के गर्दै छन् पुराना चर्चित अभिनेता?

0 10

फिल्म दुनियाँमा ‘इन्ट्री’ गर्न जति सजिलो छ, टिकिरहन भने उति नै गाह्रो छ । अझ त्यसमाथि नम्बर एकको दौडमा पुग्न त झनै ‘तपस्या’ गर्नुपर्छ । र, पुगिहालियो भने त्यसको साख जोगाउन अझ धेरै मिहिनेती, धैर्यवान्, संयमित र सामाजिक बन्नुपर्छ । तर, हामीकहाँ त्यस्ता स्टारको निकै कमी छ ।
फिल्म संख्याका हिसाबले हिरोमध्ये राजेश हमाल एक नम्बरमा पर्छन् । तर, उनी स्वयं आफ्ना पाँच उत्कृष्ट फिल्मको नाम लिन सक्दैनन् । देउता र बसन्तीभन्दा अरू फिल्मको नाम लिन उनलाई हम्मे पर्छ । उनी अभिनीत फिल्मले औधी व्यापार गरेका त छैनन् नै, यो हाम्रो नेपाली फिल्म हो है भनेर अन्तर्राष्ट्रियस्तरमा देखाउनुपर्‍यो भने पनि हमालका फिल्म छनोटमा पर्दैनन् । तर, उनले २७ वर्षको अवधिमा झन्डै सवा तीन सय फिल्ममा अभिनय गरिसकेका छन् । तर, पछिल्लो समय उनी फिल्मविहीनकै अवस्थामा छन् ।
पहिला–पहिला अतिथि भूमिकामा राखेर भए पनि निर्माता, निर्देशक पोस्टरलगायतका प्रचार सामग्रीमा हमालको फोटो ठूलो बनाएर राख्थे । तर, अहिले परिस्थितिले कोल्टे फेरेको छ । हमाल प्रमुख भूमिकामा रहे पनि बाहिर लुकाइने गरिएको छ । उनलाई प्रचारमा ल्याउँदा हलमा दर्शक आउँदैनन् भन्ने निक्र्योल अहिलेका निर्माता, निर्देशकको छ । त्यसकारण मेरो जीवनसाथी, मुखौटालगायतका फिल्ममा हमाललाई पब्लिसिटीमा प्राथमिकता दिइएन । हमाल पनि यस्ता कुरामा टेन्सन मान्दैनन् ।
एकताका अभिनेता शिव श्रेष्ठ पनि निकै डिमान्डेड थिए । नेपाली मात्र नभई पाकिस्तानी फिल्ममा पनि आफूलाई एक्सन किङ हिरोका रूपमा स्थापित गराएका उनले पारिवारिक तनावका कारण आवेगमा आएर फिल्म अभिनयबाट सन्न्यास घोषणा गरे । त्यतिवेला उनको ठूल्दाइ फिल्म रिलिज हुँदैथ्यो । दर्शकले उनलाई सन्न्यास नलिन आग्रह गरेका थिए ।
तर, उनको सन्न्यास घोषणाले ठूल्दाइ फिल्मका निर्माता, निर्देशकका साथै उनी स्वयंलाई समेत निकै फाइदा गर्‍यो । ठूल्दाइ सुपरहिट भयो । शिव आफ्नो अडानमा रहिरहन सकेनन् । केही समयपछि नै उनले सन्न्यास भंग गरे । त्यसपछि उनले नारायण पुरीको लक्ष्मणरेखा फिल्ममा अभिनय गरे ।
दर्शकले निकै वाहवाही गर्लान्, फिल्म सुपरहिट होला भन्ने ठानेका थिए शिव स्वयं र लक्ष्मणरेखा निर्माताले । तर, अपशोच † सोचेजस्तो भएन । अर्थात्, लक्ष्मणरेखा असफल भयो । त्यसपछि शिवले लगातार फिल्ममा अभिनय गर्दै गए । पछिल्लो समय उनले एक्सिडेन्ट नामक फिल्ममा अभिनय गरेका छन् । पहिलाजस्तो उनको क्रेज अहिले छैन । न फिल्म, न त बाहिर नै । उनलाई फिल्मी कार्यक्रममा हम्मेसी देख्न पाइँदैन ।
फिल्मभन्दा फेरिरहने गर्लफ्रेन्डका कारण भुवन केसी सधैँ चर्चामा रहने गर्दछन् । तर, उनी एउटा यस्ता अभिनेता हुन्, जसका अधिकांश फिल्म सुपरहिट छन् । कुसुमेरुमाल, साइनो, कन्यादान, चिनो, दक्षिणा, करोडपति, नेपाली बाबु, तँ त साह्रै बिग्रिस बद्री, म तिमीविना मरिहाल्छुलगायतका उनका फिल्मले व्यावसायिक रेकर्ड राखेका छन् । यस हिसाबले मूल्यांकन गर्दा भुवन नै नेपालको सुपरस्टार हिरो हुन् । तर, सधैँ नै जस्तो स्क्यान्डलमा आइरहने गरेकाले दर्शक तथा फिल्मकर्मीले उनलाई हल्का रूपमा लिने गरेको पाइन्छ । हाल उनी आफ्नै निर्देशन र निर्माणमा ड्रिम्स नामक फिल्म निर्देशन गरिरहेका छन् ।
एकताका निकै तानातान थियो रमेश उप्रेती, दिलीप रायमाझी, रमित ढुंगाना, अर्जुन कार्कीलगायतका हिरोको । तर, उनीहरूले आफूलाई ‘मेन्टेन’ गर्न सकेनन् । उमेरले चालीस टेकेका यी हिरोहरू अहिले उद्योगमा ओझेलमा छन् भन्दा फरक पर्दैन । केही वर्ष अमेरिका बसेर स्वदेश फर्किएका रमेश अहिले पनि अवसरकै खोजीमा छन् । केशव भट्टराईको ब्रास्लेट फिल्मबाट उनको ‘कमब्याक’ हुँदै छ । त्यसपछि उनको हातमा फिल्म परेको समाचार सुन्न पाइएको छैन ।
लभर र डान्सर हिरोका रूपमा कहलिएका दिलीप रायमाझीका जिन्दगानी, दर्पणछाया, आफ्नो मान्छेलगायतका फिल्म सुपरहिट भए । उनी रातारात स्टार बने । तर, ओर्लन समय नै लाग्दोरहेनछ । केही वर्षभित्रै उनका पनि फुर्सदका दिन सुरु भइहाले । फिल्म अभिनय पातलिँदै गएपछि निर्माणमा लागेका उनलाई त्यसमा पनि सन्तुष्टि छैन । यद्यपि, उनी सानो ब्यानरका फिल्महरूमा भने व्यस्त भई नै रहेका हुन्छन् ।
दिलीपसँगै ‘इन्ट्री’ मारेका एक्सन हिरो सुशील क्षेत्री पनि अचेल फुर्सदकै अवस्थामा छन् । आगोबाट उदाएका सुशील बीचमा केही वर्ष निकै व्यस्त भए । तर, उनी अभिनीत फिल्म लगातार असफल भएपछि ओझेल पर्दै गए । उनी पनि अभिनयमै सक्रिय छन् । उद्योगमा सुशीललाई निकै भलाद्मी, घमण्डरहित र सोझो हिरोका रूपमा बुझिने गरिन्छ ।
आफैँले निर्माण गरेको माया नमार फिल्मबाट हिरोका रूपमा डेब्यु गरेका रमित ढुंगानाको पनि एकताका तानातान थियो । बीचमा उनले थुप्रै फिल्ममा अभिनय गरे । तर, कम मात्र सफल भए । काम हात पर्ने क्रम पातलिँदै गएपछि रमित अमेरिकातिर लागे । उनले निर्माण गरेको बुद्ध वाज बर्न इन नेपाल भने रिलिज हुन बाँकी छ । तर, हिरोका रूपमा उनको करिअर पुन: उदाउने सम्भावना भने लगभग अन्त्य नै भएको भन्दा फरक नपर्ला ।
फाइटरबाट करिअर सुरु गरेका अर्जुन कार्की एक्सन मास्टरसमेत बने । तर, उनको रुचि अभिनयमा थियो । जसकारण एक्सन हिरोको अभाव पूरा गर्ने आशाले निर्माता, निर्देशकले अर्जुनलाई हिरो बनाए । एउटा फिल्म रिलिज नहँुदै उनी दिदीभाइ, धूम, कन्यादान, बजारलगायत डेढ दर्जन फिल्ममा हिरो बने । तर, अपशोच † उनका फिल्मले नाफामूलक व्यापार गरेनन् । फलस्वरूप अर्जुन नउदाउँदै अस्ताउनुपर्‍यो । सगरमाथा आरोहण गरेर भने उनले आफ्नो नाम ‘रोशन’ पारेका छन् ।
सुपरस्टार हुँदाहुँदै केही वर्ष अभिनयबाट ओझेल परेका निखिल उप्रेती फेरि उदाएका छन्– भैरव फिल्मबाट । ११ भदौमा रिलिज हुने भैरवले निखिललाई पुन: एक्सन सुपरस्टार बनाउने आशा गरिएको छ । नेपालीमा चल्दै गर्दा भोजपुरीतिर हामफालेर त्यतै मग्न भएका अभिनेता हुन्– विराज भट्ट । केही समयअघि नेपाली फिल्ममा पुन: प्रवेश गर्ने ध्येयले काठमाडौं आएका थिए उनी । तर, उनलाई ब्रेक मिलेन ।
विगत केही वर्षयता अभिनेताका रूपमा आर्यन सिग्देल, दयाहाङ राई, सौगात मल्ल र जीवन लुइँटेल चम्किएका छन् । यद्यपि, पछिल्लो समय यिनीहरूका अधिकांश फिल्मले नाफा कमाउन सकेका छैनन् । तर पनि अहिले यिनीहरू फिल्ममा निकै व्यस्त छन् ।