पाँच घन्टा लगातार मुशलधारे वर्षा, नेपालगञ्ज जलमग्न

0 12
काठमाडौं : बिहीबार राति परेको भारी वर्षाले नेपालगञ्ज जलमग्न भएको छ। नेपालगञ्जमा गए राति पाँच घन्टाको अवधिमा १६९ मिलिमिटर वर्षा भएको छ।
राति साढे दसबजेदखि भारी वर्षा सुरु भएको थियो। यो निरन्तर पाँच घन्टासम्म जारी रहेको थियो। छोटो सयममा यति धेरै वर्षा भएको नेपालगञ्जमा पहिलोपटक हो । मौसम तथा जलविज्ञान विभाग नेपालगञ्ज कार्यलयका प्रमुख रिता महतोअनुसार नेपालगञ्जमा पहिलोपटक यति ठूलो मुशलधारे वर्षा भएको हो । अहिले पनि बाँकेमा वर्षा भइरहेको छ।
वर्षाका कारण नेपालगञ्ज बजार क्षेत्र पुरै जलमग्न भएको छ । भारतीय सिमासँग जोडिएको हिरिमिनिया गाउँ पुरै डुबानमा परेको छ। नेपालगञ्जका घरबारी टोल, सेतुबिक चोक, न्यूरोड, बुलबुलियालगायतका क्षेत्रहरु जलमग्न भएका छन् ।
नेपालगञ्ज भारी वर्षाले जलमग्न भए पनि मानवीय तथा भौतिक क्षति केही नभएको बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले बताए । डोजरलगाएर निकास खोल्ने तथा पानी बगाउने काम भइरहेको छ।
नेपालगञ्ज जलमग्न भएपछि बर्दियामा पनि उच्चसतर्कता अनपाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी विनोद कुँवरले बताए । नेपालगञ्ज जलमग्न भए पछि राप्तीमा बाढी आउने त्रास स्थानीयमा छ । तर राप्ती नदीमा पानीको सतह खासै बढेको छैन।

-Source: Annapurna Post