सुपारी काण्डले प्रहरी युनिट नै सरुवा

0 17
परासी: जिल्लाका सीमावर्ती नाका हुँदै भारततर्फ सुपारी तस्करी बढेको सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले सीमा क्षेत्रको एक प्रहरी युनिटसहित १६ जना प्रहरीलाई सरुवा गरेको छ ।
सरुवा हुने प्रहरी युनिटमा हरपुरको अमानिगञ्जस्थित इलाका प्रहरी कार्यालय छ । उक्त प्रहरी कार्यालयका इन्चार्ज(सई)सहित १४ जना प्रहरीलाई सरुवा गरिएको छ । त्यस्तै सीमा प्रहरी चौकी महेशपुरका दुईजना सिपाहीलाई पनि सरुवा गरिएको छ ।
प्रहरीको मिलमतोमा उक्त कार्य बढ्दै गएपनि नियन्त्रणमा चासो नदिएको समाचार अन्नपूर्ण पोष्ट्मा प्रकाशित भएपछि प्रहरी आलोचित बनेको थियो । समाचार प्रकाशन भएपछि जिल्ला प्रहरीले मातहतका सीमा कार्यालयका प्रहरीमाथि निगरानी बढाएको थियो । तस्करीमा संलग्न भएको आशंका गरिएका प्रहरीलाई सरुवा गरेको प्रहरी स्रोतले बताएको छ ।
एकै पटक त्यति धेरै प्रहरी सरुवा भएपछि जिल्लामा पनि त्यसको छानविन हुनुपर्ने प्रहरी वृत्तमै चर्चा चल्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक (डीएसपी) सोमबहादुर थापाले सीमा नाकामा सुपारी तस्करी भएको पाइएपछि जिम्मेवारी पुरा गर्न नसकेका केही प्रहरीलाई फेरबदल गरिएको बताए ।
‘मिडियामा आएजस्तो तस्करी होइन,’ डीएसपी थापाले भने, ‘अवैध रुपमा सीमा नाकाबाट लुकिछिपि सुपारी जाने गरेको पाइएकोले त्यसमा कडाइ सुरु गरेका छौं ।
नेपालबाट भारततर्फ सुपारी तस्करी हुने समाचार आएपछि यसअघि सशस्त्र प्रहरीले सीमा नाकामा निगरानी बढाएको थियो ।
निगरानीका क्रममा सशस्त्र प्रहरीले ५ क्विण्टल सुपारी दसगजा नजिकबाट बरामद गरेको थियो । सशस्त्रको सक्रियतापछि दबाबमा परेको प्रहरीले विभिन्न स्थानमा सुपारी बरामद गरेको थियो । भारततर्फ नभइ नेपालकै सीमा बजारमा भ्याट बिलसहित लैजाने क्रममा प्रहरीले सुपारी बरामद गरको भन्दै व्यापारी आन्दोलनमा उत्रेका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म दुई पटक गरी ७ क्विण्टल ७६ केजी सुपारी बरामद गरी भन्सार पठाइएको छ । स्टक मिलाउदै व्यापारी
सुपारी तस्करी बढेसँगै सीमा नाकामा कडाइ हुन थालेपछि त्यस क्षेत्रमा इजाजत लिएर सञ्चालनमा रहेका व्यवसायीले पसलमा रहेको स्टक सुपारीलाई व्यवस्थित गर्न थालेका छन् ।
जिल्लाको महेशपुर, भुजहवा , झोलनीपुर र त्रिवेणीमा सुपारीका व्यापारी छन् । भारतीय बन्दरगाहा हुँदै विराटनगर र विरगन्ज हँदै सुपारी आउने गरेको छ । नवलपरासीका व्यवसायीले बुटवलको ट्रान्सपोर्टबाट सुपारी खरिद गरी सीमाका नेपाली बजारमा ल्याउने र त्यहाँबाट भारत लैजाने गरेका छन् ।
त्यसरी व्यवसाय गर्ने उद्देश्यले महेशपुरमा ४ जना थोक व्यापारीले इजाजत लिएका छन् भने अन्य २६ जना पसलले सुपारी बिक्री गर्ने गरेका छन् । त्यस्तै झोलनीपुरमा ४ वटा खुद्रा पसल छन् ।
नेपालमा २ सय ८५ रुपैयाँमा पाइने सुपारी र भारतमा २ सयदेखि २ सय ५० रुपैयाँ भारु पर्ने गरेका कारण तस्करी बढेको हो । व्यवसायीले एउटा भ्याट बिलबाट धेरै पटक सुपारी ल्याउने गरेका छन् ।
पछिल्लो पटक तस्करीमा निगरानी बढेपछि आन्तरिक राजश्वले गोदममा छापा मार्ने त्रासकका कारण केही व्यवसायीले बिल अनुसारको स्टक मिलाउनतर्फ लागेको बताइएको छ ।