भूकम्प पीडितका लागि घर बनाउन हिमानीसँग ऋचाको प्रस्ताव

0 5

काठमाडौं । केही समयदेखि गरीबका लागि घर बनाउँदै आएकी अभिनेत्री ऋचा शर्मा अब भूकम्प पीडितका लागि घर निर्माणमा जुट्ने भएकी छिन् ।

ह्याबिट्याट फर ह्युमनिटी नेपालको सदभावना दुत समेत रहेकी ऋचाले काभ्रे र पोखराका भूकम्प पीडितका लागि घर निर्माणको काम सुरु गर्ने भएकी छिन् । ‘काभ्रेको पीपलबोटमा निर्माणकार्य सुरु भैसकेको छ । अब पोखरामा पनि सुरु गर्छौ ।’ अनलाईनखबरसँग कुरा गर्दै उनले भनिन् ।

उनको यो अभियानमा पूर्व युवराज्ञी हिमानी शाह पनि सहभागी हुने सम्भावना बढेको छ । ऋचाको भनाई अनुसार यो अभियानमा ब्याङ्कर, अभिनेत्री, समाजसेवी, वकिल लगायत विभिन्न क्षेत्रमा सक्रिय २१ महिला सहभागी हुने छन् ।

सोही क्रममा पूर्व युवराज्ञी हिमानीलाई पनि सहभागी गराउने योजना बनाएकी रहिछन् ‘अस्ति भेटेर मैले पूर्व युवराज्ञी हिमानीसँग कुरा गरें, उहाँ एकदमै उत्साहित हुनुहुन्छ ।’ ऋचाले भनिन् ।

दिनमा २ डलर भन्दा कम कमाउनेहरुका लागि घर बनाउने उनको योजना हो । केही महिना अघि चितवन र काभ्रेका गरीबका लागि घर बनाउने काममा सहभागी भएकी ऋचा भन्छिन ‘आफ्नो घर नभएकाहरुका लागि हामी घर बनाउने योजनामा छौं ।’