पश्चिममा भोलिदेखि ठूलो वर्षा अनुमान

0 13

काठमाडौं, असार १९ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि पश्चिम क्षेत्रमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । पश्चिमको तुलनामा काठमाडौंसहित मध्ये र पूर्वमा भने कम वर्षा हुने महाशाखाको अनुमान छ ।

न्युनचापीय क्षेत्रको विकासँगै मनसुन सक्रिय भएपछि पश्चिममा भारी वर्षा हुने महाशाखाले शनिबार विशेष बुलेटिनमार्फत् जनाएको हो । न्युनचापीय रेखा पूर्वी भागमा भन्दा पश्चिमतिरको भागको ‘फुट हिल अफ दि हिमालयमा’ छ ।

‘न्युनचापीय रेखा हाम्रोतिर सरेको छ’, महाशाखाका मौसमविद् मीनकुमार अर्यालले कान्तिपुरलाई भने, ‘त्यही भएर पश्चिमक्षेत्रमा निकै वर्षा हुने देखिन्छ ।’ महाशाखाले पूर्वी क्षेत्रमा भने शनिबार रातिदेखि नै वर्षा हुने अनुमान गरेको छ ।

‘तर, पूर्वी क्षेत्रमा भन्दा पश्चिम क्षेत्रमा मौसमी गतिविधि सक्रिय भएर बढी वर्षा हुन सक्छ,’ अर्यालले भने । महाशाखाले शनिबार रातिदेखि नै वर्षा हुने र विभिन्न स्थानमा पहिरो र नदीमा पानीको मात्रा बढ्न गई बाढीको सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन अपिल गरेको छ ।

३० जेठमा कमजोर अवस्थामा मनसुन प्रवेश गरे पनि पर्याप्त वर्षा हुन सकेको छैन । जसका कारण धान रोपाईँमा ढिलाई भएको छ ।