प्रधानसेनापति तीनवर्षे कार्यकालमा १२८ दिन विदेश सयरमा

0 8

काठमाडौं, असार १५ – प्रधानसेनापति गौरवशमशेर जबरा सुटुक्क भारत भ्रमण गरेर फर्किएका छन् । कायममुकायम प्रधानसेनापतिसमेत नतोकी शुक्रबार भारत गएका जबरा सोमबार फर्किएका हुन् । प्रधानसेनापति बनेयता उनी तीन औपचारिकसहित पाँच पटक भारत भ्रमणमा गइसकेका छन् ।

सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले प्रधानसेनापति जबरा बिदा लिएर व्यक्तिगत भ्रमणमा गएको बताए । व्यक्तिगत भ्रमणमा गएकाले कायममुकायम प्रधानसेनापति नतोकिएको उनको भनाइ छ । जबरा प्रधानसेनापति बनेको ३ महिनापछि पारिवारिक भेटघाटका लागि २०६९ मंसिर १०–१९ सम्म भारत भ्रमणमा गएका थिए । प्रधानसेनापति जबराको ससुराली र मावली पनि भारतमै छ । जबराका छोरीज्वाइँ कलिकेश नारायणसिंह देव यसअघिको लोकसभामा भारतको उडिसाबाट निर्वाचित सदस्य थिए ।

विगतमा विशेष परिस्थितिबाहेक दुवै मुलुकका सेना प्रमुखहरूले आफ्नो कार्यकालमा एक पटकमात्रै एक–अर्को मुलुकको भ्रमण गर्ने गर्थे । पारिवारिक भ्रमण सकेर फर्केको एक महिनापछि नै २०६९ पुसमा उनले आठ दिन लामो औपचारिक भारत भ्रमण गरेका थिए । सोही बेला भारतीय राष्ट्रपति प्रवण मुखर्जीले जबरालाई भारतीय सेनाको मानार्थ सेनापतिको उपाधि दिएका थिए ।

संविधानसभाको दोस्रो निर्वाचनमा सेना परिचालनको सरकारी निर्णयसँगै जबराले २०७० असोज १३ देखि १९ सम्म भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसपछि २०७१ जेठ २७ देखि असार ३ सम्म उनले भारतको भ्रमण गरे । जबराको कार्यकालमा भारतबाट पनि त्यहाँका सेना प्रमुखले तीन पटक नेपाल भ्रमण गरेका छन् ।

जबराले आफ्नो कार्यकालमा १९ पटक विदेश भ्रमण गरेका छन् । २०६९ भदौ २५ मा प्रधानसेनापति बनेका जबराले भ्रमणका क्रममा ४ महिनाभन्दा बढी कुल १ सय २८ दिन विदेशमा बिताएका छन् । जबरा गत वैशाख १२ गते १० दिने पाकिस्तान भ्रमणमा निस्कँदै थिए, तर सोही दिन आएको विनाशकारी महाभूकम्पका कारण उनको भ्रमण रद्द भयो ।

जबराले प्रधानसेनापतिको हैसियतमा नेपाली सेनासँग खासै सम्बन्ध नभएका माल्दिभ्स, मलेसिया, यूएई, केन्या, श्रीलंकाजस्ता मुलुकको समेत भ्रमण गरेका छन् । मलेसिया, श्रीलंकाजस्ता मुलुकबाट सैनिकहरू नेपालमा स्टाफ कलेजलगायत कोर्स गर्न आउनेबाहेक अरू खासै सम्बन्ध छैन । सैनिक उच्चस्रोतका अनुसार सेनापतिका रूपमा माल्दिभ्स, यूएई, केन्याजस्ता मुलुकमा भ्रमण गर्नेमा सम्भवत: जबरा पहिलो हुन् । जबरा कंगोस्थित नेपाली शान्ति सैनिक मिसनको निरीक्षणमा जाने क्रममा घुमघामका लागि केन्या गएका हुन् ।

जबराको पछिल्लो भारत भ्रमणको उद्देश्य खुलेको छैन । आगामी भदौ २५ मा अवकाश पाउने जबराले त्यसको एक महिनाअघि साउन २५ मै बिदा बसी वरिष्ठ सैनिक अधिकृतलाई कायममुकायम प्रधानसेनापति तोक्नुपर्ने छ ।

 

प्रधानसेनापति जबराका विदेश भ्रमणहरू

मिति   देश उद्देश्य

२०६९ कात्तिक २०–२३  अस्ट्रेलिया १५ औं चिफ अफ डिफेन्स सम्मेलन

२०६९ मंसिर १०–१९  भारत पारिवारिक भेटघाट

२०६९ पुस २२–माघ २  भारत मानार्थ महारथीको उपाधि लिन

२०७० साउन ४–१३  चीन  जनमुक्ति सेनाका प्रमुखको निमन्त्रणामा

२०७० भदौ २१–२७ बेलायत  बेलायती सेना प्रमुखको निमन्त्रणामा

२०७० असोज १३–१९ भारत  सूर्यकिरण अभ्यास–५ अवलोकन

२०७० माघ १५–१८        माल्दिभ्स  माल्दिभ्सका रक्षा प्रमुखको निमन्त्रणामा

२०७० माघ १८–२३ श्रीलंका  श्रीलंकाली सेना प्रमुखको निमन्त्रणामा

२०७१ वैशाख १–४मलेसिया  मलेसियाका सेना प्रमुखको निमन्त्रणामा

२०७१ वैशाख १३–२९ अमेरिका    नेपालस्थित अमेरिकी राजदूतको निमन्त्रणामा

२०७१ जेठ २७–असार ३   भारत मिलटरी एकाडेमी रिभ्युइङ अफिसरका रूपमा

२०७१ भदौ १५–१९ कंगो  राष्ट्रसंघीय मिसनको निरीक्षण भ्रमण

२०७१ भदौ १९–२१ दक्षिण सुडान   राष्ट्रसंघीय मिसनको निरीक्षण भ्रमण

२०७१ भदौ २२–२८ केन्या  मिसन निरीक्षण भ्रमणकै क्रममा घुमघाम

२०७१ कात्तिक १७–२० ब्रुनाई एसिया प्रशान्त क्षेत्रका सेना प्रमुखको सम्मेलन

२०७१ फागुन १०–१४ यूएई युएइको सशस्त्र बलका प्रमुखको निमन्त्रणामा

२०७१ फागुन २६–२८ बंगलादेश बंगलादेशी सेना प्रमुखको निमन्त्रणामा

२०७१ चैत १२–२२अमेरिकासंयुक्त राष्ट्रसंघ सचिवालयको निमन्त्रणामा

२०७२ असार ११–१४ भारत व्यक्तिगत भ्रमण

जम्मा १ सय २८ दिन