कारबाही गर्न सक्नु ?’ सिग्देल भक्तपुर डीएफओ हुनुअघि नै स्वामीलाई वन हस्तान्तरण गरिएको हो । धार्मिक वनले अनुसरण गर्नुपर्ने नियम पालना गरे/नगरेको पनि वन कार्यालयलाई थाहा छैन । ‘हामीले उहाँलाई केही प्रश्न गर्न सक्दैनौं,’  सिग्देल स्विकार्छन्, ‘हामीलाई टेरपुच्छर लगाए पो कारबाही गर्नु ।’

धार्मिक वन भनी हस्तान्तरित जग्गामा सरोकारवाला पक्ष कसैले बोटबिरुवा मास्न र ठूला भौतिक संरचना बनाउन पाइँदैन । भक्तपुर वन कार्यालयले सूर्यविनायकस्थित १ हेक्टर वन क्षेत्र अर्को एक संस्थालाई धार्मिक वनकै रूपमा दिएको छ ।

वन मन्त्रालय स्रोतका अनुसार कमलनयनाचार्य यतिखेर उक्त धार्मिक वनक्षेत्र हुँदै आश्रमसम्म फराकिलो पक्की बाटो निर्माणका निम्ति बजेट विनियोजन गराउन अर्थ मन्त्रालयसहित विभिन्न निकाय धाइरहेका छन् ।

निकुञ्जै कब्जा

कमलनयनाचार्यका विवादास्पद गतिविधि राजधानीबाहिर पनि छन् । उनले चितवन राष्ट्रिय निकुञ्ज कब्जा गरेर गजेन्द्रमोक्ष धाम बनाएका छन् । निकुञ्जका सहायक वार्डेन टीकाराम पौडेलका अनुसार उनले नवलपरासी त्रिवेणीनजिक करिब १५ बिघा क्षेत्र अतिक्रमण गरी गजेन्द्रमोक्ष धाम, धर्मशाला, मन्दिर र विद्यालय बनाएका छन् । निकुञ्ज प्रशासनले पटक–पटक ती संरचना हटाउने प्रयास गरे पनि केही लागेको छैन ।

फेरि स्वामीकै पहलमा त्रिवेणीधामबाट निकुञ्ज क्षेत्र र दुम्किबास हुँदै रहबास–पाल्पाबाट मुक्तिनाथ जोड्ने बाटो निर्माण अघि बढेको छ । ‘निकुञ्ज अतिक्रमण भयो भनेर धेरैपटक चिठी काट्यौं, बोलायौं, तर सुनुवाइ भएन,’ सहायक वार्डेन अधिकारीले कान्तिपुरलाई भने, ‘बल मिच्याइँ भइरहेको छ, ठूला नेताहरूको संरक्षण भएकाले मनलाग्दी काम भइरहेको छ ।’

निकुञ्ज क्षेत्रभित्र भौतिक संरचना निर्माण गर्नुअघि ‘ईआईए’ गर्नुपर्ने भए पनि त्योबिनै भटाभट निर्माणकार्य अघि बढेको भन्दै निकुञ्ज, राष्ट्रिय निकुञ्ज विभाग, वन मन्त्रालय र संसदको वातावरण संरक्षण समितिले प्रश्न उठाएका छन् । भर्खरै युनेस्को मुख्यालयबाट खटिएको उच्चस्तरीय टोलीले समेत निकुञ्जै धरापमा पर्ने गरी जथाभावी निर्माण भइरहेको ठहर गरेको थियो ।

‘अवैधानिक बाटोलाई पनि जिविस, भौतिक पूर्वाधार, सहरी विकास र स्थानीय विकास मन्त्रालयले बजेट दिएका छन्,’ अधिकारीले भने, ‘हामी पनि सरकारी निकाय नै हौं, अवैध काम रोक्न खोज्छौं, तर हाम्रो कुराको सुनुवाइ हँुदैन ।’

कमलनयनाचार्यको प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि अख्तियार प्रमुख लोकमानसिंह कार्की, अख्तियारका पूर्वसचिव भगवती काफ्लेसम्म उठबस छ । अजय सुमार्गीलगायत व्यापारीहरू उनीसँग निकट छन् । शक्ति केन्द्रकै संरक्षण पाएर उनले अवैध काम गरिरहेको वन क्षेत्रका अधिकारीहरूको भनाइ छ ।

मुक्तिनाथ पीठाधीश स्वामीका नामले समेत आफूलाई चिनाउने कमलनयनाचार्यलाई छालिङमै गएर भेट्ने, आशीर्वाद थाप्ने थुप्रै नेता छन् । पूर्वअर्थमन्त्री शंकर कोइरालाले त्यहाँ आश्रम निर्माण गर्न सरकारी कोषबाट ठूलो रकम उपलब्ध गराएका थिए ।

राष्ट्रिय निकुञ्ज ऐन २०२९ अनुसार निकुञ्ज कार्यालयको अनुमतिबिना निकुञ्ज क्षेत्रमा प्रवेश वर्जित छ । ‘निकुञ्ज क्षेत्र अतिक्रमण गर्नेलाई सम्बन्धित कार्यालय प्रमुखले कारबाही गर्न सक्छन्,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक फणिन्द्रराज खरेलले भने, ‘कारबाही गर्न नसक्नु प्रमुखको कमजोरी हो ।’

भटाभट वन दिँदै सरकार

वन मन्त्रालयले पछिल्लो समय धर्मशाला, विपश्यना केन्द्र, शान्ति धामलगायत खोल्न भनेर विभिन्न संस्थाका नाममा वन क्षेत्र बाँडदै आएको छ । बीपी धर्मशाला निर्माण गर्न दैलेखमा ६२५ वर्गफिट जग्गा उपलब्ध गराइएको छ भने चितवनको देवघाटमा सत्यसाई केन्द्र ट्रस्ट निर्माण गर्न ५ बिघा वन क्षेत्र दिइएको छ ।

काठमाडौंमा विपश्यना केन्द्र स्थापना गर्न एक रोपनी आठ आना र रुपन्देहीको पर्रोहामा योग तथा प्राकृतिक चिकित्सा केन्द्र स्थापना गर्न ४.५४ हेक्टर वनक्षेत्र दिइएको छ । वन मन्त्रालयले काठमाडौंको काभ्रेस्थलीमा बृहत् शान्तिधाम स्थापना गर्न ०.४७ हेक्टर वनक्षेत्र हस्तान्तरण गरेको छ ।

मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले हस्तान्तरित वनक्षेत्रको विस्तृत विवरण विभागहरूबाट माग गरी कारबाही अघि बढाइने प्रतिक्रिया दिए । हालै संसदको वातारण संरक्षण समितिको बैठकमा काठमाडौं–७ का सभासद भीमसेनदास प्रधानले ‘स्वामीले लिएका जग्गा तत्काल फिर्ता लिनुपर्छ’ भनेर माग उठाएका थिए ।  मन्त्रालयले होटेल, रिसोर्ट, केबलकार, पार्क, विद्युत्, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सुकुम्बासी, मुक्त कमैया, धर्मशाला, सिँचाइ, खानेपानी, सडकलगायत भनेर अहिलेसम्म करिब १४ हजार हेक्टर वन हस्तान्तरण गरेको छ ।