जमिम शाहका हत्याका योजनाकार पूर्वडिएसपी चन्द पक्राउ

0 3
काठमाडौं : सञ्चार उद्यमी जमीम शाहका हत्याका प्रमुख योजनाकार नेपाल प्रहरीका पूर्वडिएसपी जगदीश चन्द पक्राउ परेका छन् ।
कन्चनपुरको महेन्द्रनगर निवासी चन्दलाई महानगरीय अपराध महाशाखा हनुमान ढोकाको टोलीेले शनिबार अपरान्ह नयाँ बानेश्वरमा लुकिरहेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीले चन्दलाई फरार अभियुक्तको सूचीमा राखेर लामो समयदेखि खोजिरहेको थियो । प्रहरीले उनलाई आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जानकारी दिएको छ ।
शाहको हत्या गरेदेखि फरार रहँदै आएका उनलाई प्रहरीकै उच्च अधिकारीले संरक्षण दिएको आरोप लाग्दै आएको थियो । जमीमको हत्यापछि उनी भारतको नयाँ दिल्ली, लखनउ र काठमाडौंमै लुकेर बस्दै आएका थिए । उनी नेपाल र भारतमा ओहोर दोहोर गरिरहँदा पनि प्रहरीले पक्रन सकेको थिएन ।

२०६६ माघ २४ गते मध्यान्ह साढे २ बजे लाजिम्पाटमा गोली हानेर जमीमको हत्या गरिएको थियो। भारतीय कारागारमा रहेका अपराधी बब्लु श्रीवास्तवको निर्देशनमा भारतीय नागरिकहरु बब्बु भनिने त्रिलोक सिंह, अशोक सिंह र मोहम्मद वकारलगायतले जमिमको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

प्रहरीले पूर्व डिएसपी जगदीश चन्द र कार्गो व्यापारी श्रीकृष्ण पौडेलले योजना बनाइ उनीहरूलाई सघाएको पत्ता लगाएको थियो ।

हत्यापछि अनुसन्धानबाट खुलेका अभियुक्तहरुविरुद्धको अभियोगपत्रका आधारमा जिल्ला अदालत काठमाडौंले डिएसपी चन्द र पौडेलविरुद्ध पक्राउ आदेश जारी गरेको थियो ।

सोही आधारमा प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले उनीहरूविरुद्ध रेडकर्नर नोटिस जारी गर्न पत्राचार गरेको थियो।

रेड कर्नर नोटिसमा जगदीशको ठेगाना बैतडी अस्कोट गाविस उल्लेख थियो । श्रीकृष्णको ठेगाना नुवाकोट काउले गाविस उल्लेख थियो ।

प्रहरीले जमिमको हत्यामा सहयोग गरेको अभियोगमा नेपाल प्रहरीका सई प्रकाश क्षेत्री र किशोर खड्कासहित तीनजनालाई पनि पक्राउ गरेको थियो। पक्राउ परेका तीनै अभियुक्तलार्इ कारागार पठाइएको थियो ।

पानीपोखरीस्थित घर जान हिँडेका जमिममाथि दिउँसै मोटरसाइकलमा आएका दुई भारतीयले गोली हानेका थिए। गोली लागेर जमिम र उनका ड्रार्इभर मधुरा मालाकार घाइते भएका थिए। उपचारका लागि अस्पताल लगेको एक घन्टापछि जमिमको ज्यान गएको थियो ।