धरापले छिमेकी घरहरू जोखिममा

0 3

ललितपुर, असार १३ – भूकम्पले धराप बनेका नगर क्षेत्रका ठुलठुला संरचनाहरू नभत्काउदा छिमेकीका सुरक्षित साना घरहरुसमेत जोखिममा परेका छन् । उपमहानगरपालिकाका अनुसार नगर क्षेत्रमा करिब १८ प्रतिशत भवनहरु धराप अवस्थामा (बस्न नमिल्ने) छन् ।

यस्ता धराप भवनहरु भत्काउन उपमहानगरपालिका, सम्बन्धित वडा कार्यालयलगायत जिल्ला प्रशासन कार्यालयमा निवेदनको ओइरो लागेको छ । पाटनका हरिकृष्ण महर्जनले छिमेकीको धराप घरले आफ्नो सानो सुरक्षित घर जोखिममा परेकाले जोखिम संरचना भत्काउन निवेदन दिएको महिनौ दिन बितिसक्दा पनि चासो नदिएको गुनासो गरे । ‘न घरधनीले भत्काउन चासो दिएको छ न नगरपालिकाले नै,’ उनले भने, ‘जोखिम मोल्दै दैनिक आवातजावत गर्न बाध्य छु ।’

उनका अनुसार भुकम्पले क्षतिग्रस्त नगर क्षेत्रका अधिकांश ठुलठुला संरचनाहरु मापदण्ड विपरितका बनेका हुन् । ‘तरपनि भत्काउन नगरपालिकाले वेवास्ता गर्दै आइरहेको छ,’ उनले भने । उपमहानगरको शहरी विकास महाशाखाका वरिष्ठ इन्जिनियर रूद्रप्रसाद गौतमले उपमहानगरपालिकामा भग्नावशेष पन्छाउन, धराप भवन भत्काउन डोजरलगायतका उपकरण नभएकाले भग्नावशेष हटाउन समस्या भएको बताए ।

तर उपमहानगरपालिकाले भने धराप भवनका घरधनी कोहि विदेशमा त, कोहि भाडामा दिएर बाहिर गएकाले भत्काउन समस्या भएको जिकिर गरेको छ ।

तर सरकारको कार्य योजनामा नगर क्षेत्रमा मापदण्ड विपरित निर्माण गरिएका संरचनाहरु सम्बन्धित घरधनीहरुले नभत्काएमा सम्बन्धित नगरपालिकाले भत्काउने र यसका लागि कुनैपनि योजना बनाउनु नपर्ने कुरा उल्लेख छ । सरकारले भुकम्पबाट जोखिम भएका सरचनाहरु चरणबद्ध तरीकाले भत्काउने तयारी गरे पनि उपमहानगरपालिकाको हकमा लागु हुन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले नगर क्षेत्रका मापदण्ड विपरित बनेका धराप संरचनाहरु भत्काउन उपमहानगरपालिकालाई जोखिममा परेका घरहरुको पहिचान गरि पेश गर्न निर्देशन दिइसकेको बताए । ‘सुचि आउने बित्तिकै भत्काउन थाल्छौं’ उनले भने, ‘यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपकरण र टोली माग गरिसकेका छौ ।’