पालको बास कहिलेसम्म ?

0 14

धादिङ, असार १३ – ‘अध्यक्ष खोइ ?’ प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सोधे । हाँस्दै देखिए दाउद तामाङ ।

दाउद कुनै गतिलो आयोग, संस्था वा समितिका अध्यक्ष होइनन् । हुन् आफूजस्तै स्वदेशी शरणार्थी समुदायको भरअभर रेखदेख गर्ने अभिभावक । महाभूकम्पका कारण गाउँ पहिरोले बगाएपछि धादिङ सदरमुकामको काँठ दामगाडेमा राखिएको शिविरका अध्यक्ष ।

‘म पनि लामै अध्यक्ष हुन्छुजस्तो छ,’ ठट्टा गर्न सिपालु उनले जोडे, ‘न यो पद कसैले माग्छ, न सरकारले हटाइदिन्छ ।’

अर्थात्, महाभूकम्पबाट विस्थापित भई त्रिपालका शिविरहरूमा बस्दै आएकाहरूको पुन:स्थापना अनिश्चित छ । ‘जिल्लामा सबैभन्दा ठूलो समस्यै यही छ,’ प्रजिअ घिमिरेले भने, ‘बर्खा लाग्यो, पालमा राखिरहन गाह्रो छ, लैजान कहाँ लैजानु ? सम्बन्धित गाउँमा फर्काउने अवस्थै छैन ।’

अध्यक्ष दाउदका अनुसार दामगाडे शिविरमा १ सय १६ परिवार छन् । तीमध्ये अधिकांश री गाविस वडा नम्बर ९ र ५ का हुन् । बाँकी केही लापा–२ का । ‘भूकम्प र पहिरो मिलेर के गर्‍यो के ?’ उनले फेरि ठट्टै गरे, ‘गाउँ चिरा–चिरा पार्‍यो । त्यसभन्दा धेरै हाम्रो मन पो चिरा पार्‍यो ।’

महाभूकम्पका विस्थापितलाई कहाँ र कसरी पुन:स्थापना गर्ने भन्ने केन्द्रमा सरकारले नीति बनाउन सकेको छैन । धादिङ प्रशासन पनि त्यही अन्योलमा गुज्रिरहेछ । बढी विकट र अति प्रभावित उत्तरी धादिङका ५ हजार ८ सय ७४ मध्ये करिब हजार परिवार विस्थापित भई विभिन्न शिविरमा पुगेका छन् । बाँकी पनि गाउँकै खाली जमिन वा जंगलतिर समस्याग्रस्त अवस्थामा जीवन गुजारिरहेका छन् ।

जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार १३ गाविसका ४ सय ८९ परिवारका २ हजार ३ सय ५६ जना सदरमुकाम आसपासमा ८ वटा शिविर बनाएर बसेका छन् । सदरमुकाम नजिकका दामगाडे, कुमालगाउँ, धनसार बेंसी, पहरेलगायत ठाउँ टेन्ट र त्रिपालका अस्थायी टहराले रंगिएका छन् । अल्छिडाँडामा बनाइएको खेल मैदान झार्लाङ र सेर्तुङका ५८ परिवार भूकम्पपीडितले ओगटेका छन् । विकट बस्तीहरू छाडेर शिविरमा थपिनेको संख्या बढदो छ ।

सिंगै री गाविस पहिरोको जोखिममा छ । लापाको वडा नम्बर २ को ठूलोगाउँबाहेक अन्यत्रबाट सबैले छाडिसकेका छन् । ती सबैको बास शिविरमै छ । सर्वसाधारण विस्थापित भएर शिविरहरूमा गएका अन्य गाविसमा झार्लाङ, तिप्लिङ, सेर्तुङ, गुम्दी, दार्खा, फूलखर्क, ढोला, कटुन्जे, ज्यामरुङ, त्रिपुरेश्वर, बसेरी, सत्यदेवी, धुवाकोटलगायत छन् ।

दाताको भरमा गुजारा

प्रजिअ घिमिरेले दामगाडी शिविर अनुगमनमा जाँदा ‘कोसेली स्वरूप’ ५० पोका खानेतेल लगेका थिए । त्यही दिएर फर्कन लाग्दा गाडी ढकढक्याउँदै अध्यक्ष दाउद आए । ‘एक सय १६ परिवारलाई एक–एक पोका भए बाँड्न पाइन्थ्यो,’ उनले आग्रह गरे, ‘कसो गरौं सीडीओ साब ?’

‘अहिले यति छ,’ प्रजिअले भने, ‘राख्दै गर्नुहोस् । दिउँसो व्यवस्था मिलाएर १ सय १६ पोका पुर्‍याइदिउँला । अनि, बाड्नू ।’ शरणार्थीको हालतमा शिविर खडा गर्नुपरे पनि सरकारले यदाकदाबाहेक खाद्यान्न र राहत सामग्री उपलब्ध गराउन सकेको छैन । संस्थागत र व्यक्तिगत दाताहरूकै भरमा उनीहरूको गुजारा चलिरहेको छ ।

बर्खासँगै रोगव्याधी बढ्ने सम्भावना छ । कुमालगाउँ शिविरका अध्यक्ष रामबहादुर तामाङले केही बालबालिका बिरामी भएको बताए । ‘अस्पताल जाँदा परिचयपत्र माग्यो,’ प्रजिअसामु उनले भने, ‘दिन नसक्दा पैसा माग्यो । व्यवस्था गरिदिनु पर्‍यो ।’ उनका अनुसार उक्त शिविरमा लापाका १ सय २३ र गुम्दीका १० परिवार बस्छन् । त्यसभन्दा धेरै परिवार गाउँकै जंगलमा बस्छन् । सडकमार्गसमेत अवरुद्ध भएकाले उताकालाई झन् खाद्यान्नको समस्या रहेको उनले जानकारी दिए ।

धनसारबेंसी शिविरमा दाताले एक करोड खर्च गरेर शुद्धीकरणसहितको खानेपानी व्यवस्था गरिदिएका छन् । ‘विभिन्न व्यक्ति आउँछन्, दिन्छन्’, उक्त शिविरका टेकबहादुर तामाङले भने, ‘त्यसैले गुजारा चलेको छ ।’

बर्खासँगै बिजोग

शुक्रबार राति ९ बजे अचानक हावाहुरीसहित ठूलो पानी पर्‍यो । विकट री–९ को किचेतबाट विस्थापन भई अग्लोडाँडा लंगरचेतमा आश्रय लिएकाहरूका तर्फबाट युवा प्रेम तामाङले प्रशासन, सेना र प्रहरीका अधिकारीहरूसँग फोनबाट बिलौना गरे, ‘वर्षातको भेल पसेर अलि–अलि भएको खानपिन र लत्ताकपडा सबै भिजाइदियो । हुरीले त्रिपाल र टेन्ट उडाइदियो । बहुत बिजोग भो ।’ उनले कान्तिपुरलाई बताएअनुसार अब त्यहाँ खाद्यान्नसमेत सकिएको छ । शिविरवरपरै ३ ठाउँमा जमिन भास्सिएको छ । बालबालिकालाई झाडापखाला सुरु भएको छ । उपचार कसरी गराउने, टुंगो छैन ।

उता सेर्तुङ–१ हिङदुङमा बिहीबार रातिदेखिको झरीले ठूलै पहिरो गएको छ । बस्ती छाडेर शुक्रबार सदरमुकामतर्फ हिँडेका त्यहाँका ४० परिवारलाई बीचमै अर्को पहिरोले छेकेको छ । उनीहरूले सेर्तोङमा आश्रय लिएका छन् । ९६ परिवारको बसोबास रहेको उक्त विकट गाउँका ५० परिवार भूकम्पलगत्तै विस्थापित भएका थिए ।

झार्लाङ–७ का ३५ परिवारले गाउँनजिक शरणसम्म पाएनन् । जग्गा सग्ला हुनेहरूले बस्न दिएनन् । दार्खा–८ को धार्ना गाउँ अति जोखिममा परेपछि ६५ परिवार दार्खा सरेका छन् । लंगरचेत, दार्खा, बेंसी, खडकेरी, पामराङ, यार, कन्जराङ, गोराङ, क्युराङलगायतका शिविरमा बस्ने करिब ५ सय परिवारलाई हवाई साधनबाट मात्र खाद्यान्न पुर्‍याउन सकिन्छ । जसले गर्दा उनीहरू खाद्य संकटमा परेका छन् । सबैभन्दा बढी लापाबाट २ सय ३८ परिवार विस्थापित भएका छन् । सबैभन्दा ठूलो शिविर लंगरचेतमा री गाविसका एउटै गाउँका २ सय ४ परिवारले शरण लिएका छन् ।