राहतको चामल चिउरा बेच्ने पाँचजना धरौटीमा छुटे

0 8
धुलिखेल : भूकम्प प्रभावितका लागि पठाइएको  राहतको खाद्यान्न बिक्री वितरण गर्ने अभियोगमा पक्राउ परेका पाँचजनालाई जिल्ला प्रशासन कार्यलयले धरौटीमा छोडेको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले तीन साता अघि भूकम्प पीडितका लागि पठाएको दामचामल बिक्री गरेको अभियोगमा पाँचजनालाई पक्राउ गरेको थियो ।

राहतको खाद्यान्न बिक्री वितरणको आरोपमा पक्राउ परेका चौवास गाउँ विकास समिति–७ का ५५ वर्षिय सूर्यबहादुर लामा(तामाङ), गोठपानी गाविस–९ का ५६ वर्षिय गुणप्रसाद चौलागाँई, सोहि वडाका ५१ वर्षिय कृष्णप्रसाद चौँलागाँई, सानोबाङथली–७ की ठुली लामा र धुसेनी सिवालय–६ की कान्छी लामालाई जनही एक लाख २५ हजार ६ सय धरौँटी बुझाई छोडेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

भूकम्प प्रभावितका लागि राहत बाँड्ने भन्दै जिल्लाको कोशिपारीको चौवास गाउँ विकास समिति– ७ बस्ने अशोक लामाले गत वैशाख २३ गते दिउँसो नेपाल खाद्य संस्थानको लोगो भएको ३० किलोको चामल दुई सय बोरा, सिता फुड इण्डष्ट्रिजको २० किलोको ताईचिन चिउरा एक सय बोरा र नुन पाँच बोरा कोशिपारी लगेका थिए ।
राहतका लागि लगिएको खाद्यान्न समाग्री गोठापानी–९ का कृष्णप्रसाद चौलागाँई र गुणप्रसाद चौलागाँईले सञ्चालन गरेको किराना पसलमा चामल ५ बोरा चामल र पन्ध्र बोरा चिउरा, सानो बाङथली–७ स्थित ठुली लामाको  घरमा ३० बोरा चामल र पाँच बोरा चिउरा र धुसेनी शिवालय–६ स्थित कान्छी लामाको घरमा दश बोरा चामल स्टोर गरि राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।
राहतको खाद्यान्नको बिक्री वितरण गर्ने पाँचै जनालाई कालोबजारी ऐन अन्र्तगत मुद्दा चलाइएको थियो। कालोबजारी ऐनमा मुद्धा चलाईएका उनीहरुमाथि २० दिनसम्म अनुसन्धान गरि हिजो धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार केसीले जानकारी दिए ।