‘मदन भण्डारी पत्रकारिता पुरस्कार’ अधिकारीलाई

0 2

काठमाडौँ : मदन भण्डारी मेमोरियल कलेजद्वारा प्रदान गरिने ‘मदन भण्डारी राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार’ यस वर्ष गोरखापत्र दैनिकका समाचारदाता प्रकृति अधिकारीलाई प्रदान गरिएको छ ।

कलेजको चौधौँ वार्षिकोत्सव तथा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको जन्म दिनको अवसरमा सोमबार डेढ दशकदेखि शिक्षा विटमा कलम चलाउँदै आएका पत्रकार अधिकारीलाई एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गरिन । पुरस्कारको राशि २५ हजार छ ।

कलेजका संरक्षकसमेत रहेकी उपाध्यक्ष भण्डारीले अहिलेको शिक्षा जनमुखी र गुणस्तरीय तथा रोजगारमूलक व्यावहारिक शिक्षा हुनुपर्ने बताइन ।

भण्डारीले शिक्षाले मात्र आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न सक्ने बताइन । उनले मुलुक विपत्का अवस्थामा रहेको हुँदा व्यक्ति र पार्टी स्वार्थभन्दा माथि उठेर पुनःनिर्माणमा जुट्नसमेत सबैलाई आग्रह गरिन ।

कलेजमा अध्ययनरत विभिन्न सङ्कायका उत्कृष्ट विद्यार्थीलाई समेत  पुरस्कार प्रदान गरिएको थियो । मदन भण्डारी कलेजमा हाल कक्षा ११ देखि स्नातकोत्तरसम्मका विज्ञान, मानविकी, व्यवस्थापन विषयमा अध्ययनअध्यापन गरिन्छ ।

भविष्यमा राष्ट्रिय आवश्यकता परिपूर्ति गर्न अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालय स्थापना गर्ने योजना रहेको कलेज व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी शर्माले बताए ।

कलेजका प्राचार्य डा धु्रव कार्कीले शिक्षाले नै समाज रुपान्तरण गर्नसक्ने भएकाले कलेजले दक्ष जनशक्ति तयार गर्न गुणस्तरीय शिक्षालाई जोड दिएको बताए ।