जहाज दुर्घटनामा परेका आमाछोरा चार दिनपछि जीवितै

0 11
आमा घाइते, नाबालक छोरालार्इ चोट लागेन
एजेन्सी : जहाज दुर्घटनामा परेका आमा र नाबालक छोरा चार दिनपछि जीवितै भेटिएका छन् । दुर्घटनामा परेको दुर्इ इन्जिनवाला सानो जहाजको भग्नावशेषबाट करिब ५ सय मिटर पर उद्धारकर्मीले आमाछोरालार्इ बिहीबार जीवितै उद्धार गर्न सफल भएका हुन् ।

१८ वर्षीया मारिया नेल्ली मुरिल्लो र उनका छोरा युडिएर मोरेनोलार्इ सोमबार जहाज दुर्घटनामा परेको कोलम्बियाको जंगलमा जीवितै भेटिनुलार्इ उद्धारकर्मीले आश्चर्यका रुपमा लिएका छन् ।

उनीहरु सवार सेसस्ना ३०३ जहाज कोलम्बियाको उत्तर-पश्चिमीक्षेत्रको घना जंगलको रुखमा ठोकिएर दुर्घटनामा परेको थियो । दुर्घटनामा जहाजका पाइलटले ज्यान गुमाएपनि आमाछोरा भने दुनियाँलार्इ नै चकित पार्ने गरी जीवितै भेटिएका हुन् ।

 
‘जहाज दुर्घटना भएको क्षेत्रमा अत्यन्तै घना जंगल छ’, कोलम्बियन एयर फोर्सका कर्णले हेक्टोर क्रास्कलले एएफपीलार्इ भने, ‘घना जंगलमा दुर्घटना भएको जहाजमा आमाछोरालार्इ जीवितै भेट्दा हामी चकित छौं ।’

उद्धारकर्मीले उद्धार गरी हेलिकोप्टरमा लाने क्रममा मुरिल्लो घाइते अवस्थामा रहेको तस्बिर बिहीबार सार्वजनिक भएको छ । उनको अनुहार र पाखुरा तथा शरीरका अन्य भागमा चोट लागेको देखिएको छ ।

उद्धार गरिएका आमा छोरालार्इ अहिले उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकहरुका अनुसार मुरिल्लोको शरीरको केही भाग आगोले जलेको छ । तर, उनका छोरालार्इ भने केही चोटपटक लागेको छैन । ‘आमा भने घाइते अवस्था छिन्’, क्रास्कलले भने, ‘उनलार्इ मानसिकरुपमा विक्षिप्त उनलार्इ राम्रो उपचारको जरुरी छ ।’

 
दुर्घटनामा परेको जहाजका पाइलट कार्लोस मारियो केबालोसको शव दुर्घटनाको तीन दिनपछि दुर्घटनाग्रस्त क्षेत्र सेर्रानिया डेल बाउडो पहाड नजिकै फेला परेको छ ।

दुर्घटनामा परेको जहाज कोलम्बियाको पश्चिममा अवस्थित चोको प्रान्तको राजधानी क्युबिडोबाट प्रशान्त महासागरको तटीय सहर न्युकुइका लागि उडेको थियो ।

जहाज दुर्घटनाको कारण हालसम्म खुल्न नसकेको पनि माछा र नरिवल लोड गरिएको जहाज धेरै भारका कारण दुर्घटनामा परेको प्राराम्भीक अनुमान गरिएको छ ।

 
जहाज दुर्घटना भएर जंगलक्षेत्रमा खसेपछि यी १८ वर्षीया आमा जहाजको ढोका खोलेर तत्कालै छोरोसहित बाहिर निस्कन सफल भएकी थिइन् । उनले वर्षातको पानी र नरिवल खाएर आफ्नो छोराको ज्यान बचाएको उद्धारकर्मीलार्इ बताएकी छिन् ।

जहाज दुर्घटनामा परेपछि उद्धारका लागि घना जंगलक्षेत्रमा एक १४ सदस्यीय उद्धार टोली खटिएको थियो । तीन दिनको अथक प्रयासपछि उद्धार टोलीले आमाछोरालार्इ जीवितै उद्धार गर्न सफल भएको हो ।