सम्मेलनमा चार खर्ब बराबरको सहयोग घोषणा

0 10

काठमाडौँ : नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा दाताबाट चार खर्ब बराबरको सहयोग घोषणा भएको छ ।

बिहिबार राजधानीमा भएको सम्मेलनमा बहुपक्षीय तथा द्विपक्षीय दातृ निकायबाट अहिलेसम्म चार खर्ब बराबरको सहयोगको घोषणा भएको हो ।

नेपालको पुनःनिर्माणका लागि आवश्यक पर्ने प्राविधिक सहयोगसहित ती घोषणा दाताहरुबाट आएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले जानकारी दिए ।

दातृ निकायले घोषणा गरेको उक्त सहयोग नेपालले अपेक्षा गरेको भन्दा राम्रो रहेको उल्लेख गर्दै उनले अबका दिन पुनःनिर्माण तथा कार्यान्वयनको चुनौतीको पक्षलाई विशेष ध्यान दिनुपर्ने बताए ।

केही बेरअघि सकिएको ‘बिजनेस’ सत्रको समापनपछि मुख्य सचिव लीलामणि पौड्यालले सम्मेलन सफल भएको प्रतिक्रिया दिए । आगामी दिन सहायताको सदुपयोगमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

अर्थमन्त्री डा रामशरण महतले अध्यक्षता गरेको सत्रमा नेपाल पुनःनिर्माणको क्षेत्रमा गइसकेकाले त्यसतर्फ सबै दातृ निकायको ध्यान जानुपर्ने बताए ।

यस सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले विपद्पछिको आवश्यकता मूल्याङ्कन (पिडिएनए) प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यसैगरी अर्थसचिव सुमन शर्माले स्रोत परिचालन तथा भूकम्पपछिको अवस्था र कार्यान्वयनबारे सम्मेलनमा सहभागीहरुलाई जानकारी दिनुभएको थियो । सम्मेलनमा पुनःनिर्माणसम्बन्धी भिडियो पनि प्रस्तुत गरिएको थियो ।

यो सत्रको समापनपछि योजना आयोगका पूर्व उपाध्यक्ष डा शंकर शर्माको सहअध्यक्षतामा प्राविधिक सत्र सुरु हुँदैछ ।