भूकम्पपछि यसरी ब्यूँझियो वसन्तपुर (फोटो फिचर)

0 2

दिवंगतको सम्झनामा अन्नपूर्णको वृहत् कार्यक्रम

काठमाडौं: विनाशकारी भूकम्पछि दुई महिना जति सुनसान जस्तै रहेको वसन्तपुर डबलीमा शनिबार बिहानदेखि नै बेग्लै चहलपहल थियो। हातमा बेलुन लिएर मानिसहरु बिहानदेखि नै बशन्तपुरमा भेला भइरहेका थिए। मध्यान्हसम्म वशन्तपुर पुरै भरिएको थियो। लाग्थ्यो, विनाशकारी भूकम्पपछि बशन्तपुर डबली पहिलोपटक ब्यूँझिएको छ।

साना बालबालिकादेखि वृद्धावृद्धासम्म, उच्च सरकारी अधिकारीदेखि सर्वसाधरणसम्म सबै क्षेत्र, पेसा, समुदायका मानिस भूकम्पमा दिवंगत आत्माहरुको सम्झना र सम्मानका लागि बशन्तपुर पुगेका थिए।
अन्नपूर्ण पोस्ट्को प्रकाशन संस्था तथा रेडियो अन्नपूर्ण नेपालको संचालक अन्नपूर्ण मिडिया नेटवर्कले भूकम्पमा दिवंगत आत्माहरुको शान्ति, सम्मान र सम्झनाका लागि बशन्तपुरमा वृहत् कार्यक्रम आयोजना गरेको थियो। जहाँ करिब नौ हजार बेलुन अनन्त आकाशमा उडाएर दिवंगतहरुको सम्झना गरिएको थियो।
अन्नपूर्ण मिडिया नेटवर्कले विनाशकारी भूकम्प गएकै दिन र समय पारेर एक दिवंगत आत्मा:एक बेलुन हातमा भन्‍ने कार्यक्रम आयोजना गरेको हो। भूकम्पबाट क्षतिग्रस्त बसन्तपुर दरबार क्षेत्रमा शनिबार ११.५६ बजे करिब नौ हजार बेलुन एक साथ उडाएर दिवंगत आत्माहरुको सम्मान गरिएको थियो।

वैशाख १२ गते शनिबार ११ : ५६ बजे गएको विनाशकारी भूकम्प र त्यसपछिको परकम्पमा परी साढे आठ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।  भूकम्पमा दिवंगत आत्माहरुको सम्झना तथा सम्मानका लागि यस्तो वृहत् सहभागितासहित पहिलोपटक कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सहभागी हरेकले दिवंगत आत्माको सम्मान र सम्झनामा एउटा बेलुन उडाएका थिए। सहभागीले भूकम्पमा दिवंगत आफ्ना प्रियजन तथा आफन्तलाई बेलुनमा सन्देश लेखेर अनन्त आकाशमा उडाएका थिए। कार्यक्रममा राजनीति, प्रशासन, न्याय, सुरक्षालगायतका विभिन्न क्षेत्रका विशिष्ट अधिकारी, कलाकार, खेलाडी, व्यवसायी, नागरिक समाज, पेसाकर्मी तथा सर्वसाधरणको व्यापक सहभागिता रहेको थियो।
समारोहमा विभिन्न धर्मसँग सम्वन्धित व्यक्तित्वहरुले सामूहिक रुपमा बेलुन उडाएर कार्यक्रम सुभाराम्भ गरेका थिए। हिन्दु धर्मबाट माधव भट्टराई, क्रिश्चियन धर्मबाट बिसप पल सिमिक, इस्लाम धर्मबाट इमाम कारी ओली मोहमद र बौद्ध धर्मबाट डा.गिसी तासी शेरापले बेलुन उडाएपछि हजारौं बेलुन अनन्त आकाशमा उडेका थिए।धर्म गुरुहरुले सबै धर्म र समुदायका व्यक्तित्वहरुलाई एकै ठाउँमा भेला पारेर अन्नपूर्ण मिडिया नेटवर्कले धार्मिक सहिष्णुताको पक्षमा प्रशंसनीय काम गरेको बताएका थिए।
अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले भूकम्पमा परी ज्यान गुमाएकाहरुको आत्माको सम्झना, शान्ति र सम्मानका लागि यस्तो कार्यक्रम आयोजना गरिएको बताए।

क्याप्टेन थापाले विपद्को यस घडीमा सबै धर्म, सप्रदाय, पेसा, क्षेत्र, समुदायका व्यक्तित्वहरुलाई एकै ठाउँमा भेला गराएर शान्ति, सामाजिक एकता र धार्मिक सहिष्णुताको पक्षमा सन्देश दिन कार्यक्रम सफल भएको बताए।

कार्यक्रममा विभिन्न दलका नेताहरु, सभासद्, मुख्य सचिवलगायतका उच्च पदस्थ अधिकारी, संवैधानिक निकायका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुख तथा उच्च अधिकृतहरु सहभागी भएका थिए।

नामी कलेजसँगको सहकार्यमा आयोजना गरिएको यो कार्यक्रमलाई  सिआइटी कलेज, ह्वाइट हाउस कलेज, एभरेष्ट कलेज,  गोल्डेनगेट कलेज,  कान्तिपुर सिटी कलेज,  किङ्स कलेज, किष्ट कलेज, मेगा कलेज,  हिमालयन ह्वाइट हाउस कलेज, निम्स कलेज, मेधावी कलेज,  जेभियर कलेज, प्रिमियर कलेज, निर्भाणा कलेज, लिभरपुल र इस्लिङटन कलेजलगायतले सहयोग गरेका छन्।

– Source: Annapurna Post