रानीबारी हत्याकाण्डका आरोपी थुनामै

0 10
काठमाडौं: रानीबारी हत्याकाण्डका आरोपी मनराज गुरुङ र प्रमेश चौहानलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न पुनरावेदन अदालत पाटनले आदेश दिएको छ।
अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने जिल्ला अदालतको आदेशलाई पुनरावेदनले सदर गरेको हो।
गुरुङ र चौहानले गत जेठ ११ गते वकिलमार्फत पुनरावेदन गरेका थिए। जाहेरवाला लव श्रेष्ठको जाहेरीले नेपाल सरकारलाई विपक्षी बनाएर उनीहरूले पुनरावेदन गरेका थिए।
पुनरावेदन अदालतका न्यायाधीशहरू भीमबहादुर बोहोरा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले प्रतिवादी गुरुङ र चौहानलाई थुनामा राखेर अनुसन्धान गर्ने जिल्ला अदालतको फैसलालाई सदर गरेका हुन्।
पुनरावेदन अदालतले ‘घटनाका प्रत्यक्षदर्शीको सनाखत र मिसिल प्रमाणका आधारमा प्रतिवादीलाई पुर्पक्षमा राखी थुनामा राख्ने आदेशमा अन्यथा गरिरहन नपर्ने’ भनेको छ ।
गुरुङ र चौहानका तर्फबाट वकिलले पुनरावेदन गर्दा प्रतिवादीको इन्कारी बयान हुँदाहुँदै पनि जिल्ला अदालतले बन्द इजलासमा राखेर जबर्जस्ती पुर्पक्षमा आदेश जारी गरेको उल्लेख गरेका थिए । स्रोतका अनुसार काठमाडौं जिल्ला अदालतमा बुधबार दुवै पक्षको बकपत्र छ।
गुरुङ र चौहानले गरेको पुनरावेदनमा समेत जिल्ला अदालतकै आदेश सदर भएकाले पीडितले न्याय पाउनेमा ब्युरोका अनुसन्धान अधिकृत ढुक्क छन्।
२०५९ असार ३१ गते रानीबारीस्थित गीता खड्काको घरमा डेरा बस्दै आएका हेमन्त श्रेष्ठ र अञ्जली श्रेष्ठको खुकुरी प्रहारबाट हत्या भएको थियो।
 सोही घटनामा संलग्न भएको आरोपमा ब्युरोले गत चैत १ गते गुरुङ र चौहानलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

source:annapurnapost