भूकम्पपीडित पुनःस्थापना केन्द्रमा सञ्चारमन्त्री

0 3

पोखरा : सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले मंगलबार पोखराको नयाँबजारस्थित तमु धी नेपालले भूकम्पपीडितका लागि स्थापना गरेको पुनःस्थापना केन्द्रको अवलोकन गरेका छन् ।

गत वैशाख १२ गते गएको भूकम्पले गोरखाका विभिन्न गाविसमा धनजनको ठूलो क्षति पुर्‍याएपछि त्यहाँ घाइते भएका भूकम्पपीडितलाई तमु धी नेपालको पहलमा पुनःस्थापना केन्द्र स्थापना गरी पालनपोषण भइरहेको छ ।

जिल्लाका विभिन्न गाविसबाट हालसम्म ९०० जनालाई पालनपोषण गरिएको र अहिले पनि ७३ जना बालबालिका, सुत्केरी र वृद्धवृद्धा रहेका छन् ।

मन्त्री रिजालले तमु धी नेपालले भूकम्पपीडितका लागि गरेको यस सहयोगको सराहना गरे ।

रिजालले राज्यले गर्नुपर्ने ठाउँमा एक गैरसरकारी संस्थाले भूकम्पपीडितलाई ठूलो सहयोग गरेकोमा धन्यवाद दिँदै सरकारले तमु धीको हरेक कार्यमा सहयोग गर्ने वचन दिए ।

भूकम्पबाट पीडित जनताका लागि पुनःस्थापना र पुनःनिर्माणमा सरकार सदैव साथ रहेको बताउँदै  उनले भूकम्पले बस्नै नहुने ठाउँबाट अर्को उचित ठाउँमा स्थानान्तरण गर्न सरकारले पहल गरिरहेको जानकारी गराए ।

तमु धी नेपालका अध्यक्ष कर्म तमुको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
रासस