वर्षा रोकिएपछि सुदूरपश्चिमको जनजीवन सामान्य बन्दै

0 3
धनगढी : लगातार तीन दिनसम्म भएको वर्षाका कारण सुदूरपश्चिममा दुईजनाको ज्यान गएको छ। अछाम र डोटीमा घर भत्किएर दुईजनाको ज्यान गएको हो। अछामको वीरपथ गाविस १ का कमल खड्काका ९ वर्षीय छोरा लालबहादुर खड्काको शुक्रबार राति घर भत्किएर ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार लगातारको वर्षाले घर भत्किन थालेपछि घरका अरू बाहिर निस्कन सफल भए पनि लालबहादुर भने भित्रै च्यापिएका थिए।
यस्तै डोटीको बारपाटा १ का ५२ वर्षीय परि बलायरको पनि घरमा पुरिएर ज्यान गएको छ। बिहीबार रातिको अविरल वर्षाका कारण उनी बसेको घर भत्किएको हो। जिल्ला प्रहरी कार्यालयले बलायर एक्लै घरमा रहेकाले उनको मात्रै ज्यान गएको जनाएको छ।
शुक्रबार बेलुकादेखि पानी पर्न छोडेपछि सुदूरपश्चिमको जनजीवन सामान्य बन्दै गएको छ। नदीहरूमा बढेको जलस्तर घटेको छ भने डुबानमा परेका बस्तीहरूको पनि जनजीवन सामान्य बन्दै गएको छ।
शुक्रबार बेलुकासम्म साढे सात मिटर पानीको सतह रहेको कर्णालीमा शनिबार दिउँसो घटेर सात मिटरमा झरेको छ। महाकालीमा पनि पानीको सतह सामान्य बन्दै गएको छ। शुक्रबार अढाइ लाख क्युसेक बहाव रहेको महाकालीको पानी शनिबार दुई लाखभन्दा तल झरेको छ।
महाकालीको बाढीले शुक्रबार दार्चुलाको अपि नगरपालिका ११ वंगावगडका गणेशसिंह बोहोरा, हर्क महरा र गजैसिंह महराको घर बगाएको थियो। यस्तै सोही ठाउँका एक दर्जनभन्दा बढी घर जोखिममा रहे पनि पानी पर्न रोकिएपछि स्थानीय बासिन्दालाई केही राहत पुगेको छ।
महाकालीको बाढीले दार्चुलामा भइरहेको तटबन्ध निर्माणको काम प्रभावित भएको छ। महाकालीले सदरमुकाम नजिकैका वंगावगड, खलंगा र गल्फै क्षेत्रमा नदी नियन्त्रणका लागि राखिएका कुमार राजेन्द्र जेभी र लुम्बिनी राजेन्द्र जेभीका निर्माण सामग्री, सिमेन्ट, मिक्चर मेसिन एक थान र भाइब्रेटर बगाएपछि निर्माण प्रभावित भएको हो।
महाकालीको पानीको सतह घटे पनि दार्चुला सदरमुकाम खलंगाका बासिन्दामा त्रास कायमै छ। सदरमुकाम क्षेत्रको जोखिम अझै नटरेकाले उनीहरू त्रसित भएका हुन्। कैलालीमा डुबान भएका बस्तीहरूमा पनि पानीको सतह घटिरहेको जानकारी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरीउपरीक्षक विक्रम चन्दले दिए।
यसैगरी वर्षासँगै खोलामा आएको बाढीले बगाएर मध्यपश्चिममा एकजनाको मृत्यु भएको छ भने दुईवटा घर भत्किएका छन्। दैलेखको पिलारी ३ की ४० वर्षीया उषा दमाईलाई गर्चे खोलाले बगाएर मृत्यु भएको जानकारी मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायबमहानिरीक्षक केशव अधिकारीले दिए। खोला तर्ने क्रममा दमाईलाई बगाएको हो।
जुम्लाको लाम्रा ८ धौलापानीमा रहेको बचत तथा ऋण सहकारी संस्थाको दुईतले भवन क्षति भएको छ। सुर्खेतको सहारे गाविसको बोटेचौरमा एउटा घर भत्किएको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ। बाढीका कारण बाँके र बर्दियामा भने एक सय ५० घर डुबानमा परेका छन्।