पतिको सम्पत्ति कुम्ल्याएर पत्नी पोइल हिँडेपछि……..

0 9
मलेसियामा पसिना बगाएर नर्स बनाएकी सुमित्राले धोका दिँदा
मलेसिया : मलेसियाको जोहरस्थित क्यवेज सेक्युरिटी कम्पनीमा कार्यरत भोजपुरको नागी गाविसका उदय हाङ राई केही महिना अघिदेखि मानसिक रोगीजस्तै भएका छन् ।

उनी अहिले खाना खाने र ड्युटी जाने समय पनि भुल्न थालेका छन् । पैसा कमाएर घरबार सुन्दर बनाउने सपना साँचेर मलेसिया आएका राईकी पत्नी पोइल हिँडेपछि उनी विक्षिप्त भएका हुन् ।

केही वर्षअघिमात्रै बैबाहिक जीवन शुरु गरेर पैसा कमाउन मलेसिया पसेका थिए । उनी मलेसिया आएर कमाएको सबै सम्पत्ती लिएर पत्नीले अर्कैसँग बाटोे तताएपछि भाइ मानसिक रोगी बनेको उनका दाजु भीम राईले बताए ।

नाबालक छोरो बेवारिसे छाडेर पत्नी मैया महिना दिनअघि उनकै छिमेकी अधिराज काङमाङसँग पोइल हिँडेकी हुन् ।

‘सबै सम्पत्ती लिएर पत्नी छिमेकीसँग पोइल हिँडेपछि भाइ मानसिक रोगी बनेको छ’, दाजु भीमले भने, ‘भाइले कमाएको पैसा घर पठाएको केही दिनमै बुहारी पोइल हिँडिछ ।’

तीन वर्षको नाबालक छोरो घरैमा छाडेकी मैयाले करिब ६ लाख रुपैयाँ र सुनचाँदी सबै कुम्ल्याएर हिँडेकी छन् ।

‘मलेसियामा कमाएर भाइले पठाएको सबै सम्पत्ती बुहारीले कुम्ल्याएर पोइल गएपछि घरमा नाबालक भतिजको बिजोग भएको छ’, भीमले भने, ‘सबै अचल सम्पत्ती पनि मैयाकै नाममा भएकाले झन समस्या थपिएको हो ।’

पोइल हिँडेपछि मैयाविरुद्द उदयका परिवारले दिएको उजुरी प्रहरीले लिन मानेको छैन । संघीय समाजवादी फोरमका एक केन्द्रीय नेताको दबाबमा प्रहरीले उजुरी लिन नमानेको आरोप भीमले लगाए ।

प्रहरीमा उजुरी गर्न गए मार्ने धम्की मैयालाई लाने अधिराजका परिवारले दिइरहेको उनले बताए । यता मलेसियामा रहेका उदयको अवस्था दिनदिनै बिग्रँदै गएकाले झनै समस्या भएको छ ।

मलेसियाको सेलेङ्गर राज्यमा काम गर्दै आएका उनले मानसिक समस्याकै कारण काम नगरेको भन्दै जोहरमा सारिएको छ ।

मानसिक रोगी बनेका उनको उपचारमा समस्या भएको दाजु भीमले गुनासो पोखे । ‘भएको सबै पैसा नेपाल पठाइयो, यता भाइले काम गर्न सकेको छैन’, उनले भने, ‘मलेसियामा उपचार महंगो हुँदा थप समस्या परेको छ ।’

‘मलेसियामा घोटिएर नर्स बनाएकी पत्नी पोइल हिँडिन्’
यता मलेसियामै रोजगारी गरिरहेका भोजपुरको भुल्के गाविसका राजन गिरीको व्यथा पनि उदयको भन्दा कम छैन । बिराटनगरमा डेराको व्यवस्था गरेर नोबेल मेडिकल कलेजमा नर्सिङ पढिरहेकी पत्नी सुमित्रा गिरीले अर्कैसँग बाटो तताएपछि उनी मर्नु न बाँच्नु भएका छन् ।

मलेसियामा रोजगारी गरिरहेका राजन गिरी
मलेसियामा दिनरात पसिना बगाएर कमाएको पैसाले नर्सिङ पढाएकी पत्नी पोइल हिँडेपछि उनको दिनरात एकै भएको छ ।

११ महिनाअघि मलेसिया आएका उनकी पत्नीले पछिल्लो समय फोनमा दिनुहँ झगडा गरिरहेकी थिइन् । दिनहुँ फोनमा झगडा गरेपनि समस्या समाधान हुने सोचेका उनी अहिले छाँगाबाट खसेझैँ भएका छन् ।

सुमित्राले पोइल जाँदा पतिले मलेसियामा कमाएको पैसा र ४ तोला सुन लिएर हिँडेकी राजनको भनाइ छ । बिहे गरेपछि प्लस टुदेखि नर्सिङसम्म पढाएकी पत्नी कमाउने भएपछि आफ्नोसेमत सम्पत्ती लिएर हिँडेकाले आफूलार्इ ठूलो संकट आइलागेको राजन बताउँछन् ।

पत्नीले अर्कैसँग बाटो तताएपछि उनको परिवारले विराटनगरस्थित प्रहरीमा उजुरी पनि गरेका छन । राजनकी बहिनी हिरा गिरीले प्रहरीमा उजुरी दिएपनि अहिलेसम्म खोजतलास भएको छैन ।

वैदेशिक रोजगारीकै कारण युवाहरुको घर भत्किनु राम्रो नभएको मलेसियामा कार्यरत पत्रकार भूमिराज पराजुली बताउँछन् । रोजगारीको अभावमा विदेशिने युवाको घर भत्किँदा समाजमा ठूलो समस्या आउन सक्ने पराजुलीको भनाइ छ ।