कर बढ्ने हल्लाले चुरोट अभाव

0 4

काठमाडौं, असार १४ – बजेटमा अन्त:शुल्क बढाइने अनुमानले व्यापारीले चुरोटको कालोबजारी सुरु गरेका छन् । उत्पादक, वितरक, थोक विक्रेतादेखि खुद्रा व्यापारीले समेत लुकाएको पाइएको छ । कोही किन्न आउनेलाई उनीहरू महँगोमा बिक्री गर्ने गरेको व्यापारी नै स्विकार्छन् ।

‘बजेटपछि चुरोटको भाउ बर्सेनि बढ्ने गरेको छ । त्यसैले कम्पनी/डिलरले स्टक राख्ने गरेका छन् । खुद्रा व्यापारीलाई पनि दिएका छैनन्,’ खुद्रा व्यापार संघका अध्यक्ष पवित्रा बज्राचार्यले भने, ‘असर अहिले बजारमा देखिन थालिसकेको छ ।’

विगतका वर्ष हरेकपल्ट धूमपान तथा मदिराजन्य पदार्थमा अन्त:शुल्क वृद्धि हुँदै आएको छ । यसपालि पनि वृद्धि हुने हल्ला छ । हल्लाले व्यापारीले बढी नाफा कमाउन कृत्रिम अभाव गराएका हुन् । ‘असार सुरुदेखि नै अभाव देखिएको छ,’ तिनकुनेस्थित खुस्बु किराना स्टोरका सञ्चालक जितु साहले भने, ‘अहिले त किन्नै पाइँदैन ।’ उनका अनुसार हरेक वर्ष एउटा बट्टामा ८ देखि १० रुपैयाँ बढदै आएको छ ।

कृत्रिम अभाव भएपछि केही खुद्रा पसलमा चुरोट पाइँदैन । यी सामान पाइहाले पनि बजार मूल्यभन्दा बढी तिर्नुपर्छ । केही व्यापारीले एउटा खिल्ली मात्रै दिने गरेका छन् । ‘हामीले थोकबाट एक बट्टा चुरोटमा १० रुपैयाँसम्म बढी तिरेर खरिद गर्ने गरेका छौं,’ साहले भने, ‘त्यसको मार उपभोक्तामा पर्ने भइहाल्यो नि ।’ उनका अनुसार १ सय ४० रुपैयाँ पर्ने बट्टा १ सय ५० रुपैयाँभन्दा बढीमा खरिद बिक्री हुने गरेको छ ।

यस्तै सुकेधाराका व्यापारी सुधीर महर्जनको भनाइ पनि उस्तै छ । उनले दुई साताबाट चुरोटको अभाव भएकाले कालोबजारी सुरु भएको बताए । ‘चुरोटमा कृत्रिम अभाव भएको छ । केहीले महँगोमा बेच्ने गरेका छन् । केही ग्राहकलाई रित्तै फर्काउनुपरेको छ,’ उनले भने, ‘सहज बनाउन होलसेल/वितरणको गोदाममा अनुगमन गर्नुपर्छ ।’ उपभोक्तावादी संघसंस्थामा यसबारे दर्जनौं गुनासा आइसकेका छन् । यस्तै कृत्रिम अभावबारे प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ । कार्यालयले वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागलाई अनुगमन गर्न भनेको छ ।

‘बजेट ल्याउन लागेको र बजेट भाषणपछि मूल्य बढ्ने हल्लाले बजारमा चुरोट र सुर्तीजन्य पदार्थको कृत्रिम अभाव गरिएको छ । समान लुकाइएको छ । भाउ बढ्ने हल्लाले कृत्रिम अभाव बनाइएको छ । बढी मूल्य तिर्नेलाई सजिलै समान दिइएको छ । यससम्बन्धी राज्यले जतिसक्दो चाँडै कदम चाल्नुपर्छ,’ उजुरीमा भनिएको छ ।

यस्तै नुवाकोट जिल्लाको सूर्य टोबाको डिलर विनोदराज श्रेष्ठले काठमाडौंमा गोदाम भाडामा लिएर चुरोटको स्टक राखेको उजुरीमा उल्लेख छ । वाणिज्य विभागले सुर्ती चुरोटमा अन्त:शुल्क लाग्ने भएकाले ती वस्तुको अनुगमन क्षेत्र आन्तिरक राजस्व विभाग र अन्तर्गतका कार्यालय भएको उल्लेख गर्दै आन्तरिक राजस्व विभागलाई पठाएको छ ।

‘अन्त:शुल्क लाग्ने भएकाले ती वस्तुको अनुगमन आन्तरिक विभागले हेर्छ । तोकिएको अनुसार मापदण्ड पूरा गरे/नगरेको वाणिज्यले हेर्ने हो,’ अनुगमन शाखा निर्देशक हरिनारायण बेल्बासेले भने, ‘थप प्रक्रियाका लागि आन्तरिक विभागमा पठाएका छौं ।’ व्यवसायीले चुरोटको गोदाम कहाँबाट लिएको, कति सामान आएको भन्ने सबै तथ्यांक आन्तरिक राजस्व विभागले राख्ने भएकाले पत्र पठाएको उनले बताए ।

यता आन्तरिक राजस्व विभागका उपमाहानिर्देशक तथा प्रवक्ता चन्द्रकला पौडेलले जानकारी प्राप्त भए अनुगमन गर्ने बताइन् । उनले संयुक्त रूपमा बजार अनुगमन गरिने बताइन् । ‘अनुगमन भन्ने कुरा सबै निकायले गर्नुपर्छ । वाणिज्य र आन्तरिक विभागको संयुक्त टोलीले अनुगमनले उत्पादक, वितरक पहिचान गर्न सजिलो हुन्छ,’ उनले भने ।