यस कारण दुर्घटना भयो अमेरिकी हेलिकोप्टर

0 11

काठमाडौं : पहाड श्रृंखलाको भौगोलीक बनोट र खराब मौसमको कारण अमेरिकी दुर्घटना भएको छानविन टोलीले निश्कर्ष निकालेको छ । हेलिकोप्टर अकस्मत् बाग्लो बादलमा फसेपछि एघार हजार अग्लो पहरामा ठोक्किएर दुर्घटना भएको निश्कर्षसहितको प्रतिवेदन नेपाली सेनाले सरकारलाई बुझाएको हो ।

सेनाको कार्यदलले छानबिन प्रतिवेदन शुक्रबार पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पालाई बुझाएको छ । कार्यदलले दुर्घटना हुनुको  कारण कालिन्चोक पहाड श्रृंखलाको भौगोलीक बनोट र खराब मौसम रहेको उल्लेख गरेको छ । प्रतिवेदनमा दुर्घटना हुनुको कारण कालिञ्चोक पहाड शृङ्खलाको भौगोलिक बनोट र खराब मौसमका कारण अकस्मात् सो हेलिकप्टर बादलमा आइएमसीमा प्रवेश हुन पुगी समुन्द्री सतहदेखि लगभग ११ हजार २०० फिट अग्लो कालिञ्चोक पहाडको पश्चिमतर्फको कडा चट्टानी भू–भागमा ठोक्किएर दुर्घटना हुन पुगेको जनाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यका लागि आएको यु एच–१ वाइ हुए हेलिकप्टर गत वैशाख २९ गते सिन्धुपाल्चोकको घोर्थली–३ मा दुर्घटना भएको थियो । दुर्घटनाको सत्यतथ्य कारण पत्ता लगाउन गत जेठ ६ गते नेपाली सेनाका प्रधानसेनापति गौरबशमशेर जबराको निर्देशनमा सहायक रथी सुधीर श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नेपाली तथा संयुक्त राज्य अमेरिकाको विज्ञ टोली सम्मिलित संयुक्त छानबिन कार्यदल गठन गरिएको थियो । कार्यदलले २०७२ जेष्ठ ७ गतेबाट नै दुर्घटना सम्बन्धमा आफ्नो छानबिन प्रारम्भ गरेको थियो ।

वैशाख २९ गते भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो। दुर्घटना भएको हेलिकोप्टरमा दुईजना नेपाली सेनाका र ६ जना अमेरिकी सेनाका गरी आठजना रहेको भनिएकोमा डिएनए परीक्षणको क्रममा थप पाँचजनाले ज्यान गुमाएको पनि रहेको पुष्टि भएको थियो। पछि पुष्टि भएका पाँचैजना गैरसैनिक व्यक्ति थिए।

बैशाख २९ गते गएको विनाशकारी भूकम्पपछि उद्धार तथा राहत कार्यमा काठमाडौंबाट दोलखा उडेको हेलिकोप्टर कालिन्चोक डाँडाको उत्तरपूर्वी दिशातर्फ करिव ११,२०० फिटको उचाईमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।

दुर्घटनाग्रस्त ईलाकाबाट फेला परेको मानव अस्थिपन्जरको भागहरुलगायत घटनास्थलबाट प्राप्त बिभिन्न प्रमाणहरुको नेपाली सेना तथा संयुक्त राज्य अमेरिकाको बिशेषज्ञ टोलीद्वारा संयुक्त रुपमा अनुसन्धान गरिएको थियो।