गोली हानेर डन पक्राउ, भाग्न खोज्दा खुट्टामा तीन राउन्ड गोली

0 11

भूकम्पमा सिन्धुपाल्चोक जेलबाट भागेका डन सन्की लामा भनिने रावणजित तामाङलाई प्रहरीले सुन्धाराको बेबिलोन डिस्कोबाट पक्राउ गरी गाडीमा राख्न खोजेको थियो, तर भाग्न खोजेपछि प्रहरीले उनको खुट्टामा तीन राउन्ड गोली हानेको छ । प्रहरीलाई अवरोध गर्ने उनका साथी उमेश श्रेष्ठ पनि पक्राउ परेका छन् ।

gunda

काठमाडौं, २० असार
भूकम्पको मौका छोपी जेलबाट भागेका एक गुन्डालाई प्रहरीले गोली हानेर डिस्कोबाट पक्राउ गरेको छ । लागुऔषध तथा
अपहरण मुद्दामा १० वर्ष कैद सजाय सुनाइएका सन्की लामा भनिने रावणजित तामाङलाई प्रहरीले शनिबार बिहान सुन्धारामा गोली हानेर पक्राउ गरेको हो ।
सुन्धाराको बेबिलोन डिस्कोबाट पक्राउ गरी गाडीमा राख्न खोज्दा भाग्न खोजेपछि प्रहरीले तामाङको खुट्टामा तीन राउन्ड गोली हानेको हो । उनलाई पक्राउ गर्दा प्रहरीलाई अवरोध गर्ने लामाका साथी उमेश श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाका डिएसपी रमेश थापा नेतृत्वको टोलीले तामाङलाई पक्राउ गरेको हो । पक्राउ गर्ने क्रममा प्रहरीलाई नै दुव्र्यवहार गरेर भाग्न खोजेपछि गोली हानिएको महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले बताए । १२ वैशाखको भूकम्पमा लामा सिन्धुपाल्चोक कारागारबाट भागेका थिए ।
जग्गा व्यवसायी गौरीकुमार खत्रीलाई २५ लाख नदिए गोली हानेर मारिदिने धम्की दिएको घटनामा तामाङ २८ असार ०६८ मा पहिलोपटक पक्राउ परेका थिए । सहयोगी हीरामणि सापकोटासहित उनी पक्राउ परेकोमा २२ साउनमा काठमाडौं जिल्ला अदालतले अपहरण उद्योग मुद्दामा उनीहरूलाई ४० हजार धरौटीमा छाड्ने आदेश दिएको थियो । धरौटीमा रिहा भएपछि उनी गुन्डागर्दीमा अझै सक्रिय हुँदै गए । छुटेपछि काठमाडौं परिसरमा कार्यरत डिएसपीलाई नै उनले फोन गरेर धम्क्याएका थिए ।
छुटेको आठ महिनापछि २१ वैशाख ०६९ मा तामाङ फेरि पक्राउ परेका थिए । खैरो हेरोइन ३० ग्रामसहित प्रहरीले उनलाई पक्राउ गरेको थियो । सो मुद्दामा अदालतले दोषी ठहर गरी १० वर्ष कैद सजाय सुनाएको थियो । काभ्रे नारायणस्थान घर भएका उनले काभ्रेली समूहमा आबद्ध भएर गुन्डागर्दी गर्दै आएका थिए ।
पक्राउ परेका उनका साथी श्रेष्ठ पनि आपराधिक पृष्ठभूमिका भएको एसएसपी खनालले बताए । उनी अपहरण मुद्दामा जेल बसेर छुटेका व्यक्ति हुन् । त्यस्तै, उनी ०५४ मा ठैँटीमा एक करोड रुपैयाँ डकैती गरेको घटनामा एक वर्ष जेल परेर छुटेका थिए ।
तामाङ र श्रेष्ठ दुवैजना मिलेर भक्तपुरमा गुन्डागर्दीमार्फत पैसा असुली गर्दै आएको प्रहरीले जनाएको छ । उनीहरूबाट अरू पनि पीडित भएको हुनसक्ने भन्दै उजुरी गर्न प्रहरीले आग्रह गरेको छ ।

गुन्डागर्दीविरुद्ध कडा रूपमा प्रस्तुत हुने संकेत
गृहमन्त्री वामदेव गौतमले देशमा गुन्डागर्दी बढिरहेको भनेर प्रहरीको आलोचना गरेकै भोलिपल्ट प्रहरीले गुन्डालाई गोली हानेर नियन्त्रणमा लिएको हो । गुन्डागर्दीविरुद्ध कडा रूपमा प्रस्तुत हुने यो संकेत भएको प्रहरी स्रोत बताउँछ ।
अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले गुन्डागर्दी नियन्त्रणलाई आफ्नो प्राथमिकता बनाएका छन् । राजनीतिक आवरणमा गुन्डाहरू सक्रिय हुँदै गएपछि पछिल्लो समय प्रहरी कडा रूपमा प्रस्तुत हुँदै आएको छ ।
गत वर्ष साउनमा प्रहरी इन्काउन्टरमा राजधानीका डन दिनेश अधिकारी ‘चरी’को मृत्यु भएको थियो । उनको मृत्युपछि डनहरू डराएकोमा पछिल्लो समय फेरि सक्रिय हुँदै गएका छन् । आपराधिक गतिविधिबाट कमाएको पैसाको आडमा उनीहरू राजनीतिक रूपमा समेत शक्तिशाली हुँदै गएका छन् । गुन्डागर्दी बढेकै सूचनाका आधारमा अपराध महाशाखा पनि उनीहरूविरुद्ध कडा रूपमा प्रस्तुत हुने तयारीमा छ ।