मधेसी दल असहमति राख्दै प्रक्रियामा सहभागी हुने

0 3

काठमाडौं, असार १४ – सोह्रबुँदे सहमतिसँग असन्तुष्ट मधेस केन्दि्रत दलहरूले प्रस्तावित संविधानका धाराहरूमा असहमति राखेर भए पनि प्रक्रियामा सहभागी हुने संकेत गरेका छन् ।

सोह्रबुँदेको विरोधमा तीव्र प्रतिक्रिया दिएका उनीहरूले आवश्यक परे संविधानसभा नै त्याग्ने बताएका थिए । तर त्यसपछि लगातार बसेका संविधानसभा समितिहरूमा उनीहरूले असहमति राख्दै भए पनि सहभागिता जनाइरहेका छन् । सोमबार बस्ने संविधानसभामा पनि आफूहरूको सोही भूमिका रहने उनीहरूले संकेत गरे ।

मस्यौदा समितिको शनिबारको बैठकमा मधेस केन्दि्रत असन्तुष्ट दलहरूले फरक धारणासहित भाग लिएका थिए । प्रदेशसभाको अधिकार केन्द्रबाट नियन्त्रित हुने गरी मस्यौदामा प्रस्ताव ल्याइएको, अन्तर्राष्ट्रिय सम्बन्ध निर्माणमा प्रदेशसभाले भूमिका पाउनुपर्नेलगायत फरक मत पेस गरेका थिए ।

‘आगामी बैठकहरूका लागि सम्पूर्ण रणनीति बनाइसकेका छैनौं, तर तत्कालै सभा बहिष्कार गर्नेबारे छलफल भएको छैन,’ समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले आइतबार भने, ‘हामीलाई प्रक्रियाबाट गलहत्याउने, औचित्यविहीन बनाउने प्रयास गरिएमात्रै बाहिर आउने हो । नत्र प्रक्रियाभित्रै रहेर विरोध जनाउँदै अघि बढ्छौं ।’

संविधानसभाभित्रका छलफलहरूमा सक्रियतापूर्वक भाग लिनेमध्येका एक सद्भावना पार्टीका सहअध्यक्ष तथा संसदीय दलका नेता लक्ष्मणलाल कर्णले मुख्य दलहरूले पेलेर जाने अवस्था देखिएमात्रै प्रक्रियाभन्दा बाहिर आउने, नत्र सभाभित्रै आफ्ना फरक धारणाहरू दर्ज गराउँदै जाने बताए । बदलिएको परिस्थितिमा सभाभित्र कसरी प्रस्तुत हुने भन्नेबारे छलफल जारी रहेको भन्दै कर्णले संघीयतासहितको संविधान आउने सम्भावना कति रहन्छ भन्नेमा आफूहरूको निर्णय भर पर्ने संकेत गरे ।

तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री तथा संसदीय दलका प्रमुख सचेतक सर्वेन्द्रनाथ शुक्लले आफूहरूलाई सभाभित्रका बहसमा यथेष्ट ठाउँ दिइरहेको अवस्थामा प्रक्रियाबाट बाहिरिनुको अर्थ नहुने बताए । मधेसी दलका कतिपय फरक मतलाई मुख्य दलहरूले सकारात्मक ढंगले हेरिरहेको सन्दर्भमा तत्काल सभा बहिष्कार र त्याग गर्नु आवश्यक नभएको उनको भनाइ थियो । ‘प्रक्रियाभन्दा बाहिर जाँदा अखबारमा एक पटकलाई ठूलो समाचार त छापिएला, तर त्यसपछि हराउँछ,’ शुक्लले भने, ‘बरु हामी प्रक्रियामै बस्यौं भने आफ्नो असहमति राख्न पाइरहन्छौं । यदि सभा त्याग नै गर्नुपर्‍यो भने अन्तिम र बाध्यात्मक अवस्थामा मात्रै हो ।’

संविधानसभामा प्रतिनिधित्व गर्ने असन्तुष्ट मधेसी दलमध्ये समाजवादी फोरमसँग १५ सिट, तमलोपासँग ११ सिट, सद्भावनासँग ६ सिट, तराई मधेस सद्भावना पार्टीसँग ३ सिट गरी जम्मा ३५ सिट छ । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकले सोह्रबँुदे सहमतिको फरक मतसहित समर्थन गरेका छन् । उनीहरूसँग १८ सिट छ ।

यसैबीच, असन्तुष्ट मधेसीले मोर्चाको बैठक सोमबार मध्याहन सिंहदरबारमा राख्दैछन् । बैठकले सोमबारै बस्ने सभा बैठकका लागि रणनीति बनाउने तीन ठूला मधेसी दलका नेताले जनाए । आठ दलीय मधेसी मोर्चाबाट गच्छदार निष्कासित गरिएकाले बाँकी ७ दललाई खबर गरिएको स्रोतले जनायो ।