राहत दुरुपयोगको सूचना तत्काल दिनुस् : प्रधानमन्त्री

0 4

काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितका लागि आएको राहत रकम र सामग्रीको दुरुपयोग भएको सूचना तत्काल दिन आग्रह गरेका छन् ।

राहत दुरुपयोग भएको सूचना पाएमा तुरुन्त प्रधानमन्त्रीको कार्यालय तथा सरकारी निकायमा दिन आग्रह गर्दै उनीहरुमाथि सरकारले तत्काल कारबाही थाल्ने बताए ।

प्रधानमन्त्री कोइरालाले सो कुरा भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग रकम प्रदान गर्न आएका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित कार्यक्रममा बताएका हुन् ।

उनले हरेक व्यक्ति र संस्थाले आफ्नो भाग काटेर पीडितलाई मानवीय सहयोगका लागि दिएको रकम र राहत सामग्री हिनामिना र दुरुपयोग हुन नदिने स्पष्ट पारे ।

सो अवसरमा उनले दाताहरुले पनि आफूले दिएको रकम सदुपयोग भए नभएको हेर्नुपर्ने उल्लेख गरे ।

नागरिक उड्डयन प्राधिकरणको तीन करोड सहयोग
भूकम्पपीडित नेपालीको राहत र पुनःस्थापना कार्यलाई सघाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु तीन करोड प्रदान गरेको छ ।

प्राधिकरणका नवनियुक्त महानिर्देशक सञ्जीव गौतमले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरे । सो अवसरमा प्राधिकरणका उपमहानिर्देशकसहित कर्मचारी युनियनका अध्यक्ष र अन्य कर्मचारी पनि उपस्थित थिए ।

काठमाडौँ शिक्षाबाट एक करोड ३० लाख
भूकम्पपीडित नेपालीलाई राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउन जिल्ला शिक्षा कार्यालय काठमाडौँले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ३० लाख ८० हजार ८७२ रुपैयाँ ३६ पैसा सहयोग गरेको छ ।

काठमाडौँका जिल्ला शिक्षा अधिकारी दिनेशकुमार श्रेष्ठले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरे ।  सो रकम जिल्ला शिक्षा कार्यालयमा कार्यरत कर्मचारी र काठमाडौँका सम्पूर्र्ण सामुदायिक विद्यालयमा कार्यरत शिक्षकबाट सङ्कलन गरिएको हो ।

लुम्बिनी बैंकले दियो एक करोड दुई लाख
भूकम्पपीडित नेपालीको सहयोगार्थ लुम्बिनी बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड दुई लाख २२ हजार २२२ प्रदान गरेको छ । बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका हुन्  –