बेलुन उडाएर भूकम्पमा दिवंगतहरुको सम्झना (फोटो फिचर)

0 12

काठमाडौं : भूकम्पमा परी मृत्यु भएकाहरुको सम्झौनामा शनिबार बसन्तपुरमा बेलुन उडाइएको छ । अन्नपूर्ण मिडिया नेटवर्कले शनिबार ‘एक दिवंगत आत्माः एक बेलुन’ हातमा भन्ने कार्यक्रम गरेको हो ।

अन्नपूर्ण पोस्ट्को प्रकाशन संस्था तथा रेडियो अन्नपूर्ण नेपालको संचालक अन्नपूर्ण मिडिया नेटवर्कले विनाशकारी भूकम्प गएकै दिन र समय पारेर ‘एक दिवंगत आत्मा : एक बेलुन हातमा” भन्‍ने कार्यक्रम आयोजना गरेको हो।  भूकम्पबाट क्षतिग्रस्त बसन्तपुर दरबार क्षेत्रमा शनिबार ११.५६ बजे करिब नौ हजार बेलुन एक साथ उडाएर दिवंगत आत्माहरुको सम्मान गरिएको छ।

Nepal_balloon4

वैशाख १२ गते शनिबार ११ स् ५६ बजे गएको विनाशकारी भूकम्प र त्यसपछिको परकम्पमा परी साढे आठ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

कार्यक्रममा सहभागी हरेकले दिवंगत आत्माको सम्मान र सम्झनामा एउटा बेलुन उडाएका थिए। सहभागीले भूकम्पमा दिवंगत आफ्ना प्रियजन तथा आफन्तलाई बेलुनमा सन्देश लेखेर अनन्त आकाशमा उडाएका थिए।

समारोहमा विभिन्न धर्मसँग सम्वन्धित व्यक्तित्वहरुले सामूहिक रुपमा बेलुन उडाएर कार्यक्रम सुभाराम्भ गरेका थिए। हिन्दु धर्मबाट माधव भट्टराई, क्रिश्चियन धर्मबाट बिसप पल सिमिक, इस्लाम धर्मबाट इमाम कारी ओली मोहमद र बौद्ध धर्मबाट डा.गिसी तासी शेरापले बेलुन उडाएपछि हजारौं बेलुन अनन्त आकाशमा उडेका थिए।

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले भूकम्पमा परी ज्यान गुमाएकाहरुको आत्माको सम्झना, शान्ति र सम्मानका लागि यस्तो कार्यक्रम आयोजना गरिएको बताए।  कार्यक्रममा विभिन्न दलका नेताहरु, सभासद्, मुख्य सचिवलगायतका उच्च पदस्थ अधिकारी, संवैधानिक निकायका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुख तथा उच्च अधिकृतहरु सहभागी भएका थिए।