दार्जीलिङे प्रेमीको हनुमानढोकामा बास

0 14

११ असार, काठमाडौं । नेपालका युवायुवती डेटिङ वा हनिमुनका लागि मनोरम शहर दार्जीलिङलाई रोज्ने गर्छन् । तर, त्यही दार्जीलिङका एकजना युवकचाँहि प्रेमको जोसमा होस गुमाउँदा काठमाडौंको प्रहरी हिरासत रुङ्न बाध्य भएका छन् ।
.प्रेममा दरार आएपछि आफ्नी पूर्वप्रेमिकाको अश्लील भिडियो सार्वजनिक गरेपछि ती युवकले हनुमानढोकामा बास बस्नुपरेको हो ।

भारतको दार्जीलिङ घर भई काठमाडौंमा काम गर्ने बरुण थापालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । प्रहरीका अनुसार एक निजी कम्पनीमा काम गर्ने बरुण आफ्नै सहकर्मी महिलासँग प्रेममा थिए ।

झण्डै एक वर्षअघि सुरु भएको प्रेम झाँगिएपछि उनीहरुबीच शारीरिक सम्वन्ध रहृयो ।

बरुणले प्रेमिकालाई थाहा नदिई शारीरिक सम्बन्धको भिडियोसमेत खिचे । सम्वन्ध सुमधुर रहेसम्म त उनले त्यसलाई गोप्य नै राखेका थिए ।

तर, पछिल्लो समय उनीहरूले अफिस छाडे र  प्रेमममा पनि दरार आयो । बरूणले अश्लिल भिडियो भएको भन्दै ब्लकमेलिङ थाले । तर, उनले भनेको पूर्व प्रेमिकाले नमानेपछि हाल गोंगबुमा बस्दै आएका २९ वर्षका बरुणले आफ्नी प्रेमिकाको अश्लील भिडियो सार्वजनिक गरे ।

प्रेममा रहँदा खिचेको भिडियोलाई उनले विभिन्न अश्लील वेबसाइटहरुमा राखे र मानसिक यातना दिए । युवतीले हालै मात्र अश्लिल भिडियोबारे थाहा पाइन् र प्रहरीमा उजुरी दिइन् । ‘भूकम्प आउनुभन्दा अगाडिको घटना रहेछ’ महानगरीय प्रहरी अपराध महाशाखाका इन्स्पेक्टर पशुपति रायले अनलाइनखबरसँग भने-‘हामीकहाँ उजुरी आएपछि हामीले पक्राउ गरेका हौं ।’

बरुणलाई टोखा न.पा १२ गोगंबुबाट पक्राउ गरिएको हो । उनलाई विद्युतीय कारोवार ऐनअन्तर्गत कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

पछिल्लो समय समाजमा विभिन्न किसिमका विकृतिहरु बढ्न थालेको प्रहरी स्रोतको भनाइ छ । प्रेम पनि चाँडै गरिहाल्ने र बिछोड हुनासाथ पूर्व प्रेमी-प्रेमीकालाई बदख्वाइँ गर्ने असभ्य व्यवहार किहोर किशोरीमा बढेको छ ।

कतिपय प्रेमीले गर्भधारण गरेर आफूलाई जिम्मा नलिएको गुनासो गर्दै किशोरीहरु प्रहरीसमक्ष पुग्ने गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।