चीनमा डाक्टर पढ्नेले नेपालमा इन्टर्न गर्न नपाउने

0 2

१५ असार, काठमाडौं । छात्रवृत्ति तथा सांस्कृतिक कोटाबाट चीनमा अध्ययन सकेका एमबिबिएस विद्यार्थीलाई नेपालमा मेडिकल इन्टनसिप गर्न दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । नेपाल मेडिकल काउन्सिलले विदेशमा अध्ययन गरेका विद्यार्थीलाई स्वदेशमा इन्टनसिप गराउनु ऐनविपरीत हुने भन्दै विरोध जनाएपछि तत्काल कार्यान्वयन नहुने भएको नयाँ पत्रिकामा खबर छ ।

सअघि नेपाल सरकारको छात्रवृत्तिमा चीन गई एमविविएस पढेका ६ जना र केही सांस्कृतिक कोटामा अध्ययन सकेका विद्यार्थीले आफूहरुलाई स्वदेशमै एक वर्ष इन्टर्नसिपको मौका मिलाइदिन सरकारसँग माग गरेका थिए । सो आग्रहअनुसार तीन महिनाअघि बसेको मन्त्रिपरिषदको बैठकले शिक्षा मन्त्रालयको प्रस्तावमा उनीहरुको इन्टर्नसिप गर्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।

स्रोतका अनुसार सरकारी कोटामा विदेश अध्ययन गर्न गएकाको अभ्यासमा समस्या भएपछि उनीहरुलाई स्वदेशमै अभ्यास गराउनुपर्ने भन्दै शिक्षा मन्त्तालयले मन्त्रिपरिषदमा प्रस्ताव पेस गरी निर्णय गराएको थियो । काउन्सिलले इन्टर्नसिपको नीति सबैलाई एउटै भएको भन्दै स्वदेशमा पढ्नेले स्वदेशमा र विदेशमा पढ्नेले विदेशमै इन्टर्नसिप गर्नुपर्ने प्रस्ट पारेको छ ।