डब्लुएफपीको कुहिएको चामले गाउँ दुर्गन्धित

0 9
गोरखा: लाप्राकका भूकम्प पीडितलाई बाड्न लगिएको कुहिएको चामल विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अहिलेसम्म नष्ट गरेको छैन। लाप्राकको गोदाममा राखिएको कुहिएको एक सय २० बोरा चामलको दुर्गन्ध फैलिरहँदा अहिलेसम्म पनि नष्ट नगरिएको स्थानीयले बताए।
‘अहिलेसम्म नष्ट गरेको छैन,’ गाविसका पूर्वअध्यक्ष विसबहादुर गुरुङ भन्छन्’, ‘त्यसको गन्धले स्थानीयलाई प्रभाव पार्न लागि सक्यो भनेर हामीले बारम्बार कुरा राखेका छौं।
चामल कुहिने, गन्हाउने भइरहेछ। गाउँकै सुरक्षित ठाउँमा चाँडै नष्ट गर्नुपर्ने हो। किन ढिला भइरहेको हो? ‘
मौसमको प्रतिकुलताका कारण हेलिकोप्टर पनि जान नसक्ने र दरौंदी नदी बढेका कारण गाडी पनि लैजान नसक्ने अवस्था आएको उनले बताए।
‘चामल गन्हाएर गाउँमा असर गर्ला जस्तो भइसक्यो,’ उनले भने, ‘चामल नष्ट गर्न हेलिकोप्टर पनि आउन सक्दैन।
दरौंदीमा बाढी आएर गाडी खोला तरेर पारि जान नसक्ने भएको छ। चामल कसरी फिर्ता लैजान्छन् ? छिटोभन्दा छिटो हामीलाई यो दुर्गन्धबाट मुक्ति दिए हुन्थ्यो।’
जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले चामल तत्काल नष्ट गर्न आग्रह गरिसकेको जनाएका छन्् । ‘सडेको पुष्टि भइसक्यो।
सडेको सट्टा सद्दे चामल दिने उनीहरूले प्रतिवद्धता जनाइसके,’ प्रजिअ तिमल्सेनाले भने, ‘केही दिनभित्रै नष्ट गर्न मैले भनिसकेको छु।’
सेभ द चिल्ड्रेन र नेपाल रेडक्रससँगको समन्वयमा डब्लुएफपीले गोरखाका बिभिन्न गाउँमा राहत सामग्री वितरण गरेको थियो।
लाप्राकमा वितरण गर्न लगेको चार सय ७७ बोरा चामलमध्ये एक सय २० बोराका चामल बिग्रिएको भेटिएको हो।