धनकुटाबासीको माग : भारत-चीन जोड्ने दुई नाकामा बजेट चाहियो

0 7

१२ असार, काठमाडौं । भारत र चीनलाई जोड्ने पूर्वी नेपालको सडकमा पर्याप्त बजेटको व्यवस्था गर्न धनकुटाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिज्ञ एवं नागरिक अगुवाहरुले सरकारसँग माग गरेका छन् ।

शनिबार ललितपुरमा सम्पन्न धनकुटाबासीको भेलाले बेलाहारा विमानस्थलको निर्माण प्रक्रिया अघि बढाउनसमेत धनकुटाबासीले सरकारसँग माग गरेका छन् ।

चीन-भारत जोड्ने दुई नाका

पूर्वी नेपालको कोशी र मेचीमा चीन र नेपाललाई जोड्ने दुईवटा महत्वपूर्ण नाकाहरु छन् । तीमध्ये एउटा संखुवासभाको किमाथाङका नाका हो भने अर्को ताप्लेजुङ जिल्लामा पर्ने ओलाङचुङगोला नाका हो । यी दुबै नाकाहरु भारत र चीनलाई छोटो दुरीमा जोड्न सकिने महत्वपूर्ण ट्रान्जिट पोइन्ट हुन् ।

बिराटनगरको सीमामा अवस्थित जोगवनीसँग यी दुबै नाकालाई जोड्न सके पूर्वी नेपालले निकै ठूलो आर्थिक उपलब्धि पाउन सक्ने पूर्वाञ्चलवासीको माग रहँदै आएको छ । जोगवनी नाकादेखि किमाथाङसम्मको दुरी ३ सय ७६ किलोमिटरमात्रै छ । यो बाटोको ट्रयाक खोल्ने काम अब ४१ किलोमिटरमात्रै रहेको छ । अबको तीन वर्षभित्र तिब्बतको यो नाकालाई धनकुटा र धरान हुँदै भारतको जोगवनी जोड्ने सरकारी लक्ष्य छ ।

कोशी राजमार्ग हुँदै किमाथाङका-जोगवनी नाका जोड्ने योजनामा यस वर्ष पर्याप्त बजेटको व्यवस्था गर्न धनकुटाबासीले माग गरेका छन् ।
त्यसैगरी ओलाङचुङगोला- जोगवनी जोड्ने अर्को बाटो पनि धनकुटाहुँदै आउने छ ।

धनकुटाको मूलघाटबाट तमोरको गडतिरै गडतिर पाँचथरको फिदिम र ताप्लेजुङको फुङलिङ हुँदै ओलाङचुङ गोला जोड्ने मार्गमा पनि ट्रयाक खोल्ने काम भइरहेको छ ।

फिदिमबाट इलाम हुँदै झापा झर्ने बाटो भए पनि मूलघाटको बाटो छोटो र तेस्रो हुनेभएकाले मूलघाट-ओलाङचुङगोला मार्गको परिकल्पना गरी काम सुरु गरिएको हो । मूलघाटबाट जोगवनीसम्म कोही राजमार्ग पुरानै रहेकाले त्यहाँ बाटो खनिरहनै पर्दैन ।

शनिबार राजधानीमा भएको छलफलबारे जानकारी दिँदै धनकुटाका पूर्वसभासद हेमराज भण्डारीले अनलाइनखबरसँग भने- ‘भारत र चीनलाई आपसमा जोड्ने छोटो दुरीका व्यापारिका नाका भएकाले सरकारले यसमा विशेष ध्यान देओस् भन्ने हामी धनकुटाबासीको माग छ ।’

विमानस्थल बनाउन जग्गा किन्नु नपर्ने

यसैवीच शनिबारको छलफलमा धनकुटाबासीले बेलहारा विमानस्थलका विषयमा समेत सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छन् । यो निर्णयमा धनकुटाका एमाले, नेपाली कांग्रेस र एमाओवादी तीनै दलका नेताको सहभागी रहेको छ । धनकुटा घर भएका सरकारी कर्मचारीहरु पनि भेलामा सहभागी थिए ।

Balahara

बेलहारामा विमानस्थल बनाउन आवश्यक पर्ने जग्गा दिन स्थानीयवासी तयार भएका छन् । किन्नुपर्ने जग्गा पनि नगरपालिका र जिविसबाटै व्यवस्थापन गरिने र त्यहाँको जग्गा किन्न केन्द्रीय तहबाट मुआब्जा छुट्याउनु नपर्ने भण्डारीले अनलाइनखबरलाई बताए ।

नागरिक उड्डयन प्राधिकरणले धनकुटामा विमानस्थलका लागि तीन स्थानमा सम्भाव्यता अध्ययन गरेको थियो । मारेक कटहरे, ताङखुवा र बेलहारामा गरिएको फिजिबिलिटी अध्ययनपछि बेलाहारालाई उपयुक्त ठहर्‍याइएको थियो ।

त्यसपछि प्राधिकरणले बेलहाराको दोस्रोपटक अध्ययन सर्वेक्षण गरिसकेको छ र त्यहाँ १ किलोमिटरदेखि १५ सय मिटरसम्मको एयरपोर्ट निर्माण हुन सक्ने प्रतिवेदन तयार पारिसकेको छ ।  धनुकटाको मूलघाटभन्दा माथिको डाँडामा यो विमानस्थल निर्माण भएमा किमाथाङका-जोगवनी एवं मूलघाट-ओलाङचुङगोला जोड्ने बाटोलाई यसले लाभ पुर्‍याउनेछ ।

बेलाहारामा यो विमानस्थल बनेको अवस्थामा यसबाट धनकुटा, भोजपुर, तेह्रथुम र संखुवासभाका जनता बढी लाभान्वित हुनेछन् ।