तीन बजे बोलाइएको बैठक १२ बजे पनि सुरु भएन

0 7

काठमाडौं, असार १५ – नयाँ संविधानको मस्यौदा बुझाउन बोलाइएको संविधानसभाको बैठक राति १२ बजे पनि सुरु भएन ।

१६ बुँदे सहमतिविपरीत सरकारमा रहेका दलले मस्यौदामा थपघट गरेको भन्दै एमाओवादीले हस्ताक्षर गर्न अस्वीकार गरेको छ । मस्यौदामा हस्ताक्षर नभएपछि संविधानसभा बैठक अनिश्चित भएको छ ।

आइतबार राति मस्यौदा समितिले पारित गरेको प्रतिवेदनका केही शब्दावलीलाई लिएर दलहरुबीच विवाद भएकौ हो । प्रतिवेदनमा मधेसी दललेसमेत आपत्ति जनाउँदै आएका छन् ।

दिउँसो ३ बजेका लागि बोलाइएको बैठक साँझ ७ बजे र पछि ९ बजेका लागि बोलाइएको थियो । संविधानसभा बैठक सुरु नहुँदा सभासद्, कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकार पनि अनिदो बसिरहेका छन् ।

विवाद मिलाउन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले गरेको पहल पनि व्यर्थ भएकौ छ ।

संविधानसभा बैठकबाट प्रधानमन्त्री सुशील कोइराला बाहिरिएका छन् ।

एमाले सभासद् रेवतीरमण भण्डारीका अनुसार दलहरुबीच बहुलवाद, धार्मिक स्वतन्त्रता कि धर्मनिरपेक्षता, नागरिकतालगायतका विषयमा विवाद छन् ।

 

 

संविधान मस्यौदामा जिल्ला कहाँबाट आयो ?

 

१६ बुँदे सहमतिको भावनाविपरीत संविधानको मस्यौदा ल्याइएको भन्दै एमाओवादीले हस्ताक्षर नगर्ने चेतावनी दिएको छ ।

प्रमुख दलबीच भएको सहमतिविपरीत मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले केही शब्द थपेको भन्दै एमाओवादीले असन्तुष्टि जनाएको हो ।

एमाओवादी स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले नागरिकताका विषयमा मस्यौदामा सहमतिविपरीतको शब्द थपिएको बताए । उनका अनुसार केन्द्र, प्रदेश र स्थानीय प्रशासनिक निकाय हुनेमा जिल्ला थपिएकाले समस्या भएको बताए ।

मस्यौदामा विवाद हुँदा संविधानसभाको बैठक सुरु हुन ढिलाइ भएको छ ।