गृहमन्त्री–आईजीपी विवाद उत्कर्षमा

0 10

काठमाडौ, असार १९ – ‘पहिला म जिल्ला र ग्रामीण क्षेत्रका सबै प्रहरी चौकी निरीक्षण गर्न जान्थेंं, तर अचेल जान्नँ, किन भने मलाई प्रहरीको अनुशासनमाथि विश्वास रहेन, निरीक्षण भ्रमणमा जाँदा मलाई चौकीका प्रहरीले किन आएको भन्दै गलहत्याएर निकाले भने मैले के गर्ने ?’ यो भनाइ गृहमन्त्री वामदेव गौतमको हो । मन्त्रालयमा शुक्रबार रानीबारी हत्याकाण्डको सफल अनुसन्धान गरेका प्रहरी अधिकारीलाई पुरस्कृत गर्ने क्रममा गृहमन्त्रीले यस्ता अभिव्यक्ति दिएका हुन् ।

उनले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई कटाक्ष गर्दै आफूलाई खुल्लमखुला आलोचना गर्ने प्रहरी अधिकारीलाई कारबाही नगरेको आरोप लगाए । ‘गृहमन्त्रीलाई खुला रूपमा गाली गर्ने प्रहरी अधिकारी कारबाहीमा परेका छैनन्,’ उनले भने, ‘आईजीपीको आलोचना गर्नेमाथि चाहिँ कारबाही भयो ।’ मन्त्री गौतमले प्रहरीले नै कतिपय अपराधी जोगाउने गरेको आरोपसमेत लगाए । झन्डै एक वर्षअघि प्रहरी कारबाहीमा मारिएका चरी भनिने दिनेश अधिकारीलाई मार्दैमा गुन्डागर्दी नरोकिने उनले बताए ।

प्रहरीले बिहीबार काभ्रेको धुलिखेलमा भूकम्पपीडित सर्वसाधारणका लागि कार्यक्रम राखेको थियो । कार्यक्रम तय हुँदा त्यसको प्रमुख अतिथि गृहमन्त्रीलाई बोलाउने तयारी गरिएको थियो । सशस्त्र प्रहरी बललाई व्यक्ति पक्राउका लागि पुर्जी जारी गर्न अधिकार दिने नियमावली गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले पारित गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको मात्र होइन गृहमन्त्री र प्रहरी महानिरीक्षकको सम्बन्ध चिसिएको छ ।

स्रोतका अनुसार एक महिना अघिसम्म आईजीपी अर्याल साताको कम्तीमा चार/पाँचपटक गृहमन्त्री भेट्न मन्त्रालय आउँथे । अर्याल अहिले सातामा मुस्लिकले एकपटक आउँछन् । अर्याल पुल्चोकको मन्त्रीनिवास नपुगेको ३ महिना भयो । ‘मैले सबै एआईजीहरूसँग आईजीपीलाई शुक्रबार मात्र गृहमन्त्रीसमक्ष देखेको हुँ,’ ती सहसचिवले भने, ‘पहिला जस्तो धाएर आउनु हुन्न ।’

‘देशको नियमित शान्ति सुरक्षालगायतका विषयमा जानकारी दिन पहिलाका प्रहरी प्रमुखहरू नियमितजसो साँझ मन्त्रीलाई भेट्न आउथे,’ ती अधिकारीले भने, ‘अघिल्लोपटक माधव घिमिरे गृहमन्त्री हुँदासमेत प्रहरी महानिरीक्षक नियमितजसो आउँथे ।’ ती अधिकारीले मन्त्रालयमा गर्नुपर्ने रिपोर्टिङलगायतका काम प्रहरी महानिरीक्षकले आफूहरूमार्फत गराएर फर्किने गरेको बताए ।

गृहमन्त्री गौतम र महानिरीक्षकबीच सम्बन्ध सुमधुर कहिल्यै नरहेको मन्त्रीनिकटहरू बताउँछन् । ‘गौतम गृहमन्त्री भएदेखि नै सम्बन्ध गतिलो भएन, आईजीपीले गृहमन्त्रीज्यूले भनेको टेर्दैनन्,’ मन्त्रीनिकट एक व्यक्तिले भने, ‘अलिअलि गर्दा गर्दै त्यो धेरै भयो, अनि आईजीपीले भनेको मन्त्रीले नमान्ने मन्त्रीले भनेको आईजीपीले नमान्ने अवस्था आएको छ ।’

महानगरीय प्रहरी परिसर ललितपुरमा वरिष्ठ प्रहरी उपरीक्षक पुष्पचन्द्र रन्जित झन्डै २ वर्ष बसे । सामान्यत: १ वर्षमा हुनुपर्ने सरुवा रन्जितको १९ महिनापछि भयो । त्यसको पनि कारण थियो, प्रहरी महानिरीक्षक र गृहमन्त्रीबीचको द्वन्द्व । गृहमन्त्री उनीनिकट प्रहरी उपरीक्षक छविलाल जोशीलाई पठाउन चाहन्थे । आईजीपी अरू कसैलाई । अन्तत: ७ महिनापछि आईजीपीले जिते । र त्यहाँ प्रहरी वरिष्ठ उपरीक्षक पीताम्बर अधिकारीलाई २ साताअघि मात्र पठाइयो ।

यीबाहेक धेरै सरुवा र बढुवामा गृहमन्त्री र आईजीपीबीच मनमुटाब भएको छ । ५ महिनाअघि भएको प्रहरी नायब महानिरीक्षकको सरुवामा समेत त्यस्तै भयो । गृहमन्त्री गौतमले मध्यक्षेत्रीय प्रहरी कार्यालयमा रामकुमार खनाललाई पठाउन चाहन्थे ।

प्रहरी महानिरीक्षक अरू कसैलाई । अन्तत: एक महिनापछि मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडामा नायब महानिरीक्षक देवेन्द्रजंग सुवेदी गए । खनाललाई सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयमा पठाइयो । यस्ता मनमुटाब सरुवादेखि प्रहरी सहायक निरीक्षकको बढुवासम्म परेको थियो ।

दुई जनाबीचको विवाद उत्कर्षमा भने सशस्त्र प्रहरी बललाई पक्राउको अधिकार दिएपछि यो सतहमा आएको हो । ‘नेपाल प्रहरीले आफूलाई नटेरेपछि तिमीहरूको सट्टा अर्को पनि छ भनेर सशस्त्रलाई पक्राउ अधिकार दिइएको हो,’ प्रहरी मुख्यालयका एक अधिकारीले भने ।

को–को पुरस्कृत ?

१२ वर्ष पुरानो रानीबारी हत्याकाण्डको गुथी सुल्झाउने प्रहरी अधिकारीलाई पुरस्कृत गरिएको हो । गृहमन्त्री गौतमले कार्यक्रममा केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख नायब महानिरीक्षक हेमन्त मल्ल, प्रहरी नायब उपरीक्षक भीम दाहाल, प्रहरी निरीक्षक महेश बस्नेत र दीपेन्द्र अधिकारीलाई पुस्कृत गरे । मन्त्रिपरिषद्को निर्णयअनुसार डीआईजी मल्ललाई ३० हजार रुपैयाँ, डीएसपी दाहाललाई २५ हजार रुपैयाँ र प्रहरी निरीक्षकद्वय बस्नेत र अधिकारीलाई २२/२२ हजार रुपैयाँ प्रदान गरेको हो ।