साउन १५ भित्र संविधान ल्याउने सभाध्यक्षको प्रस्ताव

0 11
काठमाडौं : संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्गले साउन १५ भित्र नयाँ संविधान जारी गर्न दलहरुसँग प्रस्ताव गरेका छन्।
मस्यौदामाथि संविधानसभामा छलफल प्रारम्भ भईसक्दा पनि कहिले जारी गर्ने भन्नेमा दलहरुबीच सहमति नजुटिरहेका बेला सभाध्यक्ष नेम्वाङ्गले यस्तो प्रस्ताव गरेका हुन्।
मैले साउन १५ भित्र संविधान जारी गरौ भनेर नेताहरुसँग प्रस्ताव गरेको छु,’ नेम्वाङ्गले अन्नपूर्णसँग भने, ‘साउन १५ भित्र संविधान जारी गर्न सकिन्छ, सक्नुपर्छ भनेको छु।’
मस्यौदामाथि राय सुझावका लागि जाने वा नजाने, जाने भए कति दिन छुट्याउने भन्ने विषयमा दलहरुबीच सहमति जुटन बांकी रहेकाले संविधान जारी गर्ने मिति पनि किटान हुन नसकेको संसद सचिवालय स्रोतले बतायो ।
प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी छोटो समयका लागि पनि मस्यौदा लिएर जनतामा जानुपर्ने पक्षमा छन भने एमाले वर्षा र भुकम्पका कारण जनतामा नगई सञ्चारमाध्यममार्फत राय सुझवा संकलन गर्नुपर्ने पक्षमा छ । यसैबीच तीन दलका शीर्ष नेताहरुबीच शनिवार सांझ बालुवाटारमा भएको छलफलमा छोटो विधि र प्रक्रियाबाट संविधान जारी गर्ने सैद्धान्तिक सहमति भएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए।
‘जनतमलाई पनि ठाउं दिएर संविधान जारी गर्ने कुरा भयो,’ पौडेलले भने,‘संविधान कहिले जारी गर्ने र जनतामा जान कति दिन जाने भन्ने विषयमा भोली(आईतवार) सभाध्यक्षसँग कुराकानी गर्छौ ।’ शनिवार दिउंसो संविधानसभा भवनमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले छिटो संविधान जारी गर्ने भएपनि जनतामा जाने कार्यक्रम कटौती नहुने बताएका थिए ।
संविधान छिटो जारी गर्ने भन्ने छ । तर जनतामा जाने कुरा हटाउन मिल्दैन’ दाहालले भने । संसद सचिवालयले मस्यौदामाथि संविधानसभामा छलफल समाप्त भए लगत्तै राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको र १५ हजार प्रति राजपत्र छाप्न मुद्रण विभागसँग कुराकानी भइरहेको स्रोतले बतायो ।

त्यस्तै जनतामा मस्यौदा लैजान मस्यौदा छाप्न तयारी भइरहेको सचिवालयले जनाएको छ । ‘प्रत्येक जिल्लामा १ हजारका दरले मस्यौदा पठाउने प्रारम्भिक तयारी भइरहेको छ,’ सचिवालय स्रोतले भन्यो ।