फेसबुकले टुटाउँदै दाम्पत्य सम्बन्ध

0 6

काठमाडौँ, १९ जेष्ठ – महानगरको मध्य सहरी इलाकामा घर, श्रीमान सरकारी स्वामित्वको कम्पनीमा जागिरे त, श्रीमती नाम चलेको स्कुलमा शिक्षिका।

दसवर्षे छोरा र माया गर्ने सासूससुरा भएको नैना श्रेष्ठ नाम परिवर्तनको जीवन हाँसीखुशी थियो। ससाना व्यक्तिगत कुरा पनि सामाजिक सञ्जालमा साथीसँग सेयर गर्ने बानीका कारण सम्बन्ध विच्छेद गर्ने अवस्था बन्यो। उनको विवाद थाहा पाएका वकिलका अनुसार नैनाको ससाना व्यक्तिगत कुरा पनि अमेरिका बस्ने सहपाठी साथीलाई फेसबुकको इन्बक्समा भन्थिन्। फेरी साथीलाई भनें भनेर श्रीमानलाई सुनाउँथिन, कान्तिपुर दैनिकमा खबर छ।

यस्तो क्रम चल्दै जाँदा श्रीमानको मनमा श्रीमतीका लागि आफूभन्दा साथी नजिक भएको महसुस हुन थाल्यो। उनको असन्तुष्टी प्रकट हुन थाल्यो। श्रीमान श्रीमतीबीच विवाद बढ्न थालेपछि नैनाले पासपोर्ट बनाउन खोजिन्, श्रीमान थप संशकित भए। सम्बन्ध विच्छेद भए थोरै सम्पत्ति दिएर काम चलाउने उद्देश्यले श्रीमानले बावुआमासँग अंश लिइसकेको भर्पाईको कागज बनाए। यसपछि नैनाले पनि विश्वास गर्न सक्ने अवस्था नरहेको भन्दै सम्बन्ध विच्छेदको मुद्दा हालिन। पाँच महिनाअघि दुवै अलग भए।

मनमैंजुकी रिना नाम परिवर्तनलाई आठ र साढे ४ बर्षीया छोरीलाई छाडेर फेसबुकमार्फत प्रेमसम्बन्ध भएको युवकसँग विवाह गरिन्। फेसबुक अकाउण्ट नखोलुञ्जेल सब ठिकठाक थियो। रिनाले फेसबुकमा सक्रिय भएपछि अफगानिस्तानमा कार्यरत अविवाहित युवकसँग प्रेम भयो। कुरा सेयर गरेकी बहिनीले बुवाआमालाई कुरा लगाइदिएको थाहा पाएपछि ६ महिनाअघि गायब भइन्। दुवैजना काठमाडौंमै बसिरहेको हालै उनले बहिनीलाई खबर गरेपछि थाहा भयो, ति नातेदारले सुनाए।

टवटरमा सक्रिय विनम्रता क्षेत्री नाम परिवर्तनलाई टवटरमा एक युवकले वर्ष दिनभन्दा बढी अघिदेखि फलो त गरिरहेकै थिए, उनका सबैजसो पोष्टलाई फेवरेट र रिट्विट गर्थे। श्रीमानको विवाहेत्तर सम्बन्धबारे जानकार विनम्रतालाई अनवरत प्रशंसा गरिरहेका युवकप्रति कौतुहलता जगाउन स्वभाविक थियो। केहीअघि दुवैले भेटघाट गरे। भेटघाटपछि विनम्रता युवकको मायामा परिन। तर आफ्नो पारिवारिक जीवन तोड्न तयार नभएकी उनी अहिले परामर्श केन्द्रमा धाइरहेकी छिन्।