सभासद् पुत्रले गरे विमानस्थलमै हंगामा

0 15
काठमाडौं: राजनीतिक विवाद निम्तिने देखापरेपछि कांग्रेसकी सभासद् कौसर साहले भारतीय राहदानीवाहक आफ्ना छोरा जुबेर खानको घटना थामथुम पार्न खोजिन्।
तर घटनाले उग्र रूप लिन थालेपछि न सभासद् साहले घटना थामथुम पार्न सकिन्, न त दुबई जान लागेका छोरा खानलाई हिरासत बस्नबाट जोगाउनै सकिन्।
दुबई जान बुधबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका खानले अध्यागमन कार्यालयका कर्मचारीलाई हातपात गर्न खोजेपछि प्रहरीले उनलाई त्यहींबाट पक्राउ गरी राति नै कालिकास्थानस्थित अध्यागमनको हिरासतमा ल्याएर बुझाइदियो।
छोरालाई हिरासतबाट छुटाउन हदैसम्मको कोसिस गरे पनि सभासद् साह असफल भइन्। नेदरल्यान्डको स्थायी आवासीय अनुमति (पीआर) समेत लिएका भारतीय नागरिक खानले विमानस्थलस्थित अध्यागमनका अधिकृत छत्रबहादुर साह र लोकबहादुर कार्कीलाई दुव्र्यवहार गर्दै हातपात गर्ने प्रयत्न गरेका थिए । अध्यागमन अधिकृतमाथि मुड्की हान्न खोजेपछि अन्य यात्रु पनि जम्मा भएका थिए।
पीडित कर्मचारीहरूले प्रतिरोध र विरोध गरेपछि घटना अध्यागमन विभागसम्म पुग्यो। सुरुमा खानले आफ्नी आमा सभासद् भएको लुकाए तर घटनाले ठूलो रूप लिएपछि आफ्नी आमा कांग्रेसकी सभासद् भएको बताएका थिए।
त्यसपछि सभासद् साहले विमानस्थलमै घटना मिलाउन अध्यागमनका कर्मचारीलाई दबाब दिइन्। विमानस्थलको गेटपासबिना नै सभासद् साह अध्यागमन कक्षसम्म पुगेकी थिइन्।
‘बिनापास अध्यागमन कक्षसम्म साह पुगेपछि विमानस्थलको सुरक्षामा समेत प्रश्न उठेको छ’, एक अध्यागमन अधिकृतले भने।
अध्यागमन अधिकृत छत्र साह र अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेको रोहबरमा खानले लिखित माफी मागेपछि बिहीबारै उनी रिहा भएका थिए । अध्यागमन विभागका महानिर्देशक न्यौपानेले खानले लिखित माफी मागेपछि छाडेको बताए।
खान र उनका बाबु शमसुल हक खान भारतीय नागरिक हुन्। बागबजार बस्दै आएका खानकी आमा कौसर साह कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै समानुपातिक कोटामा सभासद् भएकी हुन्।
पछिल्लोपटक बनाएको खानको भारतीय राहदानी नेदरल्यान्डको हेगबाट जारी भएको देखिन्छ।
 खानको भारतीय राहदानीमा पिताको नाम शमसुल हक खान र आमाको नाम कौसर साह रहेको छ।
आवेगमा खानले एकपटक अध्यागमन कर्मचारीमाथि मुड्की हाने पनि सिसा भएका कारण कसैलाई लागेन।
 खानले कागजात र भिसा हेर्न काउन्टर २ मा कार्यरत अध्यागमन अधिकृत छत्रबहादुरलाई राहदानी र बोर्डिङ पास बुझाएका थिए।
राहदानी दिएलगत्तै फिर्ता मागेपछि अध्यागमन अधिकृत साहले भिसा जाँचको काम भइरहेको भन्दै केही समय लिएका थिए।
त्यसबाट क्रुद्घ खानले ‘मेरो भिसा जाँच गर्ने तँ को होस्? ‘ भन्दै हातपात गर्ने प्रयत्न गरेका थिए।
केहीबेरको भनाभनपछि खान फरेन काउन्टर ३ मा रहेका अध्यागमन अधिकृत लोकबहादुर कार्कीमाथि जाइलागे। ‘यहाँ त प्रहरीले जोगाउला, बाहिर कसले जोगाउँदो रैछ, हेरौंला’ भन्दै अध्यागमन कक्षमा केही बेरसम्म उनले तमासा देखाएका थिए।
पछि प्रहरीले उनलाई पक्राउ गरी अध्यागमन विभाग पठाएको थियो। सभासद् आमाको आडमा ड्युटीमा तैनाथ कर्मचारीलाई धम्की र यातना दिएको लिखित गुनासो विमानस्थलस्थित अध्यागमनका कर्मचारीले आफ्नो विभागमा दर्ता गराएका थिए।