ऋण तिर्न नसकेपछि अपहरणको नाटक

0 14

रौतहट : ऋण र उधारो रकम तिर्न नसकेपछि अपहरणमा परेको नाटक गर्ने एक व्यक्ति रौतहट प्रहरीको फन्दामा परेका छन् ।

रौतहटको सखुअवा धमौरा–७ हर्षाहा टोल निवासी ४४ वर्षीय निर्माण व्यवसायी छविलाल राउत कुर्मीले आफू अपरणमा परेको भन्दै परिवारलाई खबर गरेपछि उनको खोजीमा प्रहरी सक्रिय भएको थियो ।

प्रहरीले उनलाई गएराति चन्द्रनिगाहपुरमा फेला पारेपछि कुर्मी आफैँले अपरण भएको नाटक गरेको खुलासा भएको हो ।

कुर्मीले आफ्नो मोबाइल नम्वरबाट मंगलबार  घरमा फोन गरेर आफ परेको भन्दै छुटाउनका २० लाख फिरौती मागेको बताएका थिए ।

अपहरणकारीले कुटपिट गरी ज्यान लिन लागेको बताउँदै उनले भाइलाई फोन गरेपछि परिवारजन र रौतहट प्रहरीले खोजी थालेका थिए ।
इलाका प्रहरी कार्यालय गरुडा, चन्द्रनिगाहपुर र जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी टोली उनको खोजीमा जुटेको थियो ।

अपहरणकारीले लाँदैगर्दा मोटरसाइकल चिप्लेर आफू भागेको बताएपछि प्रहरीले रातभर अपहरणकारी भागेको समभावित ठाउँमा खोजतलास गरेको थियो ।

अपहरणको घटना नै नभएको प्रहरीलाई आशंका लागेपछि  अनुसन्धान गर्दा आफँैले अपहरणको नाटक गरेको खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक सुुधीरराज शाहीले जानकारी दिए ।

ऋण धेरै लागेको तथा उधारो लिएको पैसा तिर्न नसक्ने अवस्था आएपछि अपहरणको नाटक गरेको पत्ता लागेको प्रहरी उपरीक्षक शाहीले बताए ।

अपहरणको नाटक गर्ने  कुर्मीलाई सार्वजनिक अपराध र सजाय ऐनअन्तर्गत कारबाही शुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 

-source: annapurnapost