भारी वर्षासँगै सुदूरपश्चिममा बाढी

0 10
दार्चुलामा तीन घर बगायो, कैलालीमा २५ घर विस्थापत
धनगढी : सुदूरपश्चिममा ४८ घण्टादेखिको अविरल वर्षापछि आएको बाढीले क्षति सुरु गरेको छ । २०७० मा बगाएको दार्चुला सदरमुकामा यो पटक पनि महाकालीले तीन घर बगाएको छ ।

अपी नगरपालिका–११ बङगावगडका गणेश सिंह बोहरा, हर्क महरा र गजैसिंह महराको घर बगाएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

सोही ठाउँका कैलास निमावी र व्यास गाविस भवन लगायतका एक जर्दनबढी घर जोखिममा परेका छन् । अघिल्लो बाढीले क्षति पुर्‍याएको घरमा मानिस नबस्ने भएकाले मानवीय क्षती भने भएको छैन ।

दुई वर्षअघिको बाढीले तहसनहस दार्चुला सदरमुकाम वङगावगड, खलङगा र गल्फै क्षेत्रमा नदी नियन्त्रणका लागि बनाइएको तटबन्धमासमेत क्षति पुगेको सिमा सुरक्षा कार्यालय दार्चुलाका डिएसपी वीरसिंह शाहले बताए ।

गल्फैक्षेत्रमा निर्माणकार्यमा संलग्न कुमार राजेन्द्र जेभी र लुम्वीनी राजेन्द्र जेभीका तयारी अवस्थाका निर्माण सामाग्री, ६० बोरा सिमेन्ट, मिक्चर मेसिन एउटा, भाईब्रेटर एउटा र अन्य समान बगाएको राजेन्द्र निर्माण कम्पनीका सञ्चालक भिमबहादुर साउदले बताए ।

नदीमा पानीको बहाव खतराको नजिक पुगेको बताउँदै प्रमुख जिल्ला अधिकारी प्रेमसिह कुवँरले सबै सुरक्षानिकायलाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिइएको बताए ।

महाकालीमा पानीको बहाव १ लाख ६० हजार क्युसेक पुगेको छ । एकलाख भन्दा माथि पानीको सतह जानेवित्तिकै खतरा मानिन्छ ।

कैलालीमा डुबान शुरु
यता कैलालीमा पनि डुबान शुरु भएको छ । फूलबारी गाविसको ललितपुर बस्तीमा पानी पसेपछि २५ परिवारलाई सुरक्षित स्थानमा सारीएको जिल्ला दैविप्रकोप उद्धार समितिले जनाएको छ ।

खुटिया र गौरीगंगा नदीको पानी बस्तीमा पसेपछि डुबानमा परेका २५ भरका सदस्यलाई नजिकैको अग्लो स्थानमा सारीएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत तथा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कैलालीका संयोजक चिरीन्जीवी घिमिरेले बताए ।

लगातारको वर्षाले जिल्लाको पवेरा, नारायणपुर र धनसीहपुर लगायतका गाविसका केही बस्ती डुबानमा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कर्णालीमा पनि पानीको बहाव उच्च
यस्तै कर्णाली नदीमा पनि पानीको बहाव बढ्दै गएको छ । विहीबार रातिसम्म साढे ५ मिटर रहेको बहाव बढेर साढे ६ मिटर भन्दामाथि पुगेको जिल्ला प्रशासन कार्यालयमा रहेको पुर्व सूचनाकेन्द्रले जनाएको छ ।

पहाडी जिल्लाहरुमा निरन्तर वर्षा भइरहेकाले महाकाली र कर्णालीको पानीको स्तर अझै बढ्ने अनुमान लगाइएको छ ।

मौसम पुर्वानुमान महाशाखाले बुधबारै देखि ठूलो वर्षाको चेतावनी दिएपछि सुदूरपश्चिमका जिल्ला दैविप्रकोप उद्धार समितिहरुले खोज र उद्धार टोलीलाई अलर्ट राखेका छन् । अहिलेसम्म मानवीय क्षती भने भएको छैन ।

– Source: Annapurna Post