संविधानसभामा धार्मिक स्वतन्त्रताको विवाद, पाँच घन्टा नाराबाजी

0 15

काठमाडौं, १९ असार
संविधान मस्यौदा समितिको प्रारम्भिक मस्यौदामा उल्लेखित धार्मिक स्वतन्त्रतासम्बन्धी मौलिक हकका विषयलाई लिएर संविधानसभा धार्मिक विवादमा फसेको छ । मस्यौदा समितिले पारित गरेविपरीत मस्यौदामा धार्मिक स्वतन्त्रताका नाममा धर्म परिवर्तन सुनिश्चित गरेको राप्रपा नेपालले आरोप लगाएको छ ।
तर, मस्यौदा समितिअन्तर्गतको कार्यदलले दिएको प्रतिवेदनका आधारमा नै समितिले उक्त प्रावधान राखेको थियो । संक्रमणकालीन हकको व्यवस्थामा भने कार्यदलको प्रस्तावविपरीत मस्यौदा बनेको थियो ।
राप्रपा नेपालले मस्यौदामा संविधानसभामा छलफल नै नभएको विषयलाई मस्यौदामा सामेल गरेको आरोप लगाएको छ । तर, एमाले नेता विष्णु पौडेल सभापति रहेको संविधान अभिलेख अध्ययन तथा निक्र्योल समितिले पनि हालकै प्रस्तावित व्यवस्थामा सहमति गरी संविधानसभामा पठाएको थियो । उक्त सहमतिअनुसार नै हालको मस्यौदा बनेको छ ।
तर, १३ असारमा मस्यौदा समितिले मस्यौदा पारित भएपछि उक्त व्यवस्था थपिएको राप्रपा नेपालले आरोप लगाएको छ । मस्यौदा संविधानसभामा दुई दिनसम्म पेस नगरेर जालझेलपूर्वक धार्मिक स्वतन्त्रता थपिएको आरोप उसको छ ।
‘यो मस्यौदा समितिले पारित गरेको मस्यौदा होइन, यसमा जालझेलपूर्वक हेरफेर भएको छ,’ राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने, ‘समितिले भाषा र प्राविधिक विषय मिलाउन सभापतिलाई अधिकार दिएको थियो, पूरै मस्यौदा परिमार्जनका लागि अधिकार दिएको होइन ।’ चाहेको वेला धर्म छाड्न पाउने अधिकार मौलिक हकमा सुनिश्चित गरेर धर्म परिवर्तनलाई प्रोत्साहन गरेको उनको आरोप छ । संक्रमणकालीन व्यवस्थामा समितिको प्रतिवेदनविपरीत स्थानीय निकायको निर्वाचनको समय हटाएको र सभाध्यक्षलगायतको निर्वाचन तोकेकोमा पनि उनले आपत्ति जनाए ।
तर, एमाले सभासद् भानुभक्त ढकालले विघटित संविधानसभाको सहमति, अभिलेख निक्र्योल समितिको प्रतिवेदन र कार्यदलको प्रारम्भिक मस्यौदाका आधारमा मस्यौदा तयार भएको बताए । मस्यौदा समिति सदस्यसमेत रहेका ढकालले भने, ‘कार्यदलले तयार पारेको एकीकृत मस्यौदा र विगतका सहमतिअनुसारकै मस्यौदा संविधानसभामा पेस भएको हो ।’
हाल उक्त विषयमा सहमति भए पनि राप्रपा नेपालबाहेकका अन्य दलका कतिपय सभासद्ले पनि आवश्यक नभएको व्यवस्था राखिएको बताएका छन् । उनीहरूले धर्मनिरपेक्षताले नै मस्यौदामा उल्लेख भएका ती प्रावधान समेट्ने तर्क गरेका छन् ।

नाराबाजीबीच कार्यसूचीमा प्रवेश
नाराबाजी र घेराउबीच संविधानसभा कार्यसूचीमा प्रवेश गरेको छ । मस्यौदाका प्रावधानलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले गरेको नाराबाजी र अवरोधबीच संविधानसभा कार्यसूचीमा प्रवेश गरेको हो । संविधानसभा रोस्ट्रमअघि बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवानले पनि धर्ना दिएका थिए । दिउँसो १:५० बाट सुरु भएको बैठकमा साँझ ७ बजेसम्म राप्रपा नेपालका सभासद्ले नाराबाजी गरे ।
शुक्रबार संविधानसभा सुरु भएसँगै राप्रपा नेपालका सभासद्हरूले बैठकमा अवरोध पुर्‍याएका थिए । अवरोधअघि अध्यक्ष कमल थापा र सभासद् सुशीलकुमार श्रेष्ठले मस्यौदामा जालझेल भएको भन्दै सच्याउन माग गरेका थिए । करिब पाँच घन्टा बैठक अवरुद्ध भएपछि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सभालाई कार्यसूचीमा प्रवेश गराएका थिए ।