‘नाइजेरियामा अपहरित युवालार्इ मेस्सीले बचाए’

0 9
एजेन्सी : स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने अर्जेन्टाइन स्ट्रार्इकर लियोनेल मेस्सीको नाम नसुन्ने कमै होलान् । विश्वभर उनका करौडौं फ्यान छन् ।

मेस्सी फुटबलमा जति जादु गर्छन् त्यति नै मिलनसार र सहयोगी स्वभावका कारण उनी फुटबल प्रेमीमाझ छाएका छन् ।

अहिले चिलीमा जारी कोपा अमेरिकामा ब्यस्त भएका मेस्सीसँग जोडिएको एउटा रोचक घटना सोमबार सार्वजनिक भएको छ ।

बोको हरामजस्तो विद्रोही समूहले आतंक मच्चाइरहेको नाइजेरियामा २४ जुनका दिन अर्जेन्टिनाकै २८ वर्षीय कृषि इन्जिनियर स्यान्टियागो लोपेज मेनेन्डेज नाइजेरियाको उत्तर-पश्चिमी सहर कोन्टागोराबाट अपहरणमा परे ।

हतियारधारी समूहले उनलार्इ काम गरिरहेकै अवस्थामा अपहरण गरी लग्यो । अपहरण गरी बन्धक बनाएपछि अपहरणकारीले उनलार्इ निरन्तर कुटपिट गरिरहे ।

एक वर्षदेखि अफ्रिकी मुलुकमा काम गरिरहेका उनलार्इ हतियारधारीले हत्या गर्ने उद्धेश्यले कुटपिट गर्दा पटक पटक जीवनको भिख मागे । उनले बन्धक बनाउनेसँग अंग्रेजी बोलेर स्पष्टिकरण दिँदा पनि उनीमाथि अपहरणकारी जाइ लागिरहे ।

अपहरणकारीसँग अंग्रेजीमा कुरा गर्दा नबुझेपछि यी अर्जेन्टाइन इन्जिनियर मेनेन्डेजले जीवनको भिख माग्दै आफ्नै देशका चर्चित फुटबलर लियोनेल मेस्सीको नाम लिन पुगे ।

यातना पाइरहँदा मेनेन्डेजले रुँदै पटक पटक भने, ‘मेस्सी, मेस्सी, मेस्सी ।’  मेस्सीको नाम लिएपछि अपहरणकारीले उनलार्इ कुटपिट गर्न छाडे ।

हजारौं पटक जीवनको भिख माग्दा नगलेका अपहरणकारी अन्तत: मेस्सीको नाम लिएपछि उनलार्इ जीवनदान दिन तयार भए । जीवनको माया मारेका मेनेन्डेजले मेस्सीको नाम लिएपछि आफ्नो ज्यान बचाए ।


नाइजेरियामा अपहरणमा परेका मेनेन्डेज
तीन दिनसम्म बन्धक भएका मेनेन्डेजलार्इ उनी कार्यरत कम्पनीले अपरहणकारीलार्इ फिरौती दिइ मुक्त गराउन सफल भयो ।

अपहरणमुक्त भएपछि मेनेन्डेजले अर्जेन्टिनामा रहेका उनका भाइ जर्ज क्लारिनसँग कुरा गर्दै मेस्सी नाम लिँदा आफ्नो ज्यान जोगिएको भन्दै मेस्सीप्रति आभार व्यक्त गरे । ‘म मेस्सीप्रति आभारी छु’, उनले भाइसँग भने, ‘जीवनको माया मारिसकेको मैले मेस्सीको नाम लिएकैले मेरो ज्यान जोगियो ।’

अपहरणमुक्त भएपछि मेनेन्डेज अहिले सुरक्षित छन् । उनी केही दिनमै आफ्नो देश अर्जेन्टिना फर्कने तयारीमा रहेका छन् ।