आज राति नेपाल नेदरल्यान्ड्ससँग भिड्दै

0 15

काठमाडौ, असार १५ – नेपाल र नेदरल्यान्ड्स मंगलबार राति चार ट्वान्टी ट्वान्टी सिरिजको पहिलो खेलमा भिड्दै छन् । नेपाली समय अनुसार खेल आठ बजेर ४५ मिनेटमा सुरु हुनेछ । खेल भीआरए स्टेडियममा हुनेछ । यो सिरिज जुलाई ९ देखि आयरल्यान्ड र स्कटल्यान्डमा हुने वल्र्ड ट्वान्टी ट्वान्टी छनोटको तयारीका रूपमा रहेको छ ।

दुवै टिम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट मान्यता प्राप्त ट्वान्टी ट्वान्टी टिम रहेको हुँदा सिरिजका खेललाई पनि औपचारिक मान्यता रहनेछ । सिरिजका चार खेलपछि नेपालले ट्वान्टी ट्वान्टीको वरीयतमा पनि प्रवेश गर्नेछ । आईसीसीले तोकिएको अवधिमा ८ खेल खेल्नेलाई वरीयतामा राख्छ । अहिलेसम्म नेपालले चार ट्वान्टी ट्वान्टी खेल खेलिसकेको छ ।

गत वर्षको मार्चमा बंगलादेशमा भएको विश्व ट्वान्टी ट्वान्टीमा नेपाल र नेदरल्यान्ड्सले स्मरणीय प्रदर्शन गरेपछि आईसीसीले जूनको अन्त्यमा नेपाललाई ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता दिएको थियो । नेपालले विश्व ट्वान्टी ट्वान्टीमा हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो । आयोजक बंगलादेशसँग पराजित भएको नेपाल झीनो रनरेट अन्तरमा दोस्रो चरणमा पुग्न सकेको थिएन ।

त्यही प्रतियोगितामा आयरल्यान्डलाई पराजित गर्दै नेदरल्यान्ड्स दोस्रो चरणमा पुग्ने एक्लो एसोसिएट राष्ट्र बनेको थियो । नेदरल्यान्ड्सले दोस्रो चरणमा इंग्ल्यान्डलाई पनि पराजित गरेको थियो । एसियाली क्रिकेट परिषदको पहलपछि नेपाल हङकङसँग तीन ट्वान्टी ट्वान्टी खेल्न श्रीलंका गएको थियो । तर वर्षाले एक खेलमात्र भएको थियो ।