प्रेमिकासँगको लफडाले डाक्टरको ज्यान गयो

0 19
पोखराः प्रेमिकासँग झगडा परेपछि तनावमा रहेका मणिपाल शिक्षण अस्पताल पोखराका एक डाक्टरको शनिबार राति घरको छतबाट खसेर ज्यान गएको छ ।

प्रेमिकासँगको खटपटपछि तनावमा रहेका २६ वर्षीय इन्र्टन डाक्टर अनिमेश ठाकुरको शनिबार राति मणिपाल अस्पताल नजिकैको फुलबारीमार्ग सेक्टर २ स्थित घर नं ४६ को तेस्रो तलामाथिबाट राति पौने दश बजे खसेका ठाकुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनापछि प्रेमिकासँगको मनमुटावका कारण ‘आत्महत्या’ गरेको या दुर्घटनामा परेको आंशकामा अनुसन्धान शुरु गरेको छ । उनको परिवारले भने अनिमेशको मृत्यु ‘शंकास्पद’ भन्दै छानबिनको माग गरेका छन् ।

‘सँगै पढ्ने प्रेमिकाले पहिला जे भएपनि अब आफ्नो बाटो हिड्नुपर्छ भनेपछि ठाकुर केही दिनदेखि उनी तनावमा रहेछन्,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक हरिबहादुर पालले भने, ‘मनमुटावपछि मदिरा पिएर प्रेमिकाको कोठामा पुगेका ठाकुरले धोका पाएको भन्दै छतबाट हामफालेका वा नसाले सन्तुलन गुमाइ आफैँ खसेको हुन सक्छ ।’

ठाकुर शनिबार राति मृत्यु हुनुअघि युवतीको कोठामा अर्का इन्टर्न डाक्टर आयुस अर्यालसँगै रहेका थिए । डा. अर्याल प्रहरी महानिरीक्षक उपेन्द्रकान्तका छोरा हुन् ।

प्रहरीले रेलिङ्गमा झुन्डिएका ठाकुरलाई सँगैका साथीले बचाउन खोज्दाखोज्दै खसेका बताएको छ । ‘रक्सीले मातेका साथी रेलिङ्गमा झुन्डिएपछि उनीसँगैका केटा र केटी साथीले तानेर बचाउने प्रयास गरेछन,’ प्रउ पालले भने ‘तर ७२ किलोका ठाकुरलाई माथि तान्न नसकेकाले भुइँमा खसेछन ।’

राति पौने दशबजेतिर ठूलो आवाजसँगै युवती चिच्याएको आवाज आएपछि स्थानीबासी घटनास्थलमा पुगेका थिए ।

‘ठोक्किएको ठूलो आवाजसँगै केटी कराएको सुनेर हामी हेर्न जाँदा ठाकुर रगतको आहालमा पल्टिरहेका थिए,’ घटनास्थल रहेको घरको भूइँतलामा बस्दै आएका सुशीलप्रसाद साहले भने ‘सधैँ देखिरहेको मान्छे रगताम्मे भएको देखेपछि एकैछिनमा अस्पताल पुर्‍यायौं तर उनलाई बचाउन सकिएन ।’

ठाकुर र काठमाडौं घर भइ मणिपालमै इन्र्टनसिप गर्दै आएकी एक चिकित्सक युवतीबीच तीन वर्ष अघिबाट प्रेम सम्बन्ध रहँदै आएको ठाकुरका एक साथीले भने ।

‘ठाकुर र  युवती केही वर्ष पहिलेदेखि नै प्रायः सँगसँगै हुन्थे,’ उनले भने ‘केटी बसेको कोठामा उनी गइरहेका हुन्थे । तर अहिले यस्तो दुःखद् क्षण देख्नुप¥यो ।’

छोराको निधनको खबर सुनेपछि स्वास्थ्य मन्त्रालयका सहसचिव समेत रहेका डा. गरिबदास ठाकुर बिहानै आफन्तसहित पोखरामा आइपुगेका थिए । उनले छोराको मृत्युलाई ‘शंकास्पद’ भन्दै छानविन गर्न माग गरेका छन् ।

‘लेखपढ गर्न पनि सिपालु भएकाले आत्महत्या गर्ने कमजोर मनोबलको स्वभाव उसमा थिएन’, पुत्र वियोगमा भक्कानिदै उनले भने ‘मृत्यु शंकास्पद देखिन्छ, प्रहरी र अस्पताल सबैले घटनाको छानबिन गरी मलाई न्याय दिलाउन आग्रह गर्छु ।’


यही घरबाट खसेर डाक्टर अनिमेश ठाकुरको ज्यान गएको हो  । तस्बिर : कृष्णमणि बराल

source:annaprnapost