दयाहाङ राईको हनिमुन: भित्र्याउन जाँदाजाँदै मनाइयो

0 3
नयाँ जीवनको सुरुआत। दुईजनाले सँगै समय बिताउँदाको क्षण अर्थात् हनिमुन। कसको अविस्मरणीय नहोला र? त्यसमाथि हाम्रो संस्कारले पनि कतिपय अवस्थालाई हनिमुनजस्तै बनाइदिन्छ।
मेरो सन्दर्भमा भने विवाहपछि योजना बनाएर हनिमुन जाने सोच थिएन। हाम्रो प्रेम विवाह भएको र लामो समयदेखि चिनजान भएकाले हनिमुन अपरिहार्य पनि भएन।
विवाह अघिसम्म हनिमुन मनाउने सोचाइ नभए पनि हनिमुनका बारेमा कतै पढेको रहेछु। यो चलन १५औं शताब्दीमा युरोपबाट सुरु भएको रहेछ। दुई फरक पारिवारिक पृष्ठभूमिमा हुर्किएका मानिसलाई नजिक्याउने समय पनि हो यो।
प्रेमसँगै परिवारको पनि त इज्जत राख्नुपर्छ। हाम्रो विवाह पहिले प्रेम त्यसपछि मागी भएको हो। म उनको (बेनुका राई) घरमा उनलाई माग्न गएँ।
काठमाडौंमा विवाह भएपछि उनलाई मेरो पैतृक थलो भोजपुर लिएर गएँ। श्रीमतीको जन्मस्थल खोटाङ भएपनि धेरै समय यहाँ बसेको हुनाले पहाड नौलो थियो।
विवाहको एक सातामै हामी भोजपुर गयौं। पत्नीलाई मैले मेरो पैतृक थलोमा लागेर भित्र्याएँ। विवाह लगत्तैको त्यो रोचक र रमाइलो यात्रा हाम्रो लागि हनिमुन साबित भयो।
एकअर्कालाई चिन्नु र रमाइलो समय बिताउनु आवश्यक हुन्छ नै। कुनै न कुनै रूपले सबै नवविवाहित दम्पतीले त्यो पल बिताएकै हुन्छन्।
हाम्रो विवाहको सन्दर्भमा भोजपुर यात्राको समय अविस्मरणीय भएकाले हाम्रो लागि हनिमुन त्यही भयो। मानसिक र शारीरिक रूपमा नजिक हुने समय थियो त्यो।
मानसिक रूपमा नजिकिएका हामीलाई शारीरिक सम्बन्धले अझ नजिक बनायो। त्यही समयमा पतिपत्नीले एकअर्कोलाई चिन्नेमात्र होइन; परिवार, नातागोता र आफन्त सबैलाई चिन्ने समय थियो।
हाम्रो जातीय संस्कारअनुसारको विवाह पद्धतिमा केटा र केटी दुवै पक्षका आफन्त एकअर्काको घरमा गएर चिनाउने विधि हुन्छ।
हनिमुनले पतिपत्नीबीचको आत्मीयता बढाउँछ भने यो विधिले परिवारका सदस्य, नातागोतासँग चिनजान र उनीहरूप्रति जिम्मेवारी पनि बुझाउँछ।
यो विधि नयाँ बुहारीका लागि मात्र होइन, नयाँ ज्वाइँका लागि पनि आयोजना गरिन्छ। त्यसले दुई परिवारमा दुवै सदस्यको उत्तिकै महत्त्व छ भन्ने पुष्टि गर्छ।
अहिले पनि हनिमुनजस्तै समय बिताउने वा श्रीमान्श्रीमती कतै एकान्तमा घुम्न जाने रहर नभएको होइन तर व्यवहार र बाध्यताले थिचिएपछि रहरमै सीमित हुँदो रहेछ।
विवाहको एक सातामै हामी भोजपुर गयौं। पत्नीलाई मैले पैतृक थलोमा भित्र्याएँ। विवाहलगत्तैको त्यो रोचक र रमाइलो यात्रा हाम्रो लागि हनिमुन साबित भयो। आवश्यकता, व्यस्तता र जीवन जिउने शैलीअनुसार यसलाई प्रयोग गर्नु राम्रो हुन्छ।
कतिसम्म भने हामी दुईजना सँगै पोखरासम्म पनि गएका छैनौं। म आफ्नै काममा व्यस्त छु भने उनी पनि आफ्नो करिअरमा अघि बढिरहेकी छन्। त्यसैले चाहेर पनि सँगै कतै गएर समय मिलाउन गाह्रो भएको छ।
अवसर मिलाएर भारतका केही ठाउँमा भने हामी घुमेका छौं। उडिसा, कलकत्ता र गुजरातका केही रमाइला ठाउँमा घुम्न गएका छौं।
उडिसा फेस्टिभलका लागि पुगेका थियौं भने गुजरात र कलकत्ताचाहिँ घुमघामकै लागि गएका हौं। हनिमुनको उद्देश्य र महत्त्व सकारात्मक छ।
आफ्नो आवश्यकता, व्यस्तता र जीवन जिउने शैलीअनुसार यसलाई प्रयोग गर्नु राम्रो हुन्छ। मेरो हनिमुन पनि बाध्यता, व्यस्तता र व्यावहारिकतासँगै बित्यो तर रमाइलो भयो।

 

You might also like More from author