सगरमाथा चढ्दा भूकम्प आएपछि

0 8

 

kulउनी हिउँले पुरिए । बाहिर निस्किए । फेरि हिउँमै पुरिए । हिउँमा पुरिँदै, निस्किँदै उनी दुई सय ५० मिटर तल पुगे । तलुवा–९, ओखलढुंगाका कुलबहादुर थामामगर हिमलुङ हिमाल आरोहण गर्दा हिमपहिरोमा यसरी नै बगे । तर, उनी सकुशल भए । किनकि उनी बेहोस् भएनन् । हिमलुङ हिमालमा हिमपहिरोमा पुरिएका कुलबहादुर भूकम्प आउँदा सगरमाथा चढिरहेका थिए । केही सहकर्मी गुमाए, आफू बाँचे । हिमाल आरोहणका अनुभूति उनले नयाँ पत्रिकालाई सुनाए : १६ वर्ष भयो, ट्रेकिङ क्षेत्रमा छु । क्लाइमिङ प्लस गाइड गर्छु । मगरको छोरो हुँ । शेर्पाचाहिँ मेरो पद हो । यस क्षेत्रमा काम गर्नेहरू अधिकांश शेर्पा समुदायका छन् । अरू समुदायका त नगन्य मात्रामा । म सगरमाथा आरोहण गर्न चाहन्थेँ । आफ्नो खर्चमा त्यो सम्भव थिएन । सन् २००९ मा अवसर जुर्‍यो । म न्युजिल्यान्डको आरोही ग्रुपसँगै चढेँ । बेसक्याम्प, क्याम्प वानसम्म त कुकको काम गर्दा पुगिसकेको थिएँ । त्यसभन्दा माथि लागेपछि लासहरू देखिन थाले । लास देख्दा आफ्नो नि त्यस्तै अवस्था हुने हो कि भन्ने लाग्दो रहेछ । सबैलाई लाग्दो हो । १९ मे २००९ को बिहान नौ बजे चुचुरोमा पुग्यौँ । अरूको सहयोगमा पुगेको थिएँ, तैपनि एउटा विजयी अनुभूति भयो । त्यहाँबाट वरिपरि हेर्दा रूखको टुप्पोमा पुगेर फेदतिर हेरेजस्तो देखिन्थ्यो । १० मिनेट चुचुरोमा बसेपछि ओरालो लाग्यौँ । २०१० को मे १८ मा ब्रिटिस टोली लिएर सगरमाथा पुगेँ । २०११ मे २६ मा तेस्रोपटक सगरमाथाको चुचुरोमा पाइला पुर्‍याएँ, ताइवानीहरूको ग्रुप लिएर । मलाई बिस्तारै सगरमाथा आरोहण सामान्य लाग्न थाल्यो । ००० विदेशी हुन् या स्वदेशी, हिमालमा उकालो चढ्दै गर्दा थाकेका हुन्छन्, तर उत्साही हुन्छन् । खुसी हुन्छन् । जब असफल भएर बीचबाटोबाट फर्कनुपर्छ उनीहरू रुन थाल्छन् । किनकि, उनीहरूको लाखौँ रुपैयाँ त्यसै खेर जान्छ । विदेशीहरू हिमाल आरोहण गर्ने सोख पूरा गर्न आफ्नो घर, गाडी बेचेरसमेत आएका हुन्छन् । आरोहण असफल हुँदा उनीहरूलाई ठूलो पीडाबोध हुनु स्वाभाविकै हो । २०१३ मा चौथोपटक सगरमाथा आरोहण गर्दा त्यस्तै भयो । क्याम्प टुसम्म पुगेर फर्कनुपर्‍यो । जुन विदेशीलाई लिएर गएका थियौँ, उनीहरू क्याम्प टुबाट अगाडि बढ्न नसक्ने भए । फर्कने निष्कर्ष निकाले । उनीहरू फर्केपछि हामी त त्यसै फर्कनु परिहाल्यो । त्यसवेला ती विदेशीहरू निकै भावुक देखिन्थे । कतिपयलाई त मैले सम्झाउनु नै पर्‍यो । ००० मनास्लुबाट फर्केपछि २०१४ मै अर्को टोली लिएर मनाङको हिमलुङ हिमालतिर लागेँ । सेप्टेम्बरको अन्तिमतिर हो । हामी बेसक्याम्पबाट क्याम्प वानमा पुग्यौँ । आरोहणमा अर्को टिम पनि थियो । हाम्रो ग्रुपमा चारजना शेर्पा थियौँ । क्याम्प टुसम्म पुग्ने, फर्केर क्याम्प वानमै बस्ने निर्णय भयो । क्याम्प टु नजिक पुग्दा पाखा नै खस्यो । माथिबाट हिउँको डल्लो पल्टँदै आयो । मभन्दा अघि हिँडिरहेको साथी निमेषभरमै त्यो हिउँमा विलीन भयो । उसको लास अझै भेटिएको छैन । त्यो हिमपहिरोले मलाई पनि बगायो । पहिरोमा बग्दा कहिले पुरिन्थेँ, कहिले बाहिर निस्किन्थेँ । बाहिर निस्किँदा क्याम्प वान देखिन्थ्यो । पुरिँदा निस्सासिन्थेँ । कहिलेकाहीँ भाग्यले साथ दिँदो रहेछ, म सीधै खाल्डोमा पर्ने मान्छे उछिट्टिएर पाखामा पुगेँ । त्यसरी पुरिँदा पनि नर्भस भइनँ । नर्भस भएको भए म पक्कै मर्थेँ । म जाँदाखेरि गाडेको किलामा अड्किएँ । मेरो आधा शरीर हिउँले पुरिएको थियो । एकजना विदेशीले आएर तान्यो । तर, एउटा जुत्ता निस्किएन । खाली खुट्टा हिँडेँ । मैले तलबाट देख्दा विदेशीहरू कसैको टाउको, कसैको हात मात्रै देखिन्थ्यो । दुईजनालाई भने केही भएनछ । उनीहरूले हामी सबैलाई निकाले । ००० यस वर्षका लागि विदेशीहरूको ठूलो टिम लिएर सगरमाथातर्फ लागेका थियौँ । वैशाख १० गते बिहानै बेसक्याम्पबाट क्याम्प वानतिर लाग्यौँ । १० र ११ गते साँझ क्याम्प वानमै बितायौँ । १२ गते बिहानै उकालो लागेका थियौँ, क्याम्प टुमा पुगेर बस्ने लक्ष्यसहित । क्याम्प टुको नजिक पुगेका थियौँ । म अरूभन्दा अघि हिँडिरहेको थिएँ । जमिन हल्लिन थाल्यो । बिस्तारै हिमालै पो हल्लिन थाल्यो । वरिपरि पहिरो झर्न थाल्यो । बेस्सरी हल्लिएपछि भुइँचालो हो भन्ने थाहा भयो । पहिरोबाट निस्किएको धुवाँ–धुलोले हामीलाई छोप्यो । साथीहरू हिमालमै भागाभाग गर्न थाले । हिउँ फुटेर त्यसैभित्र छिरिने पो हो कि भन्ने कुरा मनमा खेल्न थाल्यो । माथिबाट आउने हिमपहिरोले सोहोरेर लाने हो कि भन्ने लाग्न थाल्यो । तर, माथिबाट आएको पहिरो हामी भएसम्म आइपुगेन । हिमाल हल्ली नै रहेको थियो । हामी त्यति सेफ ठाउँमा थिएनौँ । कि क्याम्प वान झर्नुपथ्र्यो, कि क्याम्प टु उक्लनुपथ्र्यो । नजिक क्याम्प टु थियो । हामी क्याम्प टुतिर लाग्यौँ । सबैजना क्याम्प टु पुग्यौँ । क्याम्प वान र क्याम्प टुमा भएका सबै सेफ भयौँ । बेलुकी क्याम्प टुमा बस्यौँ । भोलिपल्ट दिउँसो खाना खान लागिरहेका थियौँ । फेरि ठूलो भुइँचालो आयो । फेरि पहिरो झर्न थाल्यो । सबै साथीहरू आत्तिए । जमिन फाटेर त्यहीँ जमिनभित्र छिरिने हो कि भन्ने डर लाग्यो । काठमाडौंमा सम्पर्क गर्न खोज्यौँ । सम्पर्क भएन । कार्यालयमा गर्‍यौँ, लागेन । अर्को एकजनालाई फोन गरेको, लाग्यो । ‘हामी ठीक छौँ, घरमा खबर गरिदिनु’ भन्यौँ । तल झर्ने बाटो थिएन । पहिरोले बगाएको थियो । दुई रात क्याम्प टुमै बितायौँ । १६ विदेशी र १४ नेपाली गरी ३० जना थियौँ । क्याम्प वानमा भएकाहरू हेलिकोप्टरबाट फर्कन थाले । हामी क्याम्प टुमा भएकालाई हेलिकोप्टरमा उड्न गाह्रो थियो । हेलीले क्याम्प टुबाट एकजना मात्र बोक्छ र १० हजार डलर लिन्छ । क्याम्प वानबाट दुईजना बोक्छ र पाँच हजार डलर लिन्छ । हामी क्याम्प वानमा झर्न लाग्यौँ । बाटो बनाउँदै झर्‍यौँ । क्याम्प वानमा झरेपछि त्यहाँबाट हेलिकोप्टरमा फर्कियौँ, बेसक्याम्पमा । अनि सुरक्षित भयौँ । बेसक्याम्पमा भएका २२ जनाले ज्यान गुमाए । सगरमाथाको होइन, पुमारी हिमालबाट आएको पहिरोका कारण उनीहरूले ज्यान गुमाए । हाम्रो टिममा रहेका एकजना विदेशीले ज्यान गुमाए । अरू सबै सुरक्षित भयौँ । ००० हिमपहिरोमा पुरिएँ । भूकम्पमा परेँ । तर, हिमाल चढ्न छाड्दिनँ । यो त मेरो पेसा हो । आखिर मर्नै लेखिएको भए मरिएला । बाँच्नु छ भने जहाँ गए पनि बाँचेर आइन्छ । आफ्नो घरले पुरिएर मान्छे मरे । म फेरि जाँदै छु हिमाल चढ्न । सगरमाथामा भूकम्पले कुनै क्षति पुर्‍याएको छैन । हिमाल चढ्न त जहिले पनि जोखिमै छ । हिमालमा हिउँ पर्छ, हिमपहिरो झर्छ भन्ने त सबैलाई थाहा भएकै कुरा हो । त्यो थाहा पाएर नै जाने हो । त्यहाँ त मृत्यु जितेर जाने हो । अहिलेसम्म अरूको सहयोगमा सगरमाथा पुगेँ । एकचोटि आफैँ नेतृत्व गरेर सगरमाथाको चुचुरोमा पुग्न मन छ । त्यसका लागि कम्तीमा ५० लाख चाहिन्छ । मगर समुदायबाट मलाई त्यो सहयोग होस् भन्ने चाहिरहेको छु । सहयोग भयो भने म आउने सिजनमा सगरमाथा चढ्नेछु ।